
भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धरौटी बुझाएर छुट्नु भएको छ । यहाँ स्थित जिल्ला अदालत रुपन्देहीमा धरौटी रकम बुझाएर पुस ४ गते छुट्नु भएको छ ।
उच्च अदालत बुटवलले बैंक ग्यारेन्टीमा छाड्न हिजो आदेश दिएपछि उहाँ कागजी प्रक्रिया पूरा गर्न आज रुपन्देही जानु भएको थियो । लामिछाने कागजी प्रक्रिया पूरा गरेर रिहा भएका जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले बताउनुभयो । उहाँका अनुसार कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनु भएको हो ।
कारागारमुक्त भएपछि उहाँले अन्यायको हिसाब मिलाउन बाँकी छ, तर तत्काल बोल्दिनँ भन्नुभयो । उहाँका अनुसार न्यायको लडाइँ बाँकी छ । उहाँले भन्नुभयो, ‘अहिले आफ्नो बोल्ने समय आइसकेको छैन, अन्यायको हिसाब मिलान भएपछि धेरै बोल्ने छ ।’
रविले आफूमाथि भएको अन्याय देशमाथि भएको अन्यायको तुलनामा केही पनि नभएको उल्लेख गर्नुभयो । उहाँले थप भन्नुभयो, ‘न्यायको यो लडाइँ मेरो बाँकी नै छ, मैले अझ धेरै लड्नु छ र मैले अहिले लड्नुपर्छ लड्न बाँकी छ भनेको मेरा लागि भनेको होइन तपाईंका लागि यो देशको न्यायका लागि लड्नुपर्ने छ भनेको हो, यिनीहरूले यो देश माथि गरेको अन्यायको अगाडि म माथि गरेको अन्याय केही पनि होइन, त्यो सबको हिसाब गर्नुछ । त्यसको हिसाब मिलाएपछि अलि लामो बोलौंला, आजलाई म यति मात्र भन्छु कि हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ ।’
रविले चुनाव लड्न पाउने ः
रास्वपाका सभापति रवि रिहा भएसँगै उहाँले चुनाव लड्नु पाउनु होला कि नहोला ? भन्ने जिज्ञासा समेत उठिरहेको छ । उहाँको मुद्दा बिचाराधिन अवस्थामा भएका कारणले उहाँले आउँदो फागुन २१ गते हुने आमनिर्वाचनमा भाग लिन, अर्थात चुनाव लड्न पाउनु हुन्छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ ले विभिन्न १० वटा अवस्थामा चुनाव लड्न अयोग्य हुने भनेको छ । जस अन्तर्गत भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध विक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्म कैद वा बिस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको अबस्थामा मात्रै अयोग्य हुने भनेको छ ।
काठमाडौंबाट हवाईजहाजमा भैरहवा आउने तयारी भएपनि खराब मौसमका कारण लामिछाने चितवनसम्म जहाजमा आएर त्यहाँबाट सडकमार्गबाट सांझ पौने ६ बजे मात्र भैरहवा कारागार पुग्नु भएको थियो ।
रवि भैरहवा कारागार आइपुग्दा र छुटेपछि रास्वपाका नेता कार्यकर्ता र समर्थकहरुले उहाँको पक्षमा हुटिङ गर्दै खुशियाली मनाएका छन् ।.
प्रकाशित मिति २०८२ पुष ४, शुक्रबार २०:५६ गते