बेसीशहर– निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) लमजुङद्वारा प्याब्सन स्पोर्टस् मिट २०८२ को सञ्चालन थालिएको छ । स्पोर्टस् मिटको बेसीशहरको मनाङ्गे चौतारामा कार्तिक २८ गते सुरु भएको हो ।
प्याब्सन लमजुङका अध्यक्ष ईश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटनका अवसरमा मस्र्याङदी गाउँपालिका अध्यक्ष एवम् प्याव्सन लमजुङका सल्लाहाकार अर्जुन गुरुङले खेलकुदको महत्वबारे प्रकाश पादै अध्ययनसँगै शारीरिक र मानसिक विकासका लागि पनि यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्ने बताउनुभएको थियो ।
आयोजक संस्थाका अध्यक्ष ईश्वर पौडेलले प्रत्येक वर्ष विभिन्न विद्याका खेल सहित स्पोर्टस मिट आयोजना गर्दै आएको बताउनुभयो । लमजुङमा रहेका ३० वटा निजी विद्यालयहरू रहेका छन् । यसवर्ष आयोजित प्याब्सन स्पोर्टस् मिटमा तीमध्ये १९ विद्यालयका ५ सय वढी विद्यार्थीले भाग लिएको आयोजकको भनाइ छ ।
पहिलो दिन छात्रछात्रा दुवै तर्फ १५ सय मिटर दौड, एक सय, २ सय, ४ सय मिटर दौड, रिले दौड, लङजम्प र त्रिपलजम्प प्रतियोगिता सम्पन्न भएको बताइएको छ ।
प्रतियोगिता सहजी र भूपू सैनिक माविको खेल मैदानमा सञ्चालन गरिएको छ । सो अन्तरगत आज कार्तिक २९ गतेका दिन फुटबल, भलिवल, बास्केटबल लगायतका खेल खेलाउने तयारी रहेको आयोजकको भनाइ छ ।
प्रतियोगिताको उदघाटन सत्रमा आयोजक संस्थाका उपाध्यक्ष विमल अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्याव्सन लमजुङका सचिव विनोद गुरुङले गर्नुभएको थियो । कार्यक्रममा प्याब्सन लमजुङका सल्लाहकारहरू, पदाधिकारी, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीहरूको सहभागिता थियो ।
प्रकाशित मिति २०८२ कार्तिक २९, शनिबार ०८:५४ गते