गुरुङ समुदायको नयाँ वर्ष हो, तमु ल्होसार । ल्हो ले वर्ग अथवा वर्ष र सारले नयाँ भन्ने बुझाउँछ । गुरुङहरूले विगत २६०३ वर्ष अघिदेखि सांस्कृति पर्व तमु ल्होसार मनाउँदै आइरहेको दाबी त गर्छन तर कहिलेदेखि यो पर्व मनाउन थालियो भन्ने यकिन इतिहास भने छैन । गुरूङ तमु समुदायको ल्होसार पर्व केवल नयाँ वर्षको स्वागत मात्र होइन, यो गुरुङ जातिको इतिहास, जीवनदर्शन, सामाजिक एकता र सांस्कृतिक पहिचानसँग गहिरो रुपमा जोडिएको पर्व हो । यसलाई गुरुङ भाषामा तमु ल्होसार भनिन्छ । ल्होसार शब्द तिब्बती भाषाबाट आएको हो । ल्हो वर्ष सार नयाँ अर्थात नयाँ वर्ष ।
तमु ल्होसारको विशेष सांस्कृतिक महत्व छ । ल्होसारले गुरुङको इतिहास, पहिचान, संस्कृति बोकेको छ । त्यसकारण यस पर्वलाई उनीहरूको पहिचानको मूल कडीका रुपमा लिने गर्दछन । सबैका पर्व–संस्कृतिले आ–आफ्नो संस्कृति झल्काएजस्तै, ल्होसार पर्वमा गुरुङको आफ्नो सांस्कृतिक भेषभुषा, खानपान, गीत–संगीत, सीप–कला प्रस्तुत हुन्छ । यससँगै आफ्ना चेलीबेटी, छरछिमेक, दाजुभाइ जम्मा हुने, आफ्नो नाता– सम्बन्ध सबैलाई एक ठाउँमा राखेर पारिवारिक तथा सामाजिक सम्बन्ध बलियो पार्ने, सामाजिक र सांस्कृतिक परम्पराको संरक्षण गर्ने गरिन्छ । यसले माइती र चेलीबीचको सम्बन्धलाई मजबुद बनाउँछ । गुरुङ समुदायमा चेलीबेटीलाई विशेष मान–सम्मान गरिन्छ । यस अवसरमा चेलीबेटीलाई र उनीहरूका परिवारलाई बोलाएर खानपिन गरिन्छ भने चेलीबेटीले पनि माइतीलाई उस्तै मान–सम्मान र खानपिन गराउँछन । गुरुङको विशेषता नै दोहोरो खालको सामाजिक–सांस्कृतिक सम्बन्ध अर्थात आपसी सहयोग आदान–प्रदान हो । यस हिसाबले ल्होसार पर्वको सांस्कृतिक पक्ष धेरै बलियो देखिन्छ ।
पहिले ल्होसार पर्व परिवार र समुदायमा मात्र सीमित थियो । गाउँ समाजका गुरुङ परिवार र समुदायमा सीमित ल्होसार पर्व बसाइसराइँ र जातीय पहिचान आन्दोलनका कारण अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बनेको छ । ल्होसारलाई अहिले नेपालका गुरुङले मात्र नभएर विभिन्न देशमा बसोवास गर्ने गुरुङहरूले पनि मनाउन थालेका छन । गुरुङ जातिका पहिचान झल्किने खालका विभिन्न कार्यक्रम सहित ल्होसारलाई सामूहिक, संगठित र व्यवस्थित तरिकाले राष्ट्रिय पर्वकै रुपमा मनाउने अभ्यास सुरु भएको छ । यो पर्व गुरुङको संस्कृति, सभ्यता र समग्र पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भए पनि पछिल्लो समय ल्होसार पर्वलाई मनाउने तौर–तरिका केही खर्चिलो र भडिकलो पनि हुन थालेको छ ।
तमु समुदायले चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् । वर्गहरूको नाम विभिन्न जनावरहरूको नामबाट नामाकरण गरिएको छ । गुरुङ समुदायले यो बर्षको ल्होसार पर्वमा सप्री ल्हो अर्थात सर्प वर्गलाई बिदा गरी तल्हो घोडा वर्गलाई स्वागत गर्दछन । यी वर्ग आफूलाई फाप्ने नफाप्ने र त्यस वर्गको शुभ समय र अन्य विशेषता सबै लामा शास्त्र र पच्यु शास्त्र अनुसार थाहा पाउन सकिन्छ । शास्त्र अनुसार १२ वटा