मुकुल ढकाल र तोसिमा कार्कीको भनाइले ल्याएको तरङ्ग

मुकुल ढकाल र तोसिमा कार्कीको भनाइले ल्याएको तरङ्ग

दामोदर पौडेल

@antaranganews

२०८२ पुस २५ गते शुक्रबार १०:४०

पार्टी बिर्गानलाई एक जना पनि काफी हुन्छ, आलुको बोरामा एउट कुहेको आलु भएपछि बोरा नै गन्हाए जस्तो । अबका दिनमा उमेद्वारहरूको छनौटमा ध्यान दिनै पर्छ । तालमा बाहिर हावा आएमा माथिको केही मात्र पानी हल्लिन्छ र तलको ९९ प्रतिसत भन्दा ज्यादा पानी हल्लिएको हुंदैन । तर बाहिर देख्नेको लागि पुरै ताल हल्लिरहेको हुन्छ । नुसान्स् भ्यालु भनिने जस्तै केही गलत पक्ष बाहिर आउंछन् र राम्रा पक्षको अगाडी अपवादका गलत पक्षहरू निर्णायक पनि बन्न पुग्छन् । त्यसैले नुसान्स् भ्यालुलाई ध्यान दिएर उचित एक्स्पोजर पनि आवश्यक छ ।

मैले १५ बर्षको उमेरदेखि नै बन्दुक बोकेको हुं । गोली चलाएको हुं । मानिसहरू मारेको हुं । बैंक लुटेको हुं । टावर, ऐतिहासिक धरोहरहरू, पुलहरू, विद्यालयहरू उडाएको हुं भनेर गफ लगाउनेहरू पनि छन् । त्यो गरेर जनताले के पायो ? जनतालाई पिडा थप्न र सन्तानलाई बिदेश पठाउन, भ्रष्टचारमा रमाउन, देशलाई विदेशीहरूको रणभूमि र चलखेल स्थल बनाउन नै ती कम गरिएको थियो ?

