
लमजुङ– लमजुङमा जल्पादेवी खुला मिनी म्याराथुन दौड प्रतियोगिताको तयारी सुरू गरिएको छ । मध्यनेपाल नगरपालिका– २ को यस क्षेत्रमा उक्त प्रतियोगिता सञ्चालन गरिने भएको पुष ५ गते तय गरिएको हो ।
स्थानीय क्षेत्रमा रहेको बहुचर्चित, शक्तिशाली जल्पादेवीको प्रचारप्रसार गर्ने उद्देश्यले उक्त मन्दिर व्यवस्थापन समितीको संयोजनमा उक्त प्रतियोगिता सञ्चालन गरिने निर्णय भएको हो । सो निर्णय जल्पादेवी मन्दिर व्यवस्थापन समितीका अध्यक्ष श्रीप्रसाद गुरूङको अध्यक्षतामा बसेको बैठकबाट भएको समितीका सचिव विष्णुमाया गुरूङले बताउनु भयो ।
उक्त प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार रूपैंया, द्वितीय हुनेलाई ३० हजार तथा तृतीय हुनेलाई २० हजार रूपैंया सहित मेडल र प्रमाणपत्र प्रदान गरिने सो समितीका कोषध्यक्ष गोविन्द गुरूङले बताउनु भयो । उहाँका अनुसार सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने तयारी छ ।
सो प्रतियोगिता ‘धार्मिक सांस्कृतिक र ऐतिहासिक अस्तित्व बोकेको पर्यटकिय गाउँ तान्द्राङकोट’ नाराका साथ सञ्चालन गरिने प्रचारप्रसार समितीले जनाएको छ । उक्त प्रतियोगिता सम्पन्न गर्न जल्पादेवी व्यवस्थापन समितीका अध्यक्ष श्रीप्रसाद गुरूङको संयोजकत्वमा एक सय एक सदस्य मुल आयोजक समिती गठन गरिएको छ । यसैगरी, प्रतियोगितालाई व्यवस्थित, अनुशासित एवम् उपलब्धी मुलक बनाउन विभिन्न नौवटा उपसमिती गठन गरिएको समितीका सचिव विष्णुमाया गुरूङले बताउनु भएको छ । उहाँका अनुसार सोही वडाका अध्यक्ष पद्मबहादुर थापाको संयोजकत्वमा सल्लाहकार समिती गठन गरिएको छ । उहाँले भन्नुभयो, ‘उपसमितीहरूमा आर्थिक व्यवस्थापन, प्रचारप्रसार, अतिथी, स्वागत सत्कार, स्वयमसेवक परिचालन, स्वास्थ्य तथा उपचार, खाना खाजा, सरसफाइ, स्कटिङ व्यवस्थापन रहेको छन् ।’
उक्त प्रतियोगिता प्ुरातत्व विभागका प्रमुख सहितका टिमको सहभागीतामा प्रमुख आतिथ्यता सहित आउँदो माघ १० गते हुने आयोजक समितीले जनाएको छ ।
उक्त म्याराथुन प्रतियोगिता विश्व शान्ति गुम्बा स्थलबाट सुरू भई सोतीपसलचोक, सोतीपसलदेखि जिताकोट जाने मार्ग, जुगेपानी, पञ्चमन्दिर, वडा कार्यालय, पाखुराको स्वस्थचौकी, पुरानपञ्चेत, मल्लस्वॉरा, ढलेपिपल, बाल विकास स्कुल, काब्रेठाना, जल्पादेवी मार्ग, सेरा हुदै रातमाटा जल्पादेवी परिसरमा पुगेर टुङ्गिने आयोजक समितीको भनाइ छ ।
उक्त प्रतियोगितालाई सम्पन्न गर्नका लागि आर्थिक लगायत सबै प्रकारको सहयोग गर्न मन्दिर व्यवस्थापन समितीले देश विदेशमा रहनु भएका यस क्षेत्र र यस क्षेत्रसँग सम्बन्धित विभिन्न महानुभावहरूलाई आयोजक समितीले आग्रह गरेको छ ।
प्रकाशित मिति २०८२ पुष ६, आईतवार २१:५९ गते