लोककला संस्कृतिको पर्याय ठाडोभाकाको संरक्षण अपरिहर्य : वडाध्यक्ष न्यौपाने

लोककला संस्कृतिको पर्याय ठाडोभाकाको संरक्षण अपरिहर्य : वडाध्यक्ष न्यौपाने

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ पुस १ गते मङ्गलबार ०९:३०

ठाडोभाका लोककला प्रतिष्ठान नेपाल जिल्लामै सर्वाधिक पुरस्कार (आठ वटा) वितरण गर्ने संस्थाका रुपमा दर्ज भएको अध्यक्ष पहाडीले जनाकारी दिनुभएको छ । उहाँका अनुसार ती पुरस्कारको राशि पाँच हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म रहेको छ ।

यहाँको शैक्षिक स्थिति, सांस्कृतिक गौरव, पूर्वजहरूले गरेको सांस्कृतिक, सामाजिक, आर्थिक एवम् राजनीति रुपि ऐतिहासिक कार्यको पदचापको विरासत बिर्सन हुन्न भन्ने ठाडोभाका महानायक धम्पुले उल्लेख गर्नुभयो ।

दुराडाँडा(लमजुङ)– सुन्दरबजार नगरपालिका– ३ स्थित जिल्लाकै ऐतिहासिक थलो दुराडाँडाका वडाध्यक्ष अमृत न्यौपानेले लोककला संस्कृतिको संरक्षण अपरिहर्य छ, त्यसमा पनि जिल्लाकै पहिचानका रुपमा रहेको ठाडोभाका लोककला प्रतिष्ठा नेपालले गरेको कार्य प्रशंसनीय छ भन्नुभएको छ । उहाँले स्थानीय सर्वोदय माविमा कक्षा– ६ मा अध्ययनरत छात्रा रोजीना दुरालाई छात्रवृत्ती विरण गर्दै मंसिर २९ गते त्यस्तो बताउनु भएको हो ।
उक्त कार्यक्रमको उदघाटन गर्दै उहाँले मौलिक लोक संस्कृति हाम्रो पहिचान हो र यसको जर्गेना आजको आवश्यकता हो भन्नुभयो । उहाँले आफूले व्यक्तिगत र संस्थागत रुपमा यो प्रतिष्ठानले गरेका कार्यको नजिकबाट हेरिरहेको र राम्रो काम हुँदै आएको पाएका छौं, केही वर्ष अघिदेखि संस्कृति सदनमा गरिएको यस्तो कार्यको उपजका रुपमा सुजिना भुजेल हाम्रो सामुमा छन् भन्नुभयो । उहाँले आफू प्रतिष्ठानको आजीवन सदस्य बन्ने उदघोष समेत गर्नु भएको थियो ।
उक्त अवसरमा प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले दुराडाँडा कुनै दिन निकै शिक्षित गाउँमा गणना हुन्थ्यो, पछिल्ला वर्षमा केही कमी भएको छ । बाझो बारी बढ्दो छ तर पनि नयाँ पिंढीले यसमा विशेष ख्याल गर्नु पर्छ, हामी बाहिर बसेकाहरूले पनि दुराडाँडाको गौरवलाई जोगाउनका लागि के कसो गर्नु पर्ने हो ? विभिन्न मञ्चमा छलफल चलिरहेको छ । यहाँको शैक्षिक स्थिति, सांस्कृतिक गौरव, पूर्वजहरूले गरेको सांस्कृतिक, सामाजिक, आर्थिक एवम् राजनीति रुपि ऐतिहासिक कार्यको पदचापको विरासत बिर्सन हुन्न भन्ने उहाँले उल्लेख गर्नुभयो । उहाँले स्थापनाकालीन दिनमा पञ्चैसुब्बा गुरुङले केटी बनेर गाउदै देउबहादुर दुरालाई साथ दिने गर्नु भएको स्मरण गर्नुभयो । उहाँले ठाडोभाकाको विशेषताका बारेमा प्रकाश पार्दै ठाडोभाका परिस्थिति र ठाउँ अनुकुल गाउनु पर्ने, गाइने हुँदा यो ट्याकमा गाउन मिल्दैन भन्नुभयो ।
सोही विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष नारायण केसीले शुभकामना मन्तव्यका क्रममा ठाडोभाका भन्ने वित्तिकै देउबहादुर दुरा, भेडीखर्के साइँलाको सम्झना आउने उल्लेख गर्दै बीचमा लोप हुन लागेको यो भाकाको प्रतिष्ठान खुलेपछि बढेका गतिविधिले अब मर्दैन भन्ने स्थितिमा पुगेको छ भन्नुभयो । उहाँले छात्रवृत्ती कार्यक्रमका लागि आफ्नो विद्यालय छनौट गरेकामा प्रतिष्ठानलाई धन्यवाद दिनुभएको थियो ।
