कालीगण्डकी करिडोर : धार्मिक पर्यटन र सांस्कृतिक घाट

कालीगण्डकी करिडोर : धार्मिक पर्यटन र सांस्कृतिक घाट

के. वि. मसाल

@antaranganews

२०८२ पुस १८ गते शुक्रबार ०८:२५

हिमनदीहरू मध्ये कालीगण्डकीको महिमा अन्य नदी भन्दा फरक रहेको छ । शालिग्राम पाइने नदीका रुपमा कालीगण्डकीको बेग्लै पहिचान बनेको छ । कालीगण्डकी गण्ड ऋषिको नामबाट नामकरण भएको हो । कतिपय नदी तिब्बतबाट शुरु भै नेपालको भूगोल हुँदै भारतको गंगामा मिसिन्छ भने कालीगण्डकी नेपालबाट शुरु भै देवघाटमा पुगि त्रिशूली नदीमा विलय हुन्छ । कालीगण्डकी बाहेक संसारमा अन्य नदीहरूमा शालिग्राम पाइँदैन । शालिग्राम भित्र पाइने जीवात्माका अवशेषमा अमोनाइट जीवावशेष हुन्छ । यो पानीमा बग्ने ब्राकियोपोड जीवात्मा हो ।

धार्मिक मान्यतामा अनुसार कालीगण्डकी देवघाटतर्फ बग्दै जादा कामधेनु गाईले बाच्छीलाई दुध खुवाउँदै गरेकोले नदी दाया परिक्रमा गर्दा घुमाउरो आकार लिन पुगेको मानिन्छ । घुमारीघाटलाई तनहुँको भूगोलमा पर्ने राम्जाकोटको उम्से डाँडाबाट हेर्दा कुम्भ भगवती लक्ष्मीको घडाको आकारमा देखिन्छ । घुमारीघाट कालीगण्डकीले बनाएका घाटहरू मध्यको अत्यन्त सुन्दर घाट मानिन्छ ।

पर्यटकहरूले हिमनदीहरूको उदगमस्थलदेखि नदीले बनाएको उपत्यका र घाटहरूको बारेमा पनि खोजमा रुचि हुन थालेको छ । पर्यटनको क्षेत्रमा यसलाई नयाँ सोचको बिकास मान्नु पर्दछ । कालीगण्डकी करिडोर निर्माण भए पछि धेरै धार्मिक पर्यटकहरू मुक्तिनाथ पुग्ने गर्दछन । धार्मिक पर्यटनका लागि मुक्तिनाथ यस्तो ठाउँ हो ! जहाँ पञ्चतत्व पाइन्छ । मुक्तिनाथमा ज्वालादेवीको मन्दिर छ । ज्वालामाईमा परापूर्वकालदेखि पानीमा ज्वाला बलिरहेको छ । अखण्ड ज्योतिसहित मुक्तिनाथ हिन्दू–बौद्ध दुवैको साझा तीर्थ हो । कागबेनी पितृश्राद्ध, तर्पण र आत्मशान्तिको प्रमुख केन्द्र हो । कालीगण्डकीमा विष्णु भगवानको साक्षात रुप मानिने अति दुर्लभ शालिग्राम पाइने हुदा पर्यटनको लागि यात्रामा छुट्टै अनुभूति हुने गर्दछ ।
मुस्ताङको लोमान्थाङ उत्तर पूर्वी नेपाल–तिब्बत सीमाको न्हुबिने हिमालको क्षेत्र कालीगण्डकीको उदगमस्थल हो । यो हिमालबाट निस्किएको पानी छौमा नामले केही दुरी दक्षिणमा बगेपछि उत्तर–पश्चिमको लोमान्थाङ क्षेत्रको न्हेचुङ खोला मिसिए पछि छौमा भन्ने खोलाको नाम हुन्छ । त्यसपछि कागवेनी नपुगुन्जेलसम्म मुस्ताङ खोलाको नाम हुन्छ । हिन्दूहरूको आस्थाको केन्द्र दामोदरकुण्डबाट बग्दै आउने खोला पनि द्ये नजिक मुस्ताङ खोलामा मिसिन्छ । मुस्ताङ खोला करिवन ६० किलोमिटर बगेर कागबेनीसम्म पुग्दछ । कागवेनीमा मुक्तिनाथको १०८ धाराको पानी स्थानीय भाषामा झोङोला अर्थात कसैले काक खोला र कृष्णा नदी पनि भन्दछन त्यो पानी कागवेनीमा मुस्ताङ खोलामा मिसिए पछि नदीको नाम कृष्णागण्डकी अथवा कालीगण्डकी भन्ने गरिन्छ । कागवेनीदेखि देवघाटसम्म कालीगण्डकीको दुरी ३३८ किलोमिटर पर्दछ । कालीगण्डकी मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, गुल्मी, स्याङजा, पाल्पा, नवलपुर र तनहुँ समेत ९ जिल्लाको बिचबाट बग्दछ । देवघाटमा कालीगण्डकी त्रिशूलीमा मिसिएपछि नदीलाई नारायणी अथवा सप्तगण्डकी भनिन्छ ।

