
सत्रसय(तनहुँ)– मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन भोलि मंसिर १८ गते धन्य पूर्णिमा । सनातन समाजमा यो पर्व धान्य पूर्णिमाका रूपमा परिचित छ । यस दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ । यहाँको कुडारे बगैंचामा कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानमा आवद्ध यस क्षेत्रका बन्धुहरूले संयुक्त रुपमा दिवाली अर्थात कुल पूजा गर्ने प्रचलन अनुसार त्यसको तयारी पुरा गरिएको आयोजक समितिले मंसिर १७ गते बताएको हो ।
परम्परा अनुसार यो पूजा हरेक दुई वर्ष बिराएर तेस्रो वर्ष गर्ने प्रचलन रहेको प्रतिष्ठानका तनहुँ शाखा सभापति तथा सो मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज अधिकारीले बताउनु भयो । उहाँका अनुसार यो वर्षदेखि उक्त नयाँ मन्दिरमा पूजा गर्ने तयारी छ । उहाँले भन्नुभयो, ‘अधिकारी वंश परम्परा अनुसार माता विन्दबासिनी, रम्पाल तथा क्षेत्रपालको समेत संयुक्त रुपमा मन्दिर भित्र पूजाआजा गरिने भएको छ ।’ उहाँका अनुसार मन्दिर् बाहिर होम आहुति आदिको कार्य हुनेछ । उक्त कार्यमा यो क्षेत्रका ७७ घर परिवार उक्त पूजा कार्यमा सहभागी हुनुहुँदैछ । उहाँले भन्नुभयो, ‘हामीले कोरी पूजा गर्छौं, प्रसादको रुपमा खिर, पुवा बनाउने प्रचलन छ ।’ पूजाको पूर्वतयारीका सन्दर्भमा आज मंदिरको रङ्गरोकन गर्ने मन्दिर परिसरमा सरसफाईका काम सकिएको उहाँको भनाइ छ ।
उक्त कार्यक्रममा कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका केन्द्रीय प्रतिनिधिका रुपमा सचिवालय सदस्य नवराज पहाडी तथा लमजुङ शाखाका सहसचिव प्रकाश अधिकारी सहभागी हुन आउने हुनु भएको आयोजकले बताएका छन् ।
पाँच रोपनीमा फैलिएको उक्त बगैंचा अधिकारीका पूर्वजहरूले बनाउनुु भएको हो । पूर्खाहरूको विरासतमा प्राप्त त्यही थलोमा अहिले कुलदेवीको मन्दिर बनाएर पुजाआजा सञ्चालन गर्ने भएको उक्त मन्दिर व्यवस्थापन समितिका सचिव ऋणराम अधिकारीले जानकारी दिनु भएको छ ।
नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले देवता र पितृलाई अर्पण गरी आफू खाने परम्परा सबै जाति र संस्कृतिमा छ । विशेषगरी पहाडी भेगमा ब्राह्मणक्षत्री समाजमा कुलदेवताको पूजा गर्ने परम्परा छ । स्थानीय भाषामा कुलदेवताको पूजालाई देवाली पनि भनिन्छ । यो दिन कुलदेवतालाई नयाँ अन्न चढाएर, होम गरेर, नयाँ धानबाट बनेको चामलको खीर भोग लगाइन्छ । नयाँ चामलबाट बनेको खीर, चामलको पीठोको पुवा, सेल रोटी, चामलको पिठोबाटै बनाएर कुलदेवतालाई चढाउने परम्परा पनि कतिपय समुदायमा आज पनि छ ।
कतिपय समुदायमा मङ्सिरमा धान भिर्त्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मी लगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी, मालपुवा बनाएर चढाउने परम्परा छ । कतिपय स्थानमा कुलदेवताका पूजामा पशुबली पनि दिइन्छ । आजै उधौली र योमरी पूर्णिमा पनि मनाइँदै छ । यसअघि नवअन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नहुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यसैगरी, नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्हिः पनि भनिन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ । योमरी बनाउन भोलि बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन छ । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ । यो पर्वलाई नेवार समुदायले पनि नवअन्नप्राशनका रूपमा समेत मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँगले जानकारी दिनु भयो ।
भोलिकै दिन याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बुहरूले चासोक तङ्नाम पर्व मनाएका थिए । भोलिनै उधौली सकेला किरात पर्व मनाइन्छ । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउनु हुन्छ ।
भोलिकै दिन गुरुङले सिमेभूमेको पूजा गर्ने न्वागी खान्छन् । पूर्वका थारूहरूले नेमान गर्ने, आगनको ध्वजा फेर्ने र छोराको ‘वर्तमन’ गर्छन् । धानको च्युरा बनाएर सख्खर मिसाएर लड्डु बनाई देउतालाई चढाई नेमानमा पूजा गर्छन् ।
प्रकाशित मिति २०८२ मंसिर १७, बुधबार १७:३५ गते