सत्रसय(तनहुँ)– यहाँ स्थित कश्यप गोत्रीय अधिकारी वंशका वन्धुहरूको सामुहिक कुलपुजा भव्य रुपमा सम्पन्न भएको छ । सो अवसरमा कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठननले एक घर एक आजीवन सदस्य अभियान थालेको स्मरण गराउँदै त्यसमा सरिक हुन आह्वान गर्दछु प्रतिष्ठानका सचिवालय सदस्य नवराज पहाडीले बताउनु भएको छ । उहाँले प्रतिष्ठानको यहाँ स्थित प्रतिष्ठानको शाखाद्वारा आयोजना गरेको कुल पूजाका अवसरमा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै मंसिर १८ गते बताउनु भएको हो ।
उहाँले प्रतिष्ठानले आउँदा दिनमा संविधानले व्यवस्था गरेको महिलाहरूको लागि ३३ प्रतिशतको सुनिश्चितता गर्न महिला विभागमार्फत काम गर्ने, त्यसैगरी वैदेशिक सम्पर्क विभाग, आर्थिक विभाग, प्रचार तथा प्रकाशन लगायतका विभाग गठन गरेर पालिकास्तरमा समेत संगठन विस्तार गर्न तयारी गरेको जानकारी दिनुभयो । उहाँले हर क्षेत्रमा अधिकारीहरूले नेतृत्वदायी भूमिका निभाउनु पर्छ, निभाउन सक्ने क्षमताको विकास गर्न जरुरी छ, त्यो गरौं, गर्न सकौं कुलदेवी विन्दवासिनी सहितका कुलदेवता र पितृहरूको आशिर्वाद हामी सबैलाई प्राप्त हुन सकोस् भन्ने कामना गर्नु भयो ।
प्रतिष्ठानको केन्द्रका गतिविधिमा प्रकाश पार्दै केन्द्रीय सचिवालय सदस्य पहाडीले केन्द्रीय कार्यालय भरतपुरमा सरेको छ, सबै गतिविधि त्यहीँबाट हुन्छ । स्थापनाकालमा वंशावली निर्माणको एक सुत्रीय कार्यक्रम थियो । वंशावलीका दुई भोलुम निस्के, अब त्यो काम प्रेस खर्च तिरिसकेपछि डिजिटलमा अपडेट गर्ने तयारी छ, करिव ५ केजी तौलको किताबको मूल्य मात्र २५ सय रुपैयाँ छ, त्यो पुस्तक घरघरमा हुन जरूरी छ भन्नुभयो ।
पेशाले वरिष्ठ पत्रकार रहनुभएका पहाडीले ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष, राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष, अर्बुद रोग निवारण संस्थाको समेत जिल्ला अध्यक्ष रहेर सामाजिक, सांस्कृतिक अभियन्ताको पहिचान बनाउनु भएको छ । उहाँले कार्यक्रममा उठेका प्रश्नका जवाफ दिदै महिलाहरुको विवाह हुनासाथ गोत्र परिवर्तन हुने शास्त्रीय मत र परम्परा छ, हामी त्यही विश्वासमा चल्दै आएका छौ, जहाँसम्म महिलाले चढाएको नरिबल फोर्न हुने नहुने प्रश्न छ, यो कार्य आमा हुन योग्य उमेरकाहरुले हुदैन भन्नुभयो ।
यसैगरी, प्रतिष्ठानको हालै सम्पन्न बैठकले एक घर एक आजीवन सदस्य अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिदै यो कार्यमा सहयोग गर्न आग्रह गर्दै ऐले आजीवन सदस्यता शुल्क ११०० सय रुपैयाँ रहेको जानकारी दिनुभयो ।
सो अवसरमा ८५ वर्षीय घनश्याम अधिकारी सहित ८० वर्षको उमेर पार गर्नु भएका आठजनालाई सम्मान गरिएको थियोे । उक्त अवसरमा दोसल्लाद्वारा सम्मानित हुनुहुने अन्यमा ९२ वर्षीया नन्दमाया अधिकारी, ८७ वर्षीया मधुमाया अधिकारी, ८५ वर्षीया पद्मा अधिकारी, ८३ वर्षीय दुर्गादत्त अधिकारी, ८१ वर्षीय त्रय कुलप्रसाद, पुष्पलाल र कुमप्रसाद अधिकारी हुनुहुन्छ । सो अवसरमा उक्त मन्दिर निर्माणमा एकलाख रुपैयाँ सहयोग गर्नुहुने ६९ वर्षीय रमेश अधिकारीलाई दोसल्ला, टीका र सम्मान पत्रबाट सम्मान गरिएको थियोे ।
उक्त कार्यक्रममा प्रमुख अतिथि पहाडी र विशेष अतिथि प्रकाश अधिकारीलाई आयोजक समितिको तर्फबाट अध्यक्ष पद्मराज अधिकारीले दोसल्ला ओढाई सम्मान गरिएको थियोे ।
उक्त अवसरमा कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान, तनहुँ शाखाका अध्यक्ष एवम् मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पद्मराज अधिकारीले पहिलो पटक यसरी मन्दिरमा कुल पूजा गरेको जानकारी दिँदै उक्त मन्दिर निर्माणको आयव्यय विवरण प्रस्तुत गर्नु भएको थियो । मन्दिर निर्माणमा सत्रसय क्षेत्रमा बसोवास गर्नुहुने ६९ घरपरिवारबाट १५ सयका दरले संकलन गरिएको जानकारी दिदै एकलाख ५८ हजार खर्च भएको जानकारी दिनुभयो ।
उक्त अवसरमा प्रतिष्ठानको लमज्ुङ शाखाका सह– सचिव प्रकाश अधिकारी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । अयोजक समितिका सदस्य चिरञ्जीवी अधिकारीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन धुव्र अधिकारीले गर्नु भएको थियो ।
प्रकाशित मिति २०८२ मंसिर १९, शुक्रबार ०८:११ गते