एक महिने श्री स्वस्थानीको ब्रत कथा आजदेखि सुरु

एक महिने श्री स्वस्थानीको ब्रत कथा आजदेखि सुरु

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ पुस १९ गते शनिवार ०५:१६

माघ शुक्ल पूर्णिमाका दिन १०८ रोटी, १०८ अक्षता, १०८ यज्ञसूत्र, १०८ बेलीपुष्प, १०८ पान, १०८ कुड्का सुपारी, जौ, तिल, फलफूललगायत १०८ सगुनसहित नाना उपचार तयार गरिन्छ । आर्शीमा ॐकार लेखी गङ्गाजलले स्नान गराई श्रीखण्ड, रक्तचन्दन, अबिर, पुष्पमाला चढाई धूप–दीप, नैवेद्य, वस्त्र र भेटी अर्पण गरिन्छ ।

स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो ।

काठमाडौं– पुसको शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत र कथा वाचन सुरु भएको छ । नेपाली हिन्दू धर्मावलम्बी खासगरी महिलाहरूले एक महिना स्वस्थानी व्रत र माघ स्नान गर्छन् । पौष शुक्ल पूर्णिमाको अघिल्लो दिनै हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यस ब्रतको आज पुस ९ गतेदेखि यो वर्ष सुरु भएको हो ।
बेलुकी ‘स्कन्द पुराण’को केदार खण्ड अन्तर्गत माघ महात्म्यको कुमार अगस्त्यबीच संवाद भएको ‘स्वस्थानी व्रत कथा’ घर घरमा सुन्ने र सुनाउने गरी स्वस्थानीको प्रसाद र नैवेद्य ग्रहण गरिन्छ । यो ब्रत लिनेहरूले बिहान माघ स्नान गरी मध्याहृनकालमा महादेवको पूजा गरिन्छ ।
सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी र चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । स्वस्थानीका चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी व्रतकथामा उल्लेख गरिएको छ ।
व्रत अवधिभर दीप, कलश, गणेश, शिव र श्रीस्वस्थानी माताको पूजा गरिन्छ । वैदिक मन्त्रोच्चारणसहित पूजा गर्दा मन, वचन र कर्मले जानी–नजानी गरिएका पाप नाश भई आत्मा शुद्ध हुने विश्वास छ । व्रतालुहरूले यस लोकमा सुख, शान्ति र समृद्धि तथा मृत्युपछि स्वर्ग प्राप्तिको कामनासमेत गर्ने परम्परा रहेको पाइन्छ ।
यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । श्रीस्वस्थानी व्रत सर्वप्रथम पार्वतीले श्रीमहादेवलाई पति रूपमा प्राप्त गर्न लिएको मानिन्छ । व्रतको प्रभावले उनको मनोकामना पूरा भएपछि पार्वतीले अश्वस्थामा सप्तऋषिलाई बोलाई पाताल लोकमा दुःखीहरूलाई पनि विधिपूर्वक श्रीस्वस्थानी व्रत कथा गर्न आज्ञा दिएको कथन पाइन्छ ।
रोगव्याधि लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाउँ, भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नागनागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ ।
गोपिनी तथा गोमा ब्रह्माणीले श्रीस्वस्थानी व्रत लिएको प्रसंग आउँछ । महादेवको श्रापपछि गोमाको सत्तरी वर्षका शिवशर्मा ब्राह्मणसँग विवाह भएको, शिवशर्माको निधनपछि छोरा नवराज बाबुको खोजीमा हिँडेको र लामो समयपछि नफर्किएपछि गोमाले व्रत लिँदा व्रत सकिएको दिन नवराज घर फर्किएको कथा वर्णन गरिएको छ । पछि नवराज लावण्य देशका राजा बनेको उल्लेख पाइन्छ ।