उक्त अवसरमा प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले प्रतिष्ठानको स्थापनाकालीन इतिहासको स्मरण गर्दै गैरनाफामूलक संस्थाका रुपमा अघि बढाउने कार्य निकै कठिन भएको बताउनु भयो । ठाडोभाका मौलिक लोक संस्कृतिको धरोहर हो भन्दै पहाडीले हिजोआज ट्याकमा नाच्ने बानीले गर्दा गायन कला ओझेलमा पर्दै गएको छ तर ठाडोभाका ट्याकमा गाउँन नमिल्नु यो भाकाको मौलिक विशेषता छ भन्नुभयो । त्यस्तै, ठाडोभाकाका नाउँमा जे जसरी पनि भट्याउँदैमा त्यो ठाडोभाका हुँदैन, न त जसरी पनि उफ्रदैमा त्यो ठाडोभाकाको नाच हुन्छ न त जथाभावी मादल ठोक्दैमा बाध्यवादन हुन्छ अन्य गीतभन्दा फरक हुनु ठाडोभाकाको मौलिकता हो, यसलाई नयाँ पिंढीले ख्याल गर्न जरुरी छ उहाँले जोडदिदै भन्नुभयो ।
अर्को एक प्रसङ्गमा उहाँले आफू यसै विद्यालयको उपज भएको स्मरण गर्दै ४– ५ वर्ष अघिनै यहाँ आउने इच्छा भएर पनि तारतम्य मिलिरहेको थिएन । अहिले यस विद्यालयका शिक्षक रामकुमार श्रेष्ठ र प्रधानाध्याक कृष्णप्रसाद पोखरेलको प्रयासले यो कार्य सम्भव भएको हुँदा उहाँप्रति कृतज्ञता व्यक्त गर्दछु भन्नुभयो । प्रतिष्ठानको माघ महिनामा पर्ने स्थापना दिवस तीन दिवसीय रुपमा ‘ठाडोभाका मेला’को सञ्चालन गर्ने र त्यो समयमा नेपाली संस्कृतिका रुपमा रहेका ठाडोभाका मात्र नभई बाघचाल र पात बजाउने कलाको संरक्षणका लागि वर्षमा एक पटक मात्र भएता पनि प्रतियोगिताको आयोजना गर्ने गरेको उहाँले जानकारी दिनु भयो । स्थापना दिवसका अवसरमा ती प्रतियोगिता सञ्चालन गरिआएको उल्लेख गर्दै यो वर्ष निर्वाचन घोषणा भएको त्यो बेलामा आचार संहिताले रोक्ने स्थिति भएको हुँदा प्रचार थाल्न नसकेको बताउनु भयो । उहाँले कथंकदाचित निर्वाचन सरेको खण्डमा माघको १५, १६ र १७ गते उक्त मेला, यो वर्ष मर्स्याङदी गाउँपालिका– ८ को बडागाउँमा सञ्चालन गर्ने भएको जानकारी दिनुभयो । घोषित मिति फागुन २१ गते हुने भएमा उक्त कार्यक्रम चैतको पहिलो साताका लागि सारिनेछ भन्नुभयो ।
उहाँले नयाँ ंिपंढीमा ठाडोभाका हस्तान्तरण नहुदासम्म यसलाई बचाउन सक्दैन भन्ने ठहर गरी विभिन्न स्थानमा प्रशिक्षण सञ्चालन, यो वर्षदेखि प्रतियोगितामा ३५ वर्ष कम उमेरका कम्तिमा एकजनालाई सहभागी गराउनु पर्ने अनिवार्यता, ४५ वर्ष कम उमेरका ठाडोभाका अभियन्ताहरूलाई हरेक वर्ष एकजनालाई २२ हजार २२२ रुपैयाँ नगद, सम्मान पत्र र दोसल्लाद्वारा सम्मान गर्ने जस्ता कार्य गरिएको बताउनु भयो ।
प्रतिष्ठान जिल्लामै सर्वाधिक पुरस्कार वितरण गर्ने संस्था :
यसैबीच, ठाडोभाका लोककला प्रतिष्ठान नेपाल जिल्लामै सर्वाधिक पुरस्कार (आठ वटा) वितरण गर्ने संस्थाका रुपमा दर्ज भएको अध्यक्ष पहाडीले जनाकारी दिनुभएको छ । उहाँका अनुसार ती पुरस्कारको राशि पाँच हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म रहेको छ । उहाँले यो वर्षदेखि ‘ठाडोभाका– देउबहादुर दुरा स्मृति पुरस्कार’ वितरणको तयारी गरिएको छ । त्यो पुरस्कार ठाडोभाकाका अग्रज अभियन्ताहरूको सम्मानका लागि स्थापना गरिएको हो । यो पुरस्कारको राशि ३० हजार नगद, दोसल्ला र सम्मान पत्र रहने उहाँको बताउनु भयो ।