तिनमुखे झोलुङ्गे पुल, गुल्मी :
गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा काली गण्डकी नदीमा निर्माण गरिएको तीन मुखे झोलुङ्गे पुल । उक्त पुल बनेपछि पछिल्लो समय यस क्षेत्र आन्तर

कालीगण्डकी करिडोर नदीको किनारैकिनार निर्माण भएको सडक हो । ऐतिहासिक कालखण्डमा यो मार्ग नुन–उन व्यापारको प्रमुख पदमार्ग थियो । तिब्बतबाट नुन, उन, सुन र दक्षिणबाट अन्न, कपडा, मसला यही बाटो हुँदै तिब्ततसम्म ओसार–पसार हुन्थ्यो । बाइसे–चौबीसे राज्यकालदेखि शाहकालसम्म यो मार्ग सामरिक र आर्थिक दृष्टिले अत्यन्त महत्वपूर्ण थियो । आजको सन्दर्भमा कालीगण्डकी करिडोर उत्तर–दक्षिण चीन– भारत जोडने सम्भावित वैकल्पिक नाका र धार्मिक पर्यटनको मेरुदण्ड भएको छ । करिडोरले सुस्ता–दुम्कीवास र राम्दी–रानीघाट समेत निर्माण कार्य सम्पन्न भयो भने त्रिवेणीदेखि कोरला सम्म सहज यात्रा गर्न सकिन्छ । करिडोरसँग जोडिएका तीर्थस्थल अर्थात सांस्कृतिक घाटहरूले तीर्थाटन पर्यटकहरूका लागि सहज भएको छ । कालीगण्डकीसँग संस्कार र परम्परा जन्मदेखि मृत्युसम्मका संस्कारहरू गाँसिएका छन । मृत्युपछि अस्तु विसर्जन, पिण्डदान, तर्पण कालीगण्डकी नदीमा गरिनु मोक्षदायी मानिन्छ । नदीको घाट–घाटमा रहेका श्मशान, देवालय, मठ–मन्दिर सभ्यताको निरन्तरताका प्रतीक हुन ।
कालीगण्डकीलाई शिव–विष्णुको साक्षात प्रवाह मान्ने जनविश्वास रहेको छ । धार्मिक मान्यताअनुसार शालग्राम पाइने भएकाले कालीगण्डकीलाई पवित्र नदी मानिन्छ  । त्यसमा पनि नदी किनारमा ऋषि पुलह, पुलत्स, कपिल र जडभरतले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता रहेकोले कालीगण्डकीको महत्व छुट्टै छ । शालिग्राम उत्पत्तिसम्बन्धी पुराणकथा, मुक्तिनाथको अग्नि–जल–वायु तत्वको समन्वय यी सबैले नदी किनारका घाटलाई दार्शनिक बनाएका छन । त्यसैले कालीगण्डकी आध्यात्मिक करिडोर सडक मात्र होइन, सभ्यताको मेरुदण्ड पनि हो । करिडोर धार्मिक, सांस्कृतिक, आध्यात्मिक र साहसिक पर्यटनको जीवित संग्रहालय हो । हिमनदीहरू मध्ये कालीगण्डकीको महिमा अन्य नदी भन्दा फरक रहेको छ । शालिग्राम पाइने नदीका रुपमा कालीगण्डकीको बेग्लै पहिचान बनेको छ । कालीगण्डकी गण्ड ऋषिको नामबाट नामकरण भएको हो । कतिपय नदी तिब्बतबाट शुरु भै नेपालको भूगोल हुँदै भारतको गंगामा मिसिन्छ भने कालीगण्डकी नेपालबाट शुरु भै देवघाटमा