त्यस्तै, गोमा ब्राहृमणीले सप्तर्षिले सिकाएको व्रतविधि अनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथा समेत स्वस्थानीमा वर्णन गरिएको छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो ।
लावण्य देशकी रानी चन्द्रवतीसँग सम्बन्धित कथामा पनि श्रीस्वस्थानी व्रतको प्रभावले पुनः स्वास्थ्य लाभ भई रानी बनेको प्रसंग उल्लेख छ ।
उत्तरायणपछिको समय ध्यान, योग र साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्मको समय राम्रो मानिन्छ ।
यस अवसरमा आजैदेखि एक महिनासम्म काठमाडौँ उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालीनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्छ ।
व्रत सुरु गर्ने विधि ः
शास्त्रीय विधानअनुसार श्रीस्वस्थानी व्रत सुरु गर्नुभन्दा एक दिनअघि हात–खुट्टाका नङ काटी, शरीर शुद्ध गरी एक छाक मात्र भोजन गर्नुपर्दछ । पौष शुक्ल पूर्णिमाका दिन बिहान सबेरै उठी पवित्र नदी, खोला, तलाउ वा घरमै स्नान गरी शुद्ध वस्त्र धारण गरिन्छ ।
पूजा स्थल सफा गरी तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवा वा माटोले शिवलिङ्ग स्थापना गरिन्छ । तिल, जौ, कुश, अक्षता, बेलपत्र, जनै, सुपारी, पान, धूप, दीप, फलफूल र नैवेद्यको व्यवस्था गरिन्छ । त्यसपछि ‘आजदेखि म एक महिनासम्म श्रीस्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्दछु’ भनी दृढ सङ्कल्प गरी व्रत सुरु गरिन्छ ।
व्रत अवधिभर प्रत्येक दिन सूर्य उदय हुनुअघि स्नान गरी नित्यकर्म गर्नुपर्ने मान्यता छ । बिहान पूजा, मध्यान्हपछि कथा श्रवण र साँझ पुनः ध्यान गर्ने परम्परा रहिआएको छ । व्रत बस्नेले झगडा नगर्ने, दुर्वचन नबोल्ने, नकारात्मक सोच नराख्ने र असत्य मार्गबाट टाढा रहने प्रयास गर्नुपर्दछ ।
व्रतको क्रममा मासिक धर्म (रजस्वला) भएमा शास्त्रीय नियमअनुसार पाँच दिनसम्म पूजा स्थगित गरी शुद्ध भएपछि पुनः पूजा सुरु गर्नुपर्ने व्यवस्था छ, जसलाई धार्मिक शुद्धता र अनुशासनको प्रतीक मानिन्छ ।
समापन विधि र विशेष पूजा ः
माघ शुक्ल पूर्णिमाका दिन १०८ रोटी, १०८ अक्षता, १०८ यज्ञसूत्र, १०८ बेलीपुष्प, १०८ पान, १०८ कुड्का सुपारी, जौ, तिल, फलफूललगायत १०८ सगुनसहित नाना उपचार तयार गरिन्छ । आर्शीमा ॐकार लेखी गङ्गाजलले स्नान गराई श्रीखण्ड, रक्तचन्दन, अबिर, पुष्पमाला चढाई धूप–दीप, नैवेद्य, वस्त्र र भेटी अर्पण गरिन्छ ।
पूजा सम्पन्न भएपछि अर्घ र प्रसाद निकालेर अष्टोत्तर विधिअनुसार सयमा आठ रोटी, आठ अक्षता, आठ पुष्प, आठ पान र आठ कुड्का सुपारी सगुनसहित पतिलाई दिने, पति नभए छोरालाई, छोरो पनि नभए मित छोरालाई दिने चलन छ । ती पनि नभए आफूले जुन मनोकामनाले व्रत गरेको हो, त्यो पूरा होस् भनी खोलामा बगाइदिने शास्त्रीय विधान छ । सय रोटी व्रतालुले फलाहार गर्ने र राति जाग्राम बस्नुपर्ने उल्लेख शास्त्रमा गरिएको छ ।

प्रकाशित मिति २०८२ पुष १९, शनिबार १७:१६ गते
हजुरको प्रतिक्रिया