समिभन्ज्याङको ‘कायापलट’ यात्रा: रेडियो स्रोता क्लबदेखि रजत जयन्तीसम्मको सङ्घर्ष र उत्साह

समिभन्ज्याङको ‘कायापलट’ यात्रा: रेडियो स्रोता क्लबदेखि रजत जयन्तीसम्मको सङ्घर्ष र उत्साह

विशाल श्रेष्ठ

@facebook

२०८२ पुस २५ गते शुक्रबार ०८:५०

रेडियोमा बज्ने 'असल शासन' कार्यक्रमका प्रशंसकहरू सामाजिक रूपान्तरणका लागि सङ्गठित भएर २०५७ सालमा यसले औपचारिक रूप लियो । संस्थापक अध्यक्ष बालकुमार जोशी र संस्थापक सचिव रुपिन्द्र प्रभावीको नेतृत्वमा यो क्लब केवल खेलकुदमा मात्र सीमित रहेन । यसले समिभन्ज्याङभित्र मात्र होइन, सिङ्गो लमजुङ जिल्लामा भ्रष्टाचारविरुद्ध विभिन्न गतिविधि सञ्चालन गरेको थियो ।

“खेलप्रति समर्पण खेलाडीको चाहना, प्रतिभा र अनुशासन नै खेलाडीको गहना” भन्ने नाराका साथ यस वर्षको खेल माघ १ देखि ५ गतेसम्म सञ्चालन हुँदै छ ।

कुनै समय रेडियोको एउटा कार्यक्रमबाट प्रभावित भएर सुरु भएको अभियान आज २५औँ वर्षको ऐतिहासिक मोडमा आइपुगेको छ । लमजुङको मध्यनेपाल नगरपालिका–५, समिभन्ज्याङस्थित कायापलट असल शासन क्लबले आफ्नो स्थापनाको रजत जयन्ती मनाउँदै गर्दा यसले एउटा संस्थाको मात्र नभई एउटा सिङ्गो गाउँको उतारचढावपूर्ण कथा बोकेको छ ।

रेडियोको प्रभाव र सुशासनको जग

वि.सं. २०५७ सालमा ‘रेडियो श्रोता क्लब’ को रूपमा यसको जग बसिएको थियो । रेडियोमा बज्ने ‘असल शासन’ कार्यक्रमका प्रशंसकहरू सामाजिक रूपान्तरणका लागि सङ्गठित भएर २०५७ सालमा यसले औपचारिक रूप लियो । संस्थापक अध्यक्ष बालकुमार जोशी र संस्थापक सचिव रुपिन्द्र प्रभावीको नेतृत्वमा यो क्लब केवल खेलकुदमा मात्र सीमित रहेन । यसले समिभन्ज्याङभित्र मात्र होइन, सिङ्गो लमजुङ जिल्लामा भ्रष्टाचारविरुद्ध विभिन्न गतिविधि सञ्चालन गरेको थियो । भ्रष्टाचारविरुद्धको अभियानमा कायापलