सग्रवास(लमजुङ)– लमजुङको पूर्वी क्षेत्रमा रहेको दूधपोखरी गाउँपालिका– ४ को सग्रवास स्थित तामाङ वस्तीमा ठाडोभाका घन्किएको छ । ठाडोभाका लोककला प्रतिष्ठान, लमजुङको आयोजना तथा स्थानीय लालीगुराँस आमा समूहको व्यवस्थापनमा यहाँ सञ्चालन गरिएको ठाडोभाका निःशुल्क तीन दिने प्रशिक्षणमा ठाडोभाका कार्तिक २० देखि २२ गतेसम्म घन्किएको हो ।
ठाडोभाका महानायक एवम् आयोजक प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’ले सो प्रशिक्षणमा प्रमुख प्रशिक्षकको भूमिका निभाउनु भएको थियो । महिलातर्फ ठाडोभाका गायिका एवम् प्रतिष्ठानका उपाध्यक्ष सीता दुराले गायनतर्फ प्रशिक्षण दिनु भएको हो ।
संगीतको वागीनाको तीनवटै विधामा प्रशिक्षण दिइएको थियो । बाध्यवादनको मादल बजाउने कलामा प्रतिष्ठानका कार्यकारी सदस्य एवम् संगीत प्रशिक्षक देवराज गरुङले प्रशिक्षण दिएका थिए भने नाचमा ठाडोभाका महानायक धम्पुले निर्देशन गर्दै प्रयोगात्मक अभ्यास गराएका थिए ।
सो प्रतिक्षणमा ठाडोभाकाका अग्रज गायक अमरध्वज गुरुङ, मीना गुरुङ, सीता गुरुङ र कृष्णमान श्रेष्ठले सहप्रशिक्षणको कार्य गरेको आयोजकको भनाइ छ ।
कार्यक्रमका प्रमुख अतिथि खड्गबहादुर गुरुङले प्रतिष्ठान स्थापना भएपछि ठाडोभाका मर्दैन भन्ने आशा पाएको बताए । उनले यस्ता कार्यक्रमले ठाडोभाका बचाउन मद्दत गर्ने विश्वासको वातावरण जागृत भएको छ, त्यसमा पनि स्कूल पढ्ने बालबालिकालाई सहभागी गराउनु थप सराहनीय कार्य भएको पाँए भने ।
प्रशिक्षणमा सहभागी विद्यार्थीहरूले पहिलो पटक यस्तो कार्यक्रममा भाग लिएको बताउँदै यस्ता कार्यक्रमले निरन्तरता पाउनु पर्ने बताए । त्यसैगरी, वयस्क उमेरका सहभागीले समूहमा गाउँ दकश लाग्ने गर्दथ्यो अब सकिन्छ भन्ने लागेको छ भन्ने प्रतिक्रिया दिएका छन् ।
उत्कृष्ठ विद्यालयलाई एक जोडी भलिवल र एक थान नेट पुरस्कार :
प्रशिक्षणमा उत्कृष्ठ स्थान हासिल गर्ने हिमालय मावि दूधपोखरी गाउँपालिका– ५ कोल्कीलाई एक जोडी भलिवल र एक थान नेट पुरस्कार स्वरुप प्रदान गरिएको थियो । सो पुरस्कार आयोजक प्रतिष्ठानका सल्लाहकार एवम् पूर्वप्रजिअ रमेशचन्द्र अधिकारीले सौजन्य गर्नु भएको हो । सो पुरस्कारले विद्यार्थीहरूमा ठाडोभाकाप्रति लगाव सिर्जना गर्नुका साथै उत्साहका साथ उत्प्रेरित भएका थिए ।
वरिष्ठ लोकगायिका सिर्जना विरही थापा प्रतीभा पुरस्कार प्रदान :