पुगि त्रिशूली नदीमा विलय हुन्छ । कालीगण्डकी बाहेक संसारमा अन्य नदीहरूमा शालिग्राम पाइँदैन । शालिग्राम भित्र पाइने जीवात्माका अवशेषमा अमोनाइट जीवावशेष हुन्छ । यो पानीमा बग्ने ब्राकियोपोड जीवात्मा हो । शालिग्रामको भित्रि भागमा सुनलगायतको धातु र भगवान् विष्णुको हतियार अर्थात सुदर्शन चक्रको आकार बनेको हुन्छ । चार रंगमा पाइने शालिग्राम कालो रंगको महत्वपूर्ण मानिन्छ ।
करिडोरको रिडीमा ऋषिकेश मन्दिर अर्थात रुरु क्षेत्र साधु–सन्तहरूको तपोभूमि मानिन्छ । गलेश्वर, मोदीवेणी, सेतीवेणी, रुद्रवेनी, रिडी, राम्दी, देवघाट र त्रिवेणी संस्कृतिको विकास केन्द्र हुन भन्दा पनि हुन्छ । यी तीर्थस्थलहरूले कालीगण्डकीलाई मोक्ष, पितृउद्धार र आत्मशुद्धिको नदी बनाएका छन । करिडोरका सांस्कृतिक घाट मानव सभ्यताको संस्कार, जीवनशैली र संस्कृतिको क्षेत्र हो । करिडोरमा पर्यटनका लागि ऐतिहासिक मठ मन्दिर, स्नानको लागि घाट र धार्मिक, सांस्कृतिक पर्यटकीय महत्व रहेका एक सय ४८ वटा घाटहरु पर्दछन । विशेषगरी सांस्कृतिक घाटहरु नेपाली सभ्यता, धर्म र सामाजिक जीवनका अत्यन्त महत्वपूर्ण आधार हुन । कालीगण्डकी किनारका धार्मिक–आध्यात्मिक महत्वका घाटहरूलाई पवित्र तीर्थ स्थल मानिन्छ । घाटमा स्नान गर्दा पाप क्षय हुन्छ र आत्मा शुद्ध हुन्छ भन्ने विश्वास छ । कालीगण्डकीमा पाइने शालिग्राम शिलाले नदीलाई शक्तिको प्रतीक र घाटलाई धार्मिक सांस्कृतिक केन्द्र बनाएको छ । सांस्कृतिक घाटमा पूजाआजा, श्राद्ध, तर्पण पिण्डदान, अस्तु विसर्जन जस्ता संस्कार हुन्छन । जीवन–मृत्यु संस्कारको केन्द्र घाट जीवनचक्रका अन्तिम संस्कार सम्पन्न हुने स्थान पनि हो ।
कालीगण्डकी किनारका घाटहरूमा पुस्तौंदेखि चल्दै आएका सांस्कृतिक मेला, पर्व, धार्मिक यात्रा, सामूहिक स्नानजस्ता गतिविधिले सामुदायिक संस्कार जोगाइ राखेको छ । घाटहरू मौखिक इतिहास, लोककथा र स्थानीय आस्थाका जीवित संग्रहालय जस्तै हुन । ऐतिहासिक र सभ्यतागत महत्व प्राचीन बस्तीहरु प्रायः कालीगण्डकी किनारमै विकसित भएका हुन । घाट वरपर पुराना मठ–मन्दिर, शिलालेख, चौतारा, धर्मशालाले इतिहासको साक्षी बनेका छन । पर्यटनका लागि कालीगण्डकी तटीय क्षेत्रमा रहेका तीर्थाटनका घाटहरू सबैका आफ्नो इतिहास र महत्व रहेको छ । तर पनि देवघाट, रिडी, सेतीवेनी, गलेश्वर र मुक्तिनाथको महत्व भने भिन्न रहेको छ । तीर्थाटनका पर्यटकहरू अन्य घाटमा भन्दा यी ठाउमा धेरै पुग्दछन । गुल्मी, पाल्पा र स्याङजा जिल्लाको संगम स्थल रिडी अर्थात रुरु क्षेत्र नेपालको चार धाम मध्येको एक र नेपालको बनारस भनेर चिनिन्छ । रिडीमा रिडी खोला र कालीगण्डकी मिसिएको छ । कालीगण्डकी र रिडी खोलाको दोभान नै रिडी अर्थात रुरु क्षेत्र हो । रुरु क्षेत्र पर्यटनको लागि धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वको धरोहर मानिन्छ । रिडीमा ऋषिकेशको मन्दिर र अन्य देवी देवताका मठमन्दिर र मूर्तिहरू पनि छन् तर सबै मन्दिर मध्ये ऋषिकेशको मूर्ति सबैभन्दा महत्वपूर्ण मानिन्छ । संसारमै एउटै कालो शालिग्रामले बनेको मूर्ति ऋषिकेश मन्दिरको मूर्तिमात्र हो । रिडीमा नेपालकै नमुनाको रुपमा तीनमुखे झुलुङे पुल बनेको छ । तीर्थाटन पर्यटकहरूलाई रुरुमा पुगेको बेला पुलबाट यात्रा गरी तीन जिल्लामा पुग्ने थप सुबिधा भएको छ ।
कालीगण्डकी करिडोर गैँडाकोटदेखि उपल्लो मुस्ताङको नेपाल–तिब्बत सिमा कोरला नाकासंग करिब चार सय ३५ कि.मि.पर्दछ । गैँडाकोटबाट पाल्पाको राम्दीसम्म १ सय ३२ किलोमिटर करिडोरको सडक निर्माण सम्पन्न भएको छ । पाल्पाको राम्दीदेखि रानीघाट सम्मको १७ कि.मी.सडकमा दैलातुङ्ख दर्पुक सडक क्षेत्रको मन्द्रान शिखरडाँडा र मझेटाको सडकमा स्तरोन्नतिको काम भैरहेको छ । करिडोर पूर्वी नवलपरासी खण्ड ८०, पाल्पा खण्ड ८५, गुल्मी खण्ड ४४, बाग्लुङ खण्ड ३६ म्याग्दीको बेनीदेखि जोमसोम सम्म ८२ र जोमसोमदेखि कोरला नाकासम्म १ सय ५ किलोमिटर पर्दछ । नेपाल–तिब्बत सिमाबाट तिब्बततर्फ प्रवेश गरेपछि फराकिलो उच्च पठार सुरु हुन्छ । कोरला नाका पार गरेपछि तिब्बततर्फ पर्ने नजिककोे बजार पुराङ हो  । कोरला नाकादेखि पुराङ बजारको दूरी करिब २५ किलोमिटर पर्दछ छ । कोरला नाकाबाट दुई सय ५७ कि.मि.पार गरेपछि तिब्बतको कैलाश मानसरोवर पुग्न सकिन्छ । रानीघाटदेखि रिडी, रुद्रवेनी हँुदै गुल्मीको पूर्तिघाट, ज्यामिरेघाट भएर बाग्लुङको जैमिनी र बलेवा हुदै करिडोर बाग्लुङ–पर्वत जोडने मालढुङ्गाको पुलमा जोडिन्छ । त्यसपछि करिडोरको सडक म्याग्दी हुदै गलेश्वर, तातोपानी, दाना, लेते हुदै जोमसोम र कागवेनी भएर उपल्लो मुस्ताङको लोमान्थाङ हुदै कोरोला नाका जोडिन्छ । आजभोली मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ सडक पनि जोडिएको छ । मुस्ताङको वारागुङ पाक्लिङदेखि साङ्ता हुँदै डोल्पा जोडने सडक निर्माणले अब पर्यटकहरू लोमान्थाङ जादा डोल्पाको छार्का समेत पुग्न सक्दछन ।
करिडोर अर्थात देवघाटदेखि कोरला नाकासम्म घुम्ने ठाउँ धेरै छन । करिडोरको नदी किनारमा मात्र नभएर पर्यटनका लागि कालीगण्डकी दाया बाया रहेका जिल्लाहरूमा ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व भएका धेरै ठाउँहरू पर्दछन । करिडोर घुम्न र तीर्थाटन गर्नको लागि पर्यटकहरूले प्याकेज कार्यक्रम बनाउँदा राम्रो हुन्छ । करिडोरमा कुन ठाउँबाट प्रवेश गर्ने ? कुन– कुन घाटमा अथवा धार्मिक र पुरातात्विक महत्व भएको ठाउँमा पुग्ने ? अथवा देवघाट देखिनै कोरला नाकासम्म एकै पटक पुग्ने ? आफ्नो स्वास्थ्य, यात्राको समय र आवश्यक खर्चको जोहो गरेपछि घुम्न निस्कदा