ती सम्मान पुरस्कारमा : ठाडोभाका – टिकाकुमारी ढुंगाना स्मृति पुरस्कार, ठाडोभाका– सुवे. सन्तबहादुर गुरुङ स्मृति पुरस्कार, असल आमा बाबा सम्मान, लोक संस्कृतिका अभियन्ता(लेखक) सम्मानका लागि ठाडोभाका– दुर्गा केसी स्मृति पुरस्कार (गण्डकी प्रदेशस्तर), ठाडोभाका सिर्जना विहरी थापा प्रतिभा पुरस्कार, ठाडोभाका – रामदत्त अधिकारी स्मृति पुरस्कार र ठाडोभाका – जगतमाया अधिकारी स्मृति पुरस्कार तथा छात्रबृत्ति (चार जनालाई) वितरण गर्दै आएको छ ।
प्रतिष्ठानले वितरण गर्ने छात्रवृत्तीमा भोलिका दिनमा लोकगायक बन्ने चाहना राखेका कक्षा– ५– ६ मा अध्ययन गर्ने छात्र÷छात्रा रोजेर उनीहरूलाई उक्त विद्यालयमा पढुञ्जेल खाजा बाहेक लाग्ने सबैप्रकारका खर्चहरू किताव, कापी, कलम, पोशाक, परीक्षा लगायतका शुल्कहरू सबै बेहोर्ने गरेको छ । सर्वोदय माविमा कक्षा– ६ मा पढ्ने रोजीना दुरालाई पहिलो पटक दिन थालिएको ठाडोभाकाको गायिका एवम् प्रशिक्षक समेत रहनु भएकी ठाडोभाका लोककला प्रतिष्ठान नेपालका उपाध्यक्ष सीतादेवी दुराले बताउनु भयो ।
उक्त अवसरमा सोही विद्यालयका छात्रछात्राले विभिन्न नृत्य प्रस्तुत गरेका थिए भने ठाडोभाकाको पलाती पुस्ताका प्रतिष्ठानका आजीवन सदस्य सावित्री शाही र कार्यकारी सदस्य नवीन बरालको जोडीले दमदार प्रस्तुति दिनु भएको थियो । त्यस्तै, ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ र सीतादेवी दुराको जोडीले पनि ठाडोभाका प्रस्तुत गर्नु भएको थियो भने नृत्यमा धम्पुले ठाडोभाकाको नाच समेत सिकाउनु भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कक्षा– ९ का सञ्जाल मौरतीले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन शिक्षक पशुपति न्यौपानेले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८२ पुष १, मंगलवार ०९:३० गते
हजुरको प्रतिक्रिया