यसैगरी, सो अवसरमा प्रशिक्षण अवधिमा तीन वटै विधाको सिकाईमा उत्कृष्ठना हासिल गर्ने विद्यार्थी सहभागीहरू पाँच जनालाई पुरस्कृत गरिएको थियो । त्यस्तो पुरस्कार पाउँमा हिमालय माविका लुजा गुरुङ पहिलो, बाघ भैरव माविका समिक्षा गुरुङ दोस्रो, सानोकाभ्रे माविका आइतमान तामाङ तेस्रो तथा बुद्ध मिलन माविका मनिता गुरुङ र बुद्ध विद्यालयका सोनिया तामाङले सान्त्वना स्थान हासिल गरेका थिए । उनीहरूलाई वरिष्ठ लोकगायिका सिर्जना विरही थापा प्रतीभा पुरस्कार प्रदान गरिएको आयोजक प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङले बताइन् । उनका अनुसार सो पुरस्कारको रकम क्रमशः दुई हजार, एक हजार पाँच सय, एक हजार र ५÷५ सय रहेको छ ।
कार्यक्रमको समापनमा प्रमुख अतिथि पूर्वजिल्ला विकास समितिका सदस्य खड्गबहादुर गुरुङ, आयोजनक प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा धम्पु, प्रशिक्षणमा व्यवस्थापन सहयोग गर्ने लालीगुराँस आमा समूहका अध्यक्ष सन्तमाया तामाङले संयुक्त रुपमा पुरस्कार र सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।
दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङले उदघाटन गरेको उक्त प्रशिक्षणको समापन कार्यक्रमको अध्यक्षता प्रशिक्षणका संयोजक एवम् आयोजक प्रतिष्ठानका सहकोषाध्यक्ष भुन्टीमाया तामाङले गरेकी थिइन् भने सञ्चालन कार्यकारी सदस्य देवराज गुरुङले गरेका थिए ।
उक्त कार्यक्रमको समापनमा ७० वर्ष उमेर नाघेका अग्रज गायक गायिकालाई सम्मान गर्ने प्रतिष्ठानको घोषित नीति अनुसार नौमाया गुरुङ दूधपोखरी गाउँपालिका– ४ तथा रणबहादुर गुरुङ दूधपोखरी गाउँपालिका– ५ लगायत पाँच जनालाई सम्मान गरिएको थियो ।
सो प्रशिक्षणमा पाँच विद्यालय २२ जना छात्रछात्रा सहित ४२ जनाले भाग लिएको आयोजकको भनाइ छ ।
अत्यन्तै न्यून बजेट हुने हुदा चाहेर पनि सहयोग गर्न नसकेको हो : अध्यक्ष गुरुङ
गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङले उद्घाटन गर्नु भएको हो । आफ्नो संक्षिप्त उद्घाटन मन्तव्यमा अध्यक्ष गुरुङले कलासंगीत मानव जीवनका लागि अपरिहार्य छ, यसले मानिसमा हासो खुशी दिई सुखी वनाउछ भने स्वास्थ्य जीवनका लागि पनि गीतसंगीत आवश्यक छ भन्नुभयो । उहाँले लमजुङको सबैभन्दा विकट र पिछडिएको यो गाउँपालिका भएझै बजेट पनि अत्यन्तै न्यून हुने हुदा चाहेर पनि सहयोग गर्न नसकेको स्थिति छ, तर पनि केही न केही सहयोग गर्ने छनैं भन्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । प्रशिक्षण कार्यक्रम राख्नु वेस छ, तर कामको सिजन हुदा सहभागितामा कमी हुन्छ कि ! भन्नेमात्र हो, त्यो पनि सन्तोषजनकनै पाए उहाँले भन्नु हुदै कार्यक्रमको सफलताको कामना गर्नुभयो ।
कला संगीतलाई कुनै पनि राजनीतिक, धर्मिक तथा जातीय संकिर्ण घेरामा बाधिदैन : धम्पु