राम्रो हुन्छ । यात्रामा बलेरो अथवा स्कारपियो गाडी भयो भने करिडोरको यात्रा सजिलो मात्र होइन समयको समेत बचत हुन्छ । देवघाटदेखि कोरोला नाका सम्म एकै चोटी घुम्नको लागि समय नहुने पर्यटकहरूले करिडोरलाई आफ्नो अनुकुल अनुसार खण्ड–खण्डमा बिभाजन गरेर पनि घुम्न सकिन्छ । करिडोरलाई देवघाट, कालीगण्डकी उपत्यका, रिडी खण्ड, पर्वत, बाग्लुङ र म्याग्दीको खण्ड, त्यसपछि जोमसोम, मुक्तिनाथ र उपल्लो मुस्ताङ अर्थात कोरोला नाकासम्मको यात्राको तय गर्न सकिन्छ ।
करिडोरमा यात्रा गर्दा पर्यटकहरूले सयौं खोलानाला पार गर्नु पर्दछ । कतिपय कालीगण्डकीमा मिसिन आउने खोलामा तीर्थका लागि घाटहरू पर्दछन । मुस्ताङदेखि तलको यात्रामा जोमसोम, लेते पार गरेपछि अन्धगल्छी, रुपसे झरना हुँदै गलेश्वरमा राहुघाट खोला, बेनीमा म्याग्दी खोला, मालढुङगा नजिकै काठेखोला, कुश्मामा मोदी खोला, गुल्मी र बाग्लुङको सीमा बनेको पालुङखोला, जैमिनी घाटमा ठेउले खोला, गुल्मीको पूर्तिघाटमा पातीखोला स्याङजा, गुल्मी र पर्वतको सगममा रहेको सेतीवेणीमा मिसिने सेतीखोला हुदै मिर्मीमा आँधीखोला कालीगण्डकीमा मिसिन्छ । मीर्मीबाट कालीगण्डकी पश्चिमतर्फ मोडिन्छ । रिडिमा पुग्दासम्म रुद्रबेनीमा बडीगाड र रिडीमा रिडी खोला मिसिन्छ । रिडीमा पुगेको कालीगण्डकी त्यहाँबाट फेरी पूर्व मोडिन्छ र रानीघाट हुदै कालीगण्डकी राम्दीघाटबाट दक्षिण लागेपछि स्याङजा चापाकोटमा ज्याग्दी खोला, स्याङजा–तनहुँको सिमामा डुभ्रीबेसी खोला र नवलपुर–पाल्पाको सिमामा निस्ती खोला पनि कालीगण्डकीमा मिसिन्छ ।
करिडोरमा पाल्पा र स्याङजाको सीमामा पर्ने राम्दीघाट तीर्थाटन पर्यटकहरूका लागि महत्वपूर्ण मानिन्छ । राम्दीघाटमा अगाहखोला र गुरुवाखोला कालीगण्डकीमा मिसिएर त्रिवेणी बनेको छ । राम्दीघाटमा ऐतिहासिक, प्राचिन सिद्ध गुफा, शिवालय, राधाकृष्णको मन्दिरमा समेत पर्यटकहरूले तीर्थाटन र अवलोकन गर्न सक्दछन । राम्दीघाट नजिक महालिङ्ग धाममा कालीगण्डकी तीन किलो मिटर उत्तरतर्फ फर्केर बगेको छ । उत्तरवाहिनी धार्मिक दृष्टिकोणले निकै दुर्लभ र महत्वपूर्ण मानिन्छ । राम्दी भन्दा तल कालीगण्डकी उपत्यका पर्दछ । पाल्पा, नवलपुर, तनहुँ र स्याङ्जाको भूगोलमा बिचमा बग्ने कालीगण्डकीले उपत्यकालाई सुन्दर बनाएको छ । कालीगण्डकी उपत्यका लुम्विनी र गण्डकी प्रदेशको सिमा पनि पर्दछ । उपत्यकामा मनोरम प्राकृतिक सौन्दर्यले सजिएका पहाडी श्रृखलाका सुन्दर गाउँहरू पनि यात्राको क्रममा पर्यटकहरूले देख्न सक्दछन । उपत्यका भित्रको लेक, बेसीका तरेली परेका डाँडाकाँडाको मनमोहक दृष्य, स्याङ्जा, पाल्पा तनहुँ र नवलपुरमा कालीगण्डकीले बनाएको उपत्यका बिचमा नागवेली सुन्दरताको आकारमा बगेको कालीगण्डकी र सास्कृतिक घाटहरुले पर्यटकहरूलाई लोभ्याउछ । उपत्यका भित्र रहने बिभिन्न जातजाति विविध कला, सस्कृति, रीतिरिवाज, परम्परा, भेषभुषाले यात्रामा छुट्टै आनन्द पनि दिन्छ ।
