मोतिपुर–सेमलार खानेपानीको चुनावमा रास्वपालाई दुई तिहाई बहुमत : कांग्रेस–एमाले गठबन्धन सफाचट

मोतिपुर–सेमलार खानेपानीको चुनावमा रास्वपालाई दुई तिहाई बहुमत : कांग्रेस–एमाले गठबन्धन सफाचट

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ कार्तिक ३० गते आईतबार ०८:५९

बुटवल उपमहानगरपालिकाको वडा नं १४, १५ र १९ का १७ सय उपभोक्ता रहेको निर्वाचनमा १० धारा बराबर एकजना परिषद् सदस्यका दरले १७१ मतदाता रहेको निर्वाचन समितिका संयोजक अधिवक्ता जोखबहादुर खत्रीले बताउनु भयो ।

काँग्रेस– एमाले गठबन्धनका पराजित अध्यक्ष नरबहादुर मल्ल नेपाली कांग्रेसका बुटवल उपमहानगरपालिका– १४ का कांग्रेस वडा सभापति समेत हुनुहुन्छ ।

बुटवल– बुटवलको मोतिपुर– सेमलार खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्यानलले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त गठबन्धनलाई पराजित गरेको छ । चुनावी परिणाम अनुसार रास्वपाको प्यानलले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त गठबन्धनलाई सफाचट जस्तै गरी दिएको हो । १४ सदस्यीय कार्यसमितिमा अध्यक्ष, सचिव सहित ११ पटमा रास्वपाले जितेको कार्तिक २८ गते राती घोषणा गरिएको हो ।
रास्वपाले  उपाध्यक्ष, सहसचिव र एक सदस्यबाहेक सबै पद जितेको हो ।
बुटवल उपमहानगरपालिकाको वडा नं १४, १५ र १९ का १७ सय उपभोक्ता रहेको निर्वाचनमा १० धारा बराबर एकजना परिषद् सदस्यका दरले १७१ मतदाता रहेको निर्वाचन समितिका संयोजक अधिवक्ता जोखबहादुर खत्रीले बताउनु भयो । उहाँका अनुसार अध्यक्षमा रास्वपाका कृष्ण थापाले ८८ मत पाएर निर्वाचित हुनु भयो भने गठबन्धनबाट नेपाली कांग्रेसका नरबहादुर मल्ल ७५ मत पाएर पराजय भोग्नु भएको छ । मल्ल बुटवल उपहानगरपालिका– १४ का कांग्रेस वडा सभापति समेत हुनुहुन्छ ।
वरिष्ठ उपाध्यक्षमा गंगाबहादुर पौडेल, उपाध्यक्षमा शंकर पौडेल, सचिवमा मधुप्रसाद घिमिरे, कोषाध्यक्षमा छत्रबहादुर खत्री र सहसचिवमा पृथबहादुर थापा निर्वाचित हुनु भएको छ । यसैगरी, महिला सदस्यहरूमा राधा कार्की खांण र सीता बस्नेत, अन्य सदस्यहरूमा राजकुमार गौतम र हरिप्रसाद खनाल विजयी हुनु भएको छ । लिलाधर दंगोरिया थारु गोलाप्रथाबाट निर्वाचित हुन सफल हुनु भएको निर्वाचन समितिका संयोजक खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आन्तरिक लेखा समिति संयोजकमा विष्णुप्रसाद पाण्डे तथा सदस्यमा लक्ष्मण सेन निर्वाचित हुनु भएको छ । महिला सदस्यमा सरस्वती बुढा गोलाप्रथाबाट निर्वाचित भएको निर्वाचन समिति संयोजक खत्रीको भनाइ छ ।
रास्वपाबाट निर्वाचित सचिव मधुप्रसाद घिमिरेले आफूहरूले उपभोक्ताको संस्थामा दुई ठूला दलले सिन्डिकेट नगरी सबै दलको सहमतिमा नेतृत्व चयनको प्रस्ताव राख्दा आफूहरूलाई १० मत पनि नभएको दल भनेर होच्याउने काम गरेपछि आफूहरूले चुनावी प्रतिस्पर्धामा उत्रिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘रास्वपाको प्यानललाई दलगत समर्थन कसैको नरहेको तर परिवर्तनशील मतदाताको समर्थन रहेका कारण आफूहरूको जीत भएको हो ।’
स्मरणीय छ, यसअघि ५ हजार मतदाता रहेको बुटवलकै नयाँगाउँ खानेपानी संस्थामा पनि रास्वपाले कांग्रेस एमाले गठबन्धनलाई चुनौती दिएको थियो । जहाँ रास्वपाको प्यानल ५७ मतको झिनो अन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति २०८२ कार्तिक ३०, आईतवार ०८:५९ गते
हजुरको प्रतिक्रिया