
सिउँडीबार(लमजुङ)– लमजुङमा धितोपत्र बजार बारे वित्तीय साक्षरताका एकै दिन दुई कार्यक्रम गरिएको छ । नेवा खलःको सभाकक्ष सुन्दरबजार र यहाँ स्थित समुता तमु आमा– बाबा भवनमा पुस १९ गते सो कार्यक्रम गरिएको हो ।
ब्रोकर कम्पनी रोड्सोका सिओ विष्णु सापकोटाले दुवै ठाउँमा धितोबजारको बारेमा कानुनी नीतिगत प्रवन्ध, सैद्धान्तिक, व्यवहारिक र प्राविधिक पाटोमा प्रकाश पार्नु भएको थियो । उहाँले उदाहरण सहित अधिकृत पूँजी, चुक्ता पूँजी र जारी पूँजीका बारेमा जानकारी दिनुभएको थियो । त्यस्तै, धितोपत्र हरेक ३÷३ दिनमा किनबेच गर्न पाइने उल्लेख गर्नु भयो । उहाँले नेपालमा ब्रोकर कम्पनीहरू ९२ रहेकोमध्ये आफ्नो एक हो, म यो कम्पनीको सेयर धनी समेत भएको हुँदा यहाँहरूले खोजेको बेलामा सहजै उपलब्ध हुन्छु भन्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उहाँले आफ्नो भ्रमणको उद्देश्य बजार अध्ययन गर्नुसमेत रहेको जानकारी दिनुभयो ।
उक्त कार्यक्रमको सुन्दरबजारमा स्थानीय सहारा बहुउद्देश्यीय सहकारी संस्था लि.का प्रवन्धक माधव तिमिल्सिना र सिउँडीबारमा सामाजिक व्यक्तित्व रामबाबु अधिकारीले कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो ।
सुन्दरबजारमा प्रवन्धक तिमिल्सिनाले कार्यक्रमको संयोजनको अवसर पाएकोमा खुशी व्यक्त गर्दै धितो बजारका लागि एक ब्रोकर कार्यालयको शाखा सञ्चालन जरुरी रहेको उदाहरण सहित प्रष्ट्याउनु भएको थियो ।
यसैगरी रामबाबु अधिकारीले कार्यक्रमको उद्देश्यमा समेत प्रकाश पार्नु हुँदै बजारको सम्भावनको अध्ययन गर्न रोड्सोका सिओसमेतको टोली यहाँ आएको जानकारी दिनुभयो । उहाँले यस क्षेत्रको आर्थिक स्थितिलाई चलायमान बनाउन थोरै भने पनि यो कार्यक्रमले सहयोग गर्न सक्छ भन्ने विश्वासले यो कार्य अघिबढाएको उहाँले जानकारी दिनुभएको थियो ।
कार्यक्रममा ब्रोकर कम्पनीका जनसम्पर्क अधिकृत सुजाता बलामीले सेयर के हो ? यसबाट के कसरी मुनाफा आर्गन गर्न सकिन्छ, त्यसको बजारीकरणका बारेमा दुवै स्थानमा प्रकाश पार्नु भएको थियो ।
सुन्दरबजारको कार्यक्रममा भक्ति नमूना माविका निवर्तमान प्रधानाध्यपक ज्ञय घिमिरे, लउवासंघको स्थानीय इकाईका अध्यक्ष आनन्द घिमिरे, स्थानीय बुद्धिजीवी राजेन्द्र श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राख्दै यो क्षेत्रमा सेयर लिनेहरूले लिएर बसेका छन् तर त्यसबाट मुनाफा आर्जन गर्न जानेको अवस्था छैन त्यसैले पनि सहजीकरण गर्ने संस्थाको खाँचो छ भन्नुभयो ।
सिउँडीबारमा सञ्चालन भएको उक्त कार्यक्रममा वरिष्ठ पत्रकार नवराज पहाडीले लमजुङमा हाइड्रो कम्पनीहरूले आफ्नो हैकम जमाउन थालेपछि यहाँका मानिसले जानेर वा नजानेर सेयर किनेका छन्, प्रायः सबै परिवारबाट कुनै न कुनै कम्पनीको सेयर किनेका छन् तर त्यसबाट अघि बढ्ने कसरी भन्ने मेसो छैन, त्यसमा गरेको लगानी निस्क्रिय रहेको अवस्था छ त्यसलाई चलायमान बनाउनका लागि यस क्षेत्रमा पनि ब्रोकरको एक कार्यालयको खाचो छ, बेसीशहरमा रहेको कार्यालयले मात्र सेवा दिन सकेको स्थिति देखिदैन भन्नुभयो ।
सो अवसरमा विभिन्न जिज्ञासासहित आआफ्नो धारणा राख्नु हुनेहंरूमा भक्ति नमूना माविका पूर्वप्रधानाध्यावक उत्तम श्रेष्ठ, सो वडाका वडासदस्य खुशबहादुर गुरुङ, सोही माविका निवृत्त शिक्षक द्वय रामहरि न्यौपाने र बसन्तराज खनाल, समाजिक व्यक्तित्वहरू देवेन्द्र श्रेष्ठ, अर्का खुशबहादुरगुरुङ, बीरसिंह घले लगायत हुनुहुन्थ्यो । उहाँहरू सबैले ब्रोकरको शाखा कार्यलय सहजै सञ्चालन हुने स्थिति छ भन्दै सिघ्र खोल्नका लागि माग गर्नु भएको थियो ।
साधारण र अग्राधिकारका दुई सेयर हुने जानकारी दिदै सो अवसरमा सरकार तथा कम्पनीहरूले आफूलाई आवश्यक पर्ने पूँजी संकलनका लागि जारी गर्ने वित्तीय औजार धितोपत्र भएको जानकारी दिदै सरकार तथा कम्पनीहरूले जारी वा विक्रि गर्ने सेयर डिभेञ्चर, बोण्ड र सामुहिक लागनीको हुने कोषका वित्तीय औजार धितोपत्रका उदाहरण हुन् सो कम्पनीका अर्का सहजकर्ता ममता चन्दले बताउनु भएको थियो ।
उक्त कार्यक्रममा गोरखकाली रबर उद्योगका साथै लमजुङको सबैभन्दा पुरानो हाइड्रो कम्पनीले लेड्कोले ५०– ५१ सालमै सेयर सदस्यहरूसँग ५० हजारका दरले उठाएर आजका दिनसम्म पनि लिड्को लगाइरहेको छ । सेयर सदस्यहरू विलखबन्दमा छन् भन्ने समेत प्रश्न उठाइएको थियो । उक्त कार्यक्रमको संयोजन सहारा बहुउद्देश्यीय सहकारी संस्था लि. सुन्दरबजारले गरेको थियो ।
प्रकाशित मिति २०८२ पुष १९, शनिबार १९:०६ गते