उपत्यका वरपरका पहाडमा ऐतिहासिक कोट, गढी, किल्ला दरवार र ऋषिमुनीहरूका बिभिन्न घाटमा रहेको तपोभूमीले पर्यटकहरूलाई थप अध्यनको विषय बन्दछ । कालीगण्डकी उपत्यकाका दर्जनौं घाट तीर्थाटनको लागि पवित्र मानिन्छ । अर्सदीघाट, हुँगीघाट, माझीगाउँ, रत्नपुरको खोरियाघाट, रामपुरको गौरीघाट, तातोपानीघाट, ज्याग्दीघाट, रामघाट, केलादीधाम, पुट्टारघाट, हडाहाघाट, अत्रौलीघाट, खर्सराघाट, घुमरीघाट, कोटथर, लगाएतका तीर्थाटन घाटको छुट्टा– छुट्टै महत्व रहेको छ । यी सबै घाटहरूको तीर्थाटन र अध्ययन अवलोकन पर्यटकहरूले गर्न सक्दछन । कालीगण्डकीको घाट मध्ये स्याङजा, पाल्पा र तनहुँको सिमामा पर्ने केलादीघाटको महत्व भिन्न छ । हिन्दु सम्प्रदायहरुमा बैष्णव धर्म, कृष्ण प्रणामी, जैन, शिख आदि सवै पर्दछ । सम्प्रदायको विकास क्रममा धर्मगुरुहरूको आ–आफ्नै व्याख्या र परिभाषाका कारणले कतिपय हिन्दु धर्म भित्रका सम्प्रदायहरुमा संस्कारसमेत फरक छ । केलादीघाटमा वैष्णव धर्मको राधाकृष्ण मन्दिर, शिव मन्दिर र लक्ष्मीनारायण मन्दिर रहेका छन् । प्राचिन कालदेखि राधाकृष्ण मन्दिरमा अखण्ड भजन कृतन चलिरहन्छ । केलादीघाटलाई नेपाल निम्बर्क पीठको जन्मथलोको रुपमा लिने गरिन्छ ।
कालीगण्डकी किनारका सांस्कृतिक घाटहरू इतिहास, जीवन– मृत्यु दर्शन, सामाजिक सम्बन्ध र सांस्कृतिक निरन्तरताका जीवित प्रतीक हुन । घाटहरूमा घुमारीघाट फरक पहिचान र महत्व रहेको छ । हेर्दानै अचम्म लाग्ने घुमारीघाट नवलपुरको बुलीङटार र तनहुँको घिरिङ गाउँपालिकाको सिमानामा पर्दछ । कालीगण्डकीले निर्माण गरेको घुमारीघाट पर्यटनको लागि आकर्षक मानिन्छ । धार्मिक मान्यतामा अनुसार कालीगण्डकी देवघाटतर्फ बग्दै जादा कामधेनु गाईले बाच्छीलाई दुध खुवाउँदै गरेकोले नदी दाया परिक्रमा गर्दा घुमाउरो आकार लिन पुगेको मानिन्छ । घुमारीघाटलाई तनहुँको भूगोलमा पर्ने राम्जाकोटको उम्से डाँडाबाट हेर्दा कुम्भ भगवती लक्ष्मीको घडाको आकारमा देखिन्छ । घुमारीघाट कालीगण्डकीले बनाएका घाटहरू मध्यको अत्यन्त सुन्दर घाट मानिन्छ । घुमारीघाटलाई कालीगण्डकीले करिव पाचँसय रोपनी क्षेत्रफलको जमिनलाई शंख आकारमा घेरा दिएको छ । कुम्भ आकारको घुमारीघाटमा बुलिङटार गाउँपालिको भू– भागबाट प्रवेश गर्न सकिन्छ । यो कुम्भ आकारको घुमारीघाटमा प्रवेश गर्ने मार्गमा करिव ५ मिटर मात्र नदीले जमिन छाडेको छ । कुम्भको मुखमा मूर्ति रहित कामधेनु मन्दिर पनि छ । जहाँ मूर्तिको रुपमा चट्टानमा देखिने गाई र बाच्छीको खुरको डोवमा पूजा गरिन्छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८२ पुष १८, शुक्रबार ०८:२५ गते
हजुरको प्रतिक्रिया