
परेवाडाँडा(लमजुङ)– लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका– २ को आहाले चौरमा तेस्रो खुला गोरु जुधाई प्रतियोगिता सञ्चालन गरिएको छ । पुसे पन्ध्रका दिनको महत्व बढाउनका लागि सो प्रतियोगिताको स्थानीय सुन्दरबजार नगरपालिका– २ स्थित देवभूमि युवा क्लवले आयोजना गरेको हो ।
सुन्दरबजार नगरपालिका– २ का अध्यक्ष नविन कुमार श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै यो गोरु जुधाई प्रतियोगिता परेवाडाँडाको संस्कृति भएकोले हरेक बर्ष यो प्रतियोगितालाई निरन्तरता दिइने बताउनु भयो । गोरु जुधाउने विषयमा व्यक्तिहरूका फरक मत भए पनि यसलाई एउटा चाडमा रुपमा यो कार्यक्रमलाई लिन उहाँको आग्रह थियो ।
आयोजक क्लबले सोही वडाको आहाले चौरमा दुई वर्ष अघिदेखि सो क्लबले गोरु जुधाई प्रतियोगिता सञ्चालन गर्दै आएको छ । हरेक वर्ष यो प्रतियोगितामा दर्शक बढ्ने गरेका छन् । यस बर्ष पनि सो प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको आयोजकको भनाइ छ । सो प्रतियोगिताले यस वर्ष परेवाडाँडाको संस्कृति र गोरुपालक कृषकको उत्साहलाई जीवन्त बनाउन सफल भएको रुपमा लिएको गोरु जुधाउन आएका गोरु धनी किसानहरूले बताए । गोरु जुधाई हेर्न सुन्दरबजारसहित आसपासका पालिका र जिल्लाबाट आएका दर्शकको उल्लेख्य भिडले कार्यक्रम स्थल खचाखच भरिएको थियो ।
प्रतियोगितामा २१ जना कृषकले आफूले पालेका गोरुलाई भाग लिन लगाइएको थियो । अत्यन्तै रप्रतिस्पर्धात्मक र रोमाञ्चक प्रतियोगितामा सुन्दरबजार नगरपालिका– ११ का राजु दुराको गोरुले पहिलो स्थान हासिल गरेको छ । सुन्दरबजार नगरपालिका– २ का प्रकाश पन्तको गोरुले दोस्रो स्थान तथा मध्यनेपाल नगरपालिका– १ को जिताका श्याम केसीको गोरुले तेस्रो स्थान हासिल गरेको निर्णायक समितिका संयोजक रमेश राजभण्डारीले बताउनु भयो । सो प्रतियोगिताको निर्णायक समितिमा भानु– ११ का विष्णुप्रसाद सिलवाल र सुन्दरबजार नगरपालिका– ९ का श्रीराम थापा सदस्य हुनुहुन्थ्यो ।
विजेता गोरुका धनीहरूलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको क्लवका सल्लाहकार विष्णुबहादुर खड्काले बताउनु भयो । उहाँका अनुसार प्रतियोगिता सम्पन्न गर्न विभिन्न व्यक्तिहरूले सहयोग प्रदान गरेका थिए । उहाँले भन्नुभयो, ‘पहिलो पुरस्कार सुन्दरबजार नगरपालिका– २ को वडा समितिले सहयोग गरेको थियो ।’ यसैगरी, दोस्रो पुरस्कार सुन्दरबजार नगरपालिका– ७ निवासी सन्तोष अधिकारी र तेस्रो पुरस्कार सुन्दरबजार नगरपालिका– २ निवासी अर्जुन तिवारीले प्रायोजन गरेको आयोजक देवभूमि युवा क्लवका अध्यक्ष महेश परियारले जानकारी दिनु भयो । उहाँकै अध्यक्षतामा सम्पन्न भएको सो प्रतियोगिताको उदघाटन सत्रमा क्लबका उपाध्यक्ष सन्तोष विकले स्वागत तथा कार्यक्रमको सञ्चालन सल्लाहकार विष्णुबहादुर खड्काले गर्नु भएको थियो ।
सो प्रतियोगितामा लमजुङको राइनास नगरपालिकाबाट र तनहुँको भानु नगरपालिकाबाट ४/४ वटा गोरु आएका थिए । भने मध्यनेपाल नगरपालिका र बेसीशहर नगरपालिकाबाट १/१ वटा गोरु प्रतियोगितामा ल्याइएका थिए । बाँकी ११ वटा गोरु सुन्दरबजार नगरपालिकाकै विभिन्न वडाका हुन् ।
गोरु जुध्नका लागि समय निर्धारण थिएन । जतिबेला जितहार हुन्छ । त्यसरी छोडिएको आयोजकको भनाइ छ ।
चार पाँच दशक अघिसम्म पुस पन्ध्रको दिनलाई गाउँघरमा ऋण लेनदेनको विशेष दिन मानिन्थ्यो भने यस दिन घरघरमा लट्टे अर्थात चाम्रे खाने प्रचलन थियो । चाम्रे अनदीको चामललाई घिउ, खुदो, चिनी राखेर पकाइएको परिकारलाई भनिन्छ । पछिल्ला वर्षमा यी दुवै प्रचलन ओझेलमा पर्दैै गएका छन् । अहिलेका मानिस ग्यासटिक, सुगर आदिले ग्रस्त हुने हुँदा चाम्रे खाने प्रचलन घट्दै गएको पुरानापाका मानिसहरू बताउँछन् ।
प्रकाशित मिति २०८२ पुष १५, मंगलवार २०:५० गते