कुनै समयमा रास्वपाको महामन्त्री रही सकेका मुकुल ढकालले यो पटक राप्रपालाई मत दिन पर्ने धारणा राखेको संचार माध्यममा आयो । तोसिमा कार्कीको भनाइ भन्दै उनले पनि रास्वपाका ९० प्रतिसत नेता कार्यकर्तामा राजसंस्थाप्रति सकारात्मकता रहेको उल्लेख गरेको पनि जानकारी आएको छ । सबै भनाइहरूमा सत्यता नहुने र यस्तो कार्य एआइको प्रयोग गरेर देखाइने गरेको भन्ने आवाज पनि सुनिने गरेको छ । एआईको आतंक देखिने गरेको पनि छ । तर अहिले हेर्दा नेपालीहरूको सामान्य मनमस्तिस्कले पनि नेता राम्रा भइ दिए र राजा आएर संघीयता हटे र हिन्दुराज्य भएको अवस्थामा देशमा शान्ति अमन चयन आउने छ भन्ने सोच्न थालेको छ भन्ने लाग्न थालेको छ । जनतामा पिडा हुने छैन । भ्रष्टाचारमा देश डुब्ने र नेताहरू मोटाउने थिएनन् भन्ने आशा रहेकै छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिंग्देन, ज्ञानबहादुर शाही, रविन्द्र मिश्र समेतका केही नेताहरू इमान्दारी र क्षमताको आधारमा उपयुक्त देखिएका छन् ।
यी दुई भनाइहरूको आधिकारिकता होस् नहोस्, त्यो अलग पाटो हो तर नेपाली जनता बर्तमान अस्तव्यस्ताबाट वाक्क भएका छन् भन्ने तथ्य सत्य हो । रास्वपाका अध्यक्ष रवि लामिछाने केही समय गृहमन्त्रीमा रहंदा सिमानाबाट अवैध किसिमले आउने सामान रोकिएका थिए । राजश्व बढेको थियो । प्रहरीमा अनुसाशन कायम भएको थियो । जिल्ला प्रशासन कार्यालयले आफ्नो कार्यक्षमतालाई राम्रो देखाउन सकेको थियो । उनले आफू सरकारमा रहंदा कुनै पनि गल्ली गरेको देखाउन सक्ने कोही पनि छैन । उनका दलका नेताहरूमा पनि भ्रष्टाचार र ढिलासुस्ती देखिएन । यो उनीहरूको संपत्ति हो र उनीहरूलाई मत दिने एउटा बलियो आधार हो ।
यद्यपि रास्वपा संघीयताको बारेमा प्रष्ट नरहेको र हिन्दु राज्यको बारेमा पनि बोल्न नसकेको बारेमा आवाज आएका छन् । यद्यपि सबै जसो नेताहरूले देशको धर्म हुंदैन चाहिं भनिरहे कै छन् । एउटा कुमाले पत्नी र अर्को खेती गर्ने पत्नी दुवैका एउटै बाबु रहेछन् । बाबुले इच्छा गरेको कुरा पुरा हुने गरेकोमा दुवै छोरीहरूले बाबुलाई आफ्ना भनाई राखेछन् । एउटी छोरीले पानी परेमा आफ्नो खेती राम्रो हुने हुंदा पानी परिरहोस् भन्ने चाहना र अर्की छोरीले माटोका भांँडा सुकाउन घाम लागोस् भन्ने चहाना गरिन् । दुवैले आफ्ना कुरा बाबुसंग राखे । बिचरा बाबु निरीह बनेर क्षमता बिहीन जस्तो देखिएर सुनिरहे । तैपनि एउटा सत्य यो पनि अवश्य नै हो कि नयाँसमेत दलका नेताहरूले राजसंस्था र हिन्दु धर्म जनताले निर्णय गरुन्, हामी जनताको हित र देशको विकासमा प्रत्यक्ष सरोकार राख्ने कुरा तथा भ्रष्टाचार नहुने कुरामा संकल्पित छौं भन्न सक्छन् ।
राप्रपाले वर्तमानमा धेरै मानिसहरूको मनमा बस्ने भनाई राखेको छ । राजेन्द्र लिंदेनले भ्रष्टाचार गर्नु र आमाको रगत खानु उस्तै हो भनेर मन्दिरमा पुगेर आर्शीवाद मागिरहेका छन् । त्यति मात्र होइन, उनी र उनका सहयोगीहरू सरकारमा हुंदा उनीहरूबाट भ्रष्टाचार भएको कुनै खवर सुनिएन । उनीहरूको पार्टीले स्थानीय सरकार बनाएको स्थानमा भ्रष्टाचार सुन्यता रहेको खवर आइरहेको छ । उनीहरूको स्थानीय सरकार भएको स्थानमा एउटा पुल बनउनको लागि माथिल्लो सरकारबाट भएको इष्टमेट भन्दा करिव पाँच गुना कममा पुल बनेको पनि जानकारी भएको छ । त्यहांँ माथिल्लो सरकारले पुलको बजेट इस्टमेट गरेरपछि बजेट पारेको रहेनछ । लिंग्देन जलविद्युत मन्त्री हुंँदा काम गर्न सबैभन्दा सजिलो भएको र उनले कमिसनको जालोलाई रोकेको संकेत त्यतिवेलाका नेपाल विद्युत प्राधिकरणका जिएम कुलमान घिसिंगले नै संचार माध्यममा गरेका थिए ।