सो अवसरमा प्रमुख प्रशिक्षक, आयोजक प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पुले मानिसको जीवनमा कलासंगीतजस्तो प्रिय वस्तु अर्को छैन, विदेशमा गाईभैंसीका फर्ममा संगीत सुन्ने गाईभैंसीले दूधसमेत धेरै दिने गरेको सुनाउनु भयो । उहाँले प्रशिक्षणको आयोजना गरेर दूधपोखरीवासी त्यसमा पनि सग्रवासवासीले सराहनीय कार्य गरेको बताउनु भयो । कला संगीत र मित्रता एउटै मालामा उनिएका फूल हुन्, यो मित्रता हामी जुगजुगसम्म कायम राख्न चाहन्छौ भन्दै उहाँले कला संगीतलाई कुनै पनि राजनीतिक, धर्मिक तथा जातीय संकिर्ण घेरामा बाधिदैन र त्यस्तो कार्य हामी कसैबाट नहोस् भन्नेमा जोड दिनुभयो ।
सो अवसरमा सोही पालिकाको वडानं– ४ का अध्यक्ष ओमबहादुर गुरुङले आफ्नो वडामा यो दास्रो कार्यक्रम भएको र यस्तो कार्यक्रम सञ्चालन भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले दूधपोखरी ठाडोभाकाको खानी भएको बताउँदै विभिन्न कलाकारको नाम स्मरण गर्नु भएको थियोे । सिक्ने सिकाउने कार्य झनै महत्त्वपूर्ण छ सफलता मिलोस भन्ने शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रमको अध्यक्षतासमेत गर्नु भएका प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले दूधपोखरी गाउँपालिकाले प्रशिक्षण कार्यक्रम गर्ने मौका प्रदान गरेको भन्दै खासगरी वडानं ४ वासी, त्यसमा पनि लालीगुराँस आमा समूह, कार्यक्रमका संयोजक प्रतिष्ठानका सहकोषाध्यक्ष भुन्टीमाया तामाङप्रति आभारी छौं भन्नुभयो । कार्यक्रमको उद्देश्यमा प्रकाश पार्दै नयाँ पुस्तामा ठाडोभाका हस्तान्तरण गर्न यस्ता प्रशिक्षणको सञ्चालन गर्ने गरेको जानकारी दिनुभयो । उहाँले नयाँ पुस्तामा ठाडोभाका हस्तान्तरण गर्न ४५ वर्ष कम उमेरका ठाडोभाका गायक गायिकालाई २२ हजार २२२ रुपैयाँको नगद पुरस्कार ठाडोभाका गायक अहे सन्तबहादुर गुरुङको स्मृतिमा विगत २ वर्षदेखि सम्मान गर्दै आएको बताउनुभयो । त्यस्तै, यो वर्षदेखि प्रतियोगिताको टिममा कम्तिमा एकजना ३५ वर्ष कम उमेरका गायक गायिकालाई अनिवार्य रुपमा राख्नै पर्ने नीति तय गरेको छ यसबाट २, ४ वर्ष भाका छोप्ने काम गर्दागर्दै उनीहरू आफै गाउन सक्ने छन् भन्ने बताउनु भयो, सर्त पुरा नगर्ने टिमको नंवर घट्ने छ भन्ने उल्लेख गर्नुभयो ।
यो प्रतिष्ठान गैरनाफामूलक संस्था भएको हुदा कार्यक्रम गर्नका लागि लालीगुराँस आमा समूह जस्ता मनकारी संस्थाले सहयोग गरेका ठाउँमा आफूहरू जहाँ पनि पुग्ने गरेको र पुग्ने छौ भन्नुभयो ।
प्रशिक्षणका सहभागीहरुमध्ये उत्कृष्ट विद्यालयलाई जोर भलिबल र एकथान नेट पुरस्कार स्वरुप प्रदान गर्ने बताउनु भयो । सो पुरस्कार प्रतिष्ठानका सल्लाहकार पूर्वप्रजिअ रमेशचन्द्र अधिकारीले प्रायोजन गर्नु भएको जानकारी दिदै सल्लाहकार जवानी वेलामा भलिबल खेलको राम्रो सटर भएको जानकारी दिनुभयो ।
त्यस्तै अन्य सहभागीलाई वरिष्ठ लोक तथा दोहोरी गायिका सिर्जना विरही थापा प्रतिभा पुरस्कार पाँच जनालाई प्रदान गर्ने छौ भन्नु भयो । सिर्जना विरही स्याङ्जाकी चेली भएर लमजुङको ठाडोभाकालाई माया गरेर डेढलाखको अक्षयकोष स्थापना गरेर प्रतिष्ठान परिवारलाई जीवनभर तिर्न नसक्ने गुण लगाउनु भएको छ उहाँले भन्नुभयो ।
वरिष्ठ पत्रकार समेत रहनुभएका पहाडीले तपाईंहरू कोही अन्यायमा पर्नु भएको छ वा कसैले दुःख दिएको छ भने त्यसलाई समाचारको रुप दिएर सहयोग गरिआएको र सहयोग गर्न तयार छु भन्नुभयो ।
प्रतिष्ठानका उपाध्यक्ष सीतादेवी दुराले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन कार्यकारी सदस्य देवराज गुरुङले गर्नुभएको थियोे ।
सो अवसरमा प्रशिक्षण कार्यक्रमलाई आर्थिक सहयोग गर्ने विभिन्न संस्थाहरू तथा व्यक्तित्वलाई कदरपत्र र मालाद्वारा सम्मान गरिएको थियोे । सम्मानितहरूलाई प्रतिष्ठानका संरक्षक धम्पु, लालीगुराँस आमा समूहका अध्यक्ष सन्तमाया तामाङ, प्रशिक्षणका संयोजक भुन्टीमाया तामाङ तथा प्रतिष्ठानका अध्यक्ष पहाडीले माला, टीका र कदरपत्रद्वारा सम्मान गर्नु भएको होे ।
ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पु, अध्यक्ष नवराज पहाडी सम्मानित ?
प्रशिक्षणको समापनका अवसरमा ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पु, अध्यक्ष नवराज पहाडीलगायतको टोलीलाई व्यवस्थापन सहयोग गर्ने आमा समूहले समापन कार्यक्रममा सम्मान गरेको थियो । तामाङ संस्कार अनुसार सेटो टीका, माला र सेतो फेताबाट उहाँहरूलाई सम्मान गरिएको हो । लालीगुराँस आमा समूहका अध्यक्ष सन्तमाया तामाङ, प्रशिक्षणका संयोजक भुन्टीमाया तामाङको टोलीले उहाँहरूलाई सम्मान गरेको थियो । अग्रज गायक अमरध्वज गुरुङसहितको ९ सदस्यीय टोलीलाई सम्मान गरेको हो ।
यसैगरी, ठाडोभाका प्रशिक्षणको दोस्रो दिन आयोजक ठाडोभाका लोककला प्रतिष्ठानको टिमलाई भव्य रुपमा स्वागत सम्मान गरेको छ । प्रशिक्षणको कार्यक्रम स्थलमा त्यस्तो सम्मान गरिएको हो । महिला समूहका अध्यक्ष वनमाया गुरुङको नेतृत्वमा कार्यक्रम स्थलमा आएको सो टोलीले प्रतिष्ठानका ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पु, अध्यक्ष नवराज पहाडी, अग्रज गायक अमरध्वज गुरुङसहितको ९ सदस्यीय टोलीलाई स्वागत सम्मान गरेको हो । सो अवसरमा आमा समूहको टोलीले प्रतिष्ठानको टोलीलाई आफ्नो गाउँमा निमन्त्रणा समेत गरेको छ । सो निमन्त्रणालाई सहर्ष स्विकार गरेको प्रतिष्ठानका उपाध्यक्ष सीतादेवी दुराले बताउनु भयो ।
प्रकाशित मिति २०८२ कार्तिक २८, शुक्रबार १३:३२ गते