मोतियाविन्दूको निःशुल्क शल्यक्रिया शिविरमा ५४ जना लाभान्वित

मोतियाविन्दूको निःशुल्क शल्यक्रिया शिविरमा ५४ जना लाभान्वित

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ पुस ८ गते मङ्गलबार ०९:२५

शिविरमा ६७२ जनाले आँखाका परीक्षण तथा उपचार सेवा लिएका छन् । जसमध्ये ३४४ महिला र ३२८ पुरुष थिए । आँखा परीक्षणको क्रममा मोतिविन्दूको समस्या देखिएका व्यक्तिहरूको शल्यक्रिया, औषधि वितरणसँगै नजिकैको वस्तु नदेख्ने समस्या भएकाहरूलाई ३ सय जनालाई चस्मा वितरण गरिएको थियो ।

सो शिविर आधारभूत स्वास्थ्य सेवा केन्द्र सिङ्दीमा सञ्चालन गरिएको हो ।

सिङ्दी(लमजुङ)– जिल्लाको उत्तर पश्चिम क्षेत्रमा रहेको क्व्होलासोथार गाउँपालिका– ५ को स्थानीय गाउँमा मोतियाबिन्दूको निःशुल्क शल्यक्रिया दुई दिने शिविर गरिएको छ । सो शिविरमा मोतियाविन्दूको समस्याबाट पीडित ५४ जनाको शल्यक्रिया शिविर प्ुस ७ गते सम्पन्न गरिएको हो ।
आँखा परीक्षण तथा मोतियाबिन्दूको निःशुल्क शल्यक्रिया शिविरमा ३२ जना महिला र २२ जना पुरुष गरी ५४ जनाको मोतिविन्दूको शल्याक्रिया गरिएको आयोजक क्व्होलासोथार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङले बताउनु भयो । उहाँका अनुसार सो गाउँपालिकाले मुटु फाउन्डेशन नेपाल र मनोज एसोसिएसन फ्रान्सको व्यवस्थापन तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा मोतिबिन्दूको निःशुल्क शल्यक्रिया शिविरको आयोजना गरेको हो । उहाँले भन्नुभयो, ‘उक्त शिविरमा ६७२ जनाले आँखाका परीक्षण तथा उपचार सेवा लिएका छन् । जसमध्ये ३४४ महिला र ३२८ पुरुष थिए ।’
सो शिविर आधारभूत स्वास्थ्य सेवा केन्द्र सिङ्दीमा सञ्चालन गरिएको हो । आँखा परीक्षणको क्रममा मोतिविन्दूको समस्या देखिएका व्यक्तिहरूको शल्यक्रिया, औषधि वितरणसँगै नजिकैको वस्तु नदेख्ने समस्या भएकाहरूलाई ३ सय जनालाई चस्मा वितरण गरिएको थियो । लामो समयदेखि आँखामा समस्या भएका स्थानीयले गाउँमै शल्यक्रिया सहितको निःशुल्क सेवा पाएकोमा निकै खुसी व्यक्त गर्दै आफूहरूलाई शिविरले सहज भएको बताएका छन् ।
दुई दिने सो शिविरमा हिमालय आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. नारायणी रोक्का भट्टराईसहित प्राविधिक टीम र क्व्होलासोथार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङ, राजु परियार, दिनेश विक, सल्मेभञ्ज्याङ स्वास्थ्य चौकी गिलुङका प्रमुख सन्तोष सुवेदी, पसगाउँ स्वास्थ्य चौकी प्रमुख मिलन रावत, घाम्राङ आधारभूत स्वास्थ्य सेवा केन्द्र प्रमुख गोपिनी गुरुङलगायत खटनु भएको थियो ।
सो शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले गर्नु भएको हो । उहाँले दूरदराजका नागरिकलाई गाउँमै सेवा प्रदान गर्न सिङ्दीमा मोतिबिन्दूको शल्यक्रिया शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले शिविरको व्यवस्थापन गर्ने संस्था मुटु फाउन्डेशन र प्राविधिक सहयोगी हिमालय आँखा अस्पताललाई धन्यवाद व्यक्त गर्नुभयो ।
त्यस्तै, यसअघि यस्तो शिविर सोही पालिका– ४ भुजुङमा पनि सञ्चालन गरिएको जानकारी अध्यक्ष गुरुङले दिनुभएको थियो ।
सो अवसरमा मुटु फाउन्डेशनका अध्यक्ष धनबहादुर गुरुङले शहरबाट टाढा रहेका, शहरमा पुगेर उपचार गर्न आर्थिकलगायत विभिन्न समस्या भएका नागरिकलाई सेवा दिन गाउँगाउँमा पुगेर आँखा परीक्षण कार्यसहित मोतिबिन्दको शल्यक्रिया शिविर सञ्चालन गर्न व्यवस्थापन गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले यसअघि यसै जिल्लको दोर्दी, मस्र्याङ्दी गाउँपालिकामा पनि मोतिबिन्दूको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरेको र आगामी दिनमा यसप्रकारका सेवाहरूलाई निरन्तर सहयोग गर्दै जाने जानकारी दिनुभयो ।
हिमालय आँखा अस्पताल पोखराका नेत्र अधिकृत गोविन्दनाथ योगीले गाउँघर, दूरदराजमा आयोजना गरिने यस्ता शिविरमा हिमालय आँखा अस्पतालले विगतदेखि नै प्राविधिक सेवा प्रदान गर्दै आएको र यसप्रकारको सेवाबाट आर्थिक अभावले वा विभिन्न कारणले शहरसम्म पुगेर आँखाको उपचार गर्न असमर्थ भएका नागरिक लाभान्वित भएको बताउनुभयो ।
त्यस्तै, क्व्होलासोथार गाउँपालिका– ५ का वडाअध्यक्ष गीतबहादुर गुरुङको अध्यक्षता तथा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन आधारभूत स्वास्थ्य सेवा केन्द्र सिङ्दीका प्रमुख बिन्तीमाया गुरुङले गर्नुभएको थियो ।
उक्त शिविरको पहिलो दिन ३ सय ५५ जनाले सेवा लिएका छन् । पहिलो दिन वडा नं. ६, ७ र ८ का २८ जनाको मोतिबिन्दूको शल्यक्रिया गरिएको छ । शिविरमा २ सय १७ वटा चश्मा, औषधी लगायत वितरण गरिएको छ ।

प्रकाशित मिति २०८२ पुष ८, मंगलवार २१:२५ गते
हजुरको प्रतिक्रिया