यी राप्रपाको अत्यन्त स्वच्छ छवि र देश प्रेम तथा जनहितको प्रतिबिम्ब देखाउने उदाहरण हुन् । राप्रपा राजसंस्था र हिन्दु राज्यको पुनःस्थापनामा प्रष्ट देखिन्छ । त्यद्यपि राप्रपाले चुनावमा विशेषत प्रदेशको समानुपातिक संसदमा गलत कारणबाट गलत र कुनै क्षमता र हैसियत नभएकालाई समेत सांसद बनायो भन्ने आरोप पनि लाग्ने गरेको छ । राजनीति नेताहरूको व्यक्तिगत चरित्र पनि हो र त्योमा कुनै पनि कमी राजेन्द्र लिंग्देन र केन्द्रीय नेताहरू तथा अरु अधिकांस नेताहरूमा देखिएर पनि हुंदैन । पार्टी बिर्गानलाई एक जना पनि काफी हुन्छ, आलुको बोरामा एउट कुहेको आलु भएपछि बोरा नै गन्हाए जस्तो । अबका दिनमा उमेद्वारहरूको छनौटमा ध्यान दिनै पर्छ । तालमा बाहिर हावा आएमा माथिको केही मात्र पानी हल्लिन्छ र तालको ९९ प्रतिसत भन्दा ज्यादा पानी हल्लिएको हुंदैन । तर बाहिर देख्नेको लागि पुरै ताल हल्लिरहेको हुन्छ । नुसान्स् भ्यालु भनिने जस्तै केही गलत पक्ष बाहिर आउंछन् र राम्रा पक्षको अगाडी अपवादका गलत पक्षहरू निर्णायक पनि बन्न पुग्छन् । त्यसैले नुसान्स् भ्यालुलाई ध्यान दिएर उचित एक्स्पोजर पनि आवश्यक छ ।
अहिले पनि राजा फालेर के पाइयो ? भन्ने आवाज आइरहेका छन् र ती आवाज सघन हुंदैछन् । वास्तवमा राजा फालेर हामीले पाएको देशको अस्थिरता र कुनको सरकार आए कुन देशको नजिक र कुनको सरकार आए अर्को कुन देशको नजिक हुने भन्ने चक्कर भएको छ । भ्रष्टाचार बढाउन पनि सहयोग भएको छ । देशको साधारण खर्च राजश्व भन्दा ज्यादा छ र विकास र निर्माण कार्य बिदेशी ऋण, आन्तरिक ऋण र सहयोगमा मात्र चलेको छ । यदि देशमा ऋण र सहायता नआउने हो भने राजश्वले कर्मचारीको तलव खुवाउन पुग्दैन । जनताको सेवा र विकासको त कुरै छैन । राजसंस्था हटाउन मुख्य भुमिका खेलेका हौं भन्ने पूर्वमाओवादीहरू नै पहिला भन्दा ज्यादा देश संकट र अप्ठेरोमा पर्दै गएको बताउंदैछन् । राजा हुंदा यो अबस्था त कमसेकम आएको थिएन ।
संघियताका सम्वन्धमा कुरा गर्दा अहिले पनि पुर्व माओवादीहरू आफूहरूले २३ बटा प्रान्त चाहेको र कम्तीमा १३/१४ वटा प्रान्त भन्दा कम नचाहेको बताउने गरेका छन् । ७ वटा प्रान्तहरूले देशको ढाड सेकिसकेको छ । देशले प्रान्तमा गर्न परेको खर्चले गर्दा विकास छिटो हुन सकेको छैन र गरिब जनताहरूको हित हुन सकेको छैन । यो तितो सत्य हो । तीन वटामात्र प्रान्त भएमा जनतालाई पनि सजिलो हुने र खर्च पनि कम हुनेमा कुनै विवाद छैन । के हामीले देशको पिडा र जनताको दुःखको यो अवस्था राजा भएको समयमा भोग्नु परेको थियो । भ्रष्टाचारको चरम चुली र देशका नेताहरूको घरबाट अरब हो बा खरबौं हो, नगद नोटहरू र तिनमा विदेशी मुद्रासमेत देख्नु परेकोमा ती रकम देश जनतलाई ठगेर मुर्ख बनाएर कमाइएका जनताका रगत र पसिनाका भाग होइनन् ? यो नसोचे हामीले जनताले कहिले सुख पाउने होइन र हामीले कहिलेसम्म पीडा थप्दै गरेको सहंदै जाने ?
मैले १५ बर्षको उमेरदेखि नै बन्दुक बोकेको हुं । गोली चलाएको हुं । मानिसहरू मारेको हुं । बैंक लुटेको हुं । टावर, ऐतिहासिक धरोहरहरू, पुलहरू, विद्यालयहरू उडाएको हुं भनेर गफ लगाउनेहरू पनि छन् । त्यो गरेर जनताले के पायो ? जनतालाई पिडा थप्न र सन्तानलाई बिदेश पठाउन, भ्रष्टचारमा रमाउन, देशलाई विदेशीहरूको रणभूमि र चलखेल स्थल बनाउन नै ती कम गरिएको थियो ? थिएन भने अब सच्चाइको पक्षमा आउने पर्छ । सिद्धान्तका खोक्रा ध्वाँसो लागेको ऐनाहरूमा पार्टीका नेताहरूले ऐना हेरे हुन्छ । साम्यवाद, समाजवाद आदिका नाराहरू जनतालाई दुःख दिएर ठग्नको लागि बनाइएका ललिपप हुन् ? जनताले सोध्ने बेला आएको छ ।
राजाहरूबाट पनि सामान्य गल्ती भएका छन् । तर उनीहरूले देशको अस्मितामा नै चोट आउने, विदेशले हेप्ने, भ्रष्टाचारको नै जगजगी हुने जस्ता काम गरेका थिएन् र हुन दिएका थिएन् । ज्ञानेन्द्र, पारसको नामको कुरा होइन, देशमा राजसंस्था आवश्यक छ भन्ने तथ्य कमसेकम राजा हुंदा देशमा शान्ति भएको, विदेशीको ऋण नगन्य रहेको, सबै जनता भाषा, जाति, धर्म, संस्कृतिको भिन्नता भएर तिनलाई सुन्दरता मानेर मिलेर बसेको अवस्था पाउन राजसंस्था चाहिन्छ भन्न किन हिच्किचाउने ? भन्नेहरूलाई पनि उचित उत्तर दिन सक्नु पर्छ । अहिलेसम्मका मुख्य सत्तासिन दलहरूको राजाको समयमा भन्दा हामीले राम्रो गरेका छौं भन्ने र प्रमाणित गर्ने आधार छन् त ? छैनन् । त्यसैले चाहे राजवादी हुन्, या संघीता विरोधी वा अन्य यसमा बिषयमा सबै नागरिकहरू भ्रष्टाचारमा गनाएका र इमान्दारी हराएकाहरूलाई छोडेर इमान्दारहरूको साथमा उभिनै पर्छ ।
(लेखक : वरिष्ठ अधिवक्ता हुनुका साथै अन्तरङ्ग राष्ट्रिय साप्ताहिकको सम्पादक हुनुहुन्छ । – सं.)

प्रकाशित मिति २०८२ पुष २५, शुक्रबार १०:४० गते
हजुरको प्रतिक्रिया