
भुजुङ(लमजुङ)– अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को ३९औँ वार्षिकोत्सव तथा स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । लमजुङको क्व्होलासोथार गाउँपालिका– ४, को भुजुङ गाउँमा आयोजित उक्त कार्यक्रमका वक्ताहरूले संरक्षणमा जोड दिए ।
वार्षिकोत्सवमा संरक्षणका क्षेत्रमा विशेष सहयोग गरेको भन्दै वडा कार्यालय भुजुङ, पर्यटन व्यवस्थापन समिति भुजुङ, त्रिभुवन मावि भुजुङ, भुजुङ स्वास्थ्य चौकी साथै एक्याप भुजुङ अन्तरगत ८ वटै संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख वक्ता क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले संरक्षण र विकास एक–अर्काको परिपूरक भएको बताउनु भयो । उहाँले संरक्षण कार्यमा सबैको समान सहभागिता आवश्यक रहेको उल्लेख गरे । उनले एक्याप र स्थानीय सरकारबीच कानुनी अधिकारसम्बन्धी केही मुद्दामा उत्पन्न मतभेदले केही असहजता पैदा गरेपनि अब त्यो चाँडै टुंग्याइने विश्वास व्यक्त गर्नु भयो । संरक्षणमै दिगो विकासको आधार रहेको उहाँको धारणा थियो ।
मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले नागरिकको सक्रियता र चासोले संरक्षण अभियानमा ठूला उपलब्धि दिलाउने गरेको स्मरण गर्दै राजनीतिक दल, कर्मचारी, प्रशासकदेखि सामान्य नागरिक सबै एक ठाउँमा उभिनुपर्ने बताउनु भयो । उहाँले संरक्षण बिना दिगो विकास सम्भव छैन भन्नुभयो ।
एक्याप प्रधान कार्यालय पोखराका आयोजना प्रमुख डा. रविन कडरियाले एक्यापले संरक्षणसँगै स्थानीयको आयआर्जनमा टेवा पुग्ने कार्यक्रमलाई समेत प्राथमिकतामा राख्दै आएको जानकारी गराउँदै सोही नीतिलाई अघि बढाइरहेको जानकारी दिनुभयो । संरक्षणलाई मजबुत बनाइए मात्र विकास सम्भव हुन्छ त्यसैले संरक्षणमा स्थानीय समुदायकोसमेत जिम्मेवार भूमिका रहने र रोजगार प्रवर्धन समेत सम्भव हुने उहाँले स्पष्ट्याउनु भएको थियो ।
एक्याप इलाका कार्यालय भुजुङका प्रमुख प्रमोदराज रेग्मीले घोषित नीति र कानुनको परिधि भित्रै रहेर गाउँलेहरूसँग प्रत्यक्ष साझोदार गरी कार्यक्रम अघि बढाउँदै आएको बताउनु भयो । सो अवसरमा मस्र्याङ्दी गाउँपालिका– ९ का वडाध्यक्ष हरिश्चन्द्र थापा, संरक्षण क्षेत्र व्यवस्थापन समिति पसगाउँका अध्यक्ष चन्द्रप्रसाद गुरुङलगायत वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
भुजुङस्थित युम्पो विकास आमा समूहले संरक्षणमूलक गीत तथा नृत्य प्रस्तुत गर्दै वातावरण संरक्षणको सन्देश फैलाउन सहयोग गरेका थियो । त्यस्तै, लालीगुराँस युवा क्लबका कलाकारहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । त्रिभुवन विद्याश्रम माविका विद्यार्थीले संरक्षणका विषयमा कविता प्रस्तुत गरी कार्यक्रमलाई थप रोचक बनाएका थिए ।
स्थानीय सहभागिता, सांस्कृतिक प्रस्तुतिहरू र संरक्षणप्रतिको प्रतिबद्धतासहित सम्पन्न भएको एक्यापको ३९औँ वार्षिकोत्सवले भुजुङ गाउँलाई उत्सवमय बनाएको प्रतिक्रिया सहभागीहरूले दिएका थिए ।
एक्याप इलाका संरक्षण कार्यालय भुजुङले आयोजना गरेको कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, एक्यापका अधिकारी, सामुदायिक संस्थाका पदाधिकारी, विद्यार्थी तथा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो ।
संरक्षण क्षेत्र व्यवस्थापन समिति भुजुङका अध्यक्ष खिमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य वडाध्यक्ष नारायण गुरुङले तथा सञ्चालन एक्याप भुजुङका पर्यटन सहायक बृजबहादुर गुरुङले गर्नु भएको थियो ।
आश गुरुङको सहयोगमा ।
प्रकाशित मिति २०८२ मंसिर २६, शुक्रबार ०८:५६ गते