वर्गमा मुसा वर्ग (च्युल्हो), गाई वर्ग (ल्वोँल्हो), बाघ वर्ग (तो ल्हो), बिरालो वर्ग (हिल्हो), गिद्द वर्ग (मुप्रील्हो), सर्प वर्ग (सप्रील्हो), घोडा वर्ग (तल्हो), भेंडा वर्ग (ल्हुल्हो), बादर वर्ग (प्र ल्हो), चरा वर्ग (च्हयाल्हो), कुकुर वर्ग (खिल्हो) र मृग वर्ग (फोल्हो) पर्दछ । नेपालमा तमु, तामाङ, शेर्पा, थकाली लगायतका जातीहरूले ल्होसार मान्दछन् । तर ती जातिहरूले मान्ने ल्होसार पर्व फरक छन् । नेपालमा तीन प्रकारको ल्होसार मनाउने गर्दछन् । पुष १५ मा तमु समुदायले मनाउने ल्होसारलाई तोला ल्होसार भनिन्छ । त्यसैगरी माघ शुक्ल प्रतिपदामा मनाइने तामाङ लगायत पश्चिमी तिब्बतीहरूले मनाउने ल्होसारलाई सोनाम ल्होसार र फागुन शुक्ल प्रतिपदामा शेर्पा लगायत पूर्वी तिब्बतीले मनाउने पर्वलाई ग्याल्पो ल्होसार भनिन्छ ।

बिशेष गरी ल्होसार पर्व १५ दिनसम्म रहने गर्दछ । नयाँ वर्षको शुरुका १५ दिनहरू हर्षोल्लास अनि उत्साहकासाथ विताएमा सम्पूर्ण वर्षनै उत्साहपूर्ण र सुखद व्यतित हुने मान्यता रहेको छ । नयाँवर्ष प्रारम्भ हुने वित्तिकै अर्थात राती १२ बजे नै तमु समूदायहरू जगल या सार्वजनीक स्थलमा गएर आगो बालेर, धनुषकाँड खेलेर वर्षको विदाई गरेर नयाँ वर्षको शुरुवात गर्ने गर्दछन् । पश्चिमतर्फ हानेको धनुकाँडले गएको ल्हो अर्थात वर्षको विदाई अनि पूर्वतर्फ हानेको धनुकाँडले भोलिपल्ट त्यसै दिशाबाट उदाउने नयाँ वर्ष अर्थात ‘ल्हो’को स्वागत गर्ने चलन छ । विहानपख नराम्रो ल्हो अर्थात् वर्षहरूलाई आउन नदिन जन्तर बाँध्ने र जङ्गलको रुखमा बाँध्ने चलन छ । तमु समुदायका बारेमा लेखिएका पुस्तक अनि शोधपत्र अनुसार तमुका पुर्खाहरू छैठौं शताब्दीमा तिब्बतबाट नेपाल आएर मुख्यतः उच्च हिमाली र उच्च पहाडी भेगमा बस्ने समुदायका रुपमा चिनिन्छन् । पहिले बोन अर्थात् शामानिज्म धर्म अवलम्वन गरेका यी प्राचिन समुदाय अहिले अधिकांश संख्यामा बौद्धिष्ट र केही क्रिस्चियन अनि हिन्दूहरू पनि छन ।
ल्होसार पर्व कृषिसँग सम्बन्धित छ । तिब्बतमा इसापूर्वको सातौँ शताब्दीतिर बुद्ध धर्म प्रवेश हुनुअगाडि भिन्न रूपमा ल्होसार मनाउने गरेको इतिहास पाइन्छ । तिब्बतमा किसानहरूले वर्षे बाली स्याहार्ने बेला कृषि बाली पर्व अर्थात हार्भेस्ट फेस्टिभल मनाउने गर्थे । पछि त्यही पर्वलाई ल्होसारमा रुपान्तरण गरियो । त्यस सन्दर्भमा ल्होसार पर्व किसानको पर्व हो । जसलाई तोला ल्होसार भनिन्छ । आजसम्म प्राप्त ऐतिहासिक स्रोत अनुसार, नेपालमा गुरुङको आगमन चीनबाट तिब्बत हँुदै ईसाको पहिलो शताब्दीतिर भएको देखिन्छ । त्यतिबेला गुरुङहरू बोन धर्ममार्गी अर्थात प्रकृतिपूजक थिए । त्यतिबेलादेखि गुरुङहरूले पनि ल्होसार मनाउँदै आइरहेका थिए भन्ने अनुमान गरिन्छ ।
गुरुङले मनाउने ल्होसारलाई तोला ल्होसार भनिन्छ । तर, अहिले गुरुङले तोला ल्होसार नभनी तमु ल्होसार भन्ने गरेका छन । यो नामाकरणबाट उनीहरूले यस पर्वलाई गुरुङको पहिचानसँग जोडन खोजेको देखिन्छ । ल्होसार पर्वमा पारिवारिक भेटघाट मात्र नभएर सामाजिक भेला पनि हुन्छ । दुःख–सुखका कुरा एक–अर्कामा बाँडछन । समाजमा गर्नुपर्ने कामबारे पनि त्यही भेलामा छलफल हुन्छ । गाउँघरमा यही मौका पारेर मेला लाग्छ । मेलामा आफूसँग भएका सीप–कलाको प्रदर्शन गर्ने, आफूले उत्पादन गरेका वस्तुको वस्तु विनिमय गर्ने, ठेलो फाल्ने, धनुषबाण हान्नेजस्ता खेल खेल्ने तथा गुरुङको पहिचान झल्काउने विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरिन्छ ।
आजभोलि कतिपय गुरुङ जातिहरू आफ्नो मुल थलो छाडी शहरी क्षेत्रमा बसाई सरेका छन । काठमाडौं उपत्यका लगायत विभिन्न तराईका शहर बजार र ग्रामीण बस्तीमा रहने तमु अर्थात गुरुङ जातिहरूले ल्होसार पर्व विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गर्दछन । कतिपय ठाउँमा क्बलहरूले सांस्कृति कार्यक्रमको आयोजना पनि गर्दछन । कतिपय रोजगारीको लागि देश विदेश पुग्ने तमु युवाहरू पनि ल्होसारको समयमा आफ्नो घर फर्किएका हुन्छन । ल्होसार पर्वको लागि विभिन्न मन्त्रहरू लेखिएका अनि विभिन्न रगंका तोरण, झण्डाहरू घर, डाँडा र वौद्ध विहारमा झुण्ड्याइने प्रचलन हुन्छ । तमु भाषामा लेखिएको यो भाषाले छयाँजलो, ताहान मिथेवामैलई छयाँजगे मु जाँसाजे । हाम्रो पात्रोको तर्फबाट तमु अभिवादन ! आज तमु ल्होसार हो भन्ने अर्थ दिन्छ । पे म्ह्स्या, छ्या म्हमु, छया म्हस्या ल्हु म्हमु, ल्हु म्ह्स्या म्हि म्हमु यसको अर्थ शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ अनि परम्परा हराए मान्छे नै हराउँछ भन्ने मान्यता गुरुङ संस्कृतिले लिएको पाइन्छ ।
हरेक समुदायले आ–आफ्नै किसिमले नयाँ वर्ष सुरुवातलाई चाडका रुपमा मनाउँछन । कसैले इस्वी संवतको, कसैले विक्रम संवतको र कसैले नेपाल संवतको सुरुवातलाई चाडका रुपमा मनाएजस्तै तमु समुदायले ल्होसार मनाउँदै आएको छ । वास्तवमा आदिकालका प्रकृतिपूजक समुदायले मनाउँदै आएको पर्व नै ल्होसार हो । ल्होसार विशेष गरेर मंगोल जातिले मान्ने पर्व हो । नेपालमा गुरुङ जातिको मूल थलो अन्नपूर्ण, मनास्लु, हिमचुली पहाडको दक्षिण पहाडका क्षेत्र हो । समयान्तरमा उनीहरू नेपालको पूर्वी पहाडका धेरै जिल्लामा समेत बसोवास गर्दछन । नेपालमा मात्र होइन गुरुङ जाति थोरै सख्यामा सिक्किम र भुटानमा समेत बसोवास गरेको पाइन्छ । केही इतिहासविदहरूका अनुसार, गुरुङहरू हान जातिबाट उत्पत्ति भएको र मध्य एसियाबाट सर्दै र फैलिदैँ आए भनिएको छ । केही विद्वान भने गुरुङहरु मङगोलबाट बसाइ सरेकाहरू हुन् भनेका छन् । तर मानव सभ्यताको विकास भएको मूल थलोहरू मध्ये चीनको ह्वाङहो नदीबाट नै गुरुङ जातिको पनि बिकास भएको मानिन्छ ।
मानव सभ्यताको विकासमा सनातन सांस्कृतिक परम्परा सभ्य समाजका जीवन पद्धतिसँग जोडिदै आएको छ । सभ्यताको विकास र विस्तारमा हिमवत्खण्ड मानव सभ्यताको उदगम मानिन्छ । सभ्यताको आदिम कालमा मानव सीमित समुदायको थियो र उसले प्रयोग गर्ने भाषा पनि एकै थियो तर सभ्यताको विकाससँगै मानव अनेक समुदायमा धेरैतिर व्याप्त भयो अनि उनीहरूले प्रयोग गर्ने भाषा पनि धेरै भए । कालान्तरमा एकै भूभागमा अनेकन जाति र समुदायका मानिसहरूको बसोवास बढ्न थाल्यो । त्यसले समाज बहुजाति, बहुसंस्कृति र बहुभाषाको बन्न थाल्यो । नेपाल यस्तै मुलुक हो । वोन धर्म तमु जाति अर्थात गुरुङ समुदायमा विधमान पैत्रिक कुलधर्म हो । जुन धर्ममा तमु जातिले प्राचिनकालदेखि नै विश्वास राखी अनुशरण गर्दै आइरहेको छ । वोन धर्म विश्वको पूरानो धर्म अन्तर्गत पर्ने एक प्राचिन धर्म हो । जसमा मानव निर्मित मानवरुपि भगवानमा विश्वास राख्दैन । अझ भन्ने हो भने वोन धर्ममा भगवान हुँदैन, देवता हुन्छ । त्यसैले वोन धर्मलाई भवगान नभएको धर्म पनि भन्दछ । वोन धर्ममा खोलानाला, पोखरी, रुख, पहाड, डाडाकाडा, भिरपखेरो, बन, जंगल, ठूला चट्टान, घाम, जुन, तारा, आकाश, भूमि, देउराली आदिलाई पूजा गर्दछन । तमु भाषामा भन्नु पर्दा क्लहेसोदी, परहेसोदी, आजीखे, आजीमा, सिल्दो, नाल्दो, सिमे, भूमे, खेकु, माङी, खेथे, माथे, सग्र्या, जस्ता प्राकृतिक वोन धर्म अन्तर्गतका देवताहरु हुन । वोन धर्म अनुसार संसार, जगतका सबै प्राकृतिक वस्तु, सजिव प्राणीहरु सबैको आत्म हुन्छ भन्ने विश्वास गरिन्छ ।
ल्होसार पर्वलाई कृषि र पशु पालनसँग जोडेर हेर्ने हो भने यसको निकै महत्व छ । पहिले–पहिले गुरुङहरू वनमा सिकार खेल्थे । प्राकृतिक स्रोतमा आफ्नो जीविका निर्वाह गर्थे । बिस्तारै खेतीपातीसँगै पशुपालन तथा अन्य व्यवसाय सुरु भयो । मानिस वर्षभरि काममा व्यस्त हुने र कृषि याममा समय नहुने हँुदा हिउँदको फुर्सदमा दाजुभाइ, छोरीचेली, इष्टमित्र, छरछिमेकी, साथीभाइ सबै एकै ठाउँमा भेला भएर खाने, बस्ने र रमाइलो गर्न थालेपछि ल्होसार पर्वले व्यापकता पाउन थालेको हो । यस पर्वमा पारिवारिक भेटघाट मात्र नभएर सामाजिक भेला पनि हुन्छ । दुःख–सुखका कुरा एक–अर्कामा बाँडछन । समाजमा गर्नुपर्ने कामबारे पनि त्यही भेलामा छलफल हुन्छ । गाउँघरमा यही मौका पारेर मेला लाग्छ । मेलामा आफूसँग भएका सीप–कलाको प्रदर्शन गर्ने, आफूले उत्पादन गरेका वस्तुको वस्तु विनिमय गर्ने, ठेलो फाल्ने, धनुसबाण हान्नेजस्ता खेल खेल्ने तथा गुरुङको पहिचान झल्काउने विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरिन्छ ।
ल्होसार पर्वमा विशेष कर्मकाण्ड केही हुँदैन । बिहान सबेरै उठेर नुहाई धुवाई गरी चोखो भएर कुलदेवता अर्थात पितृपूजा गरिन्छ । मिष्ठान्न भोजन बनाएर पितृलाई चढाइन्छ । घर सरसफाइदेखि ध्वजा लोंदर फेर्ने काम हुन्छ । यी कुराले पनि गुरुङको नयाँ वर्ष आएको रहेछ भन्ने देखाउँछ । दिउँसो भने आफूलाई मनपर्ने परिकार बनाएर परिवारका सदस्य, इष्टमित्र, साथीभाइ चेलीबेटीसँगै बसेर खाने गरिन्छ । खानामा विशेषतः गुरुङहरूको सेलरोटी नै हो । यसबाहेक अहिले चिसो मौसम भएकाले मौसमअनुकूल न्यानो हुने झोलिलो पदार्थ, कन्दमूल– तरुल, पिँडालु, सखरखण्ड, मासुका परिकार लगायत पौष्टिक आहार खाने चलन छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८२ पुष ११, शुक्रबार १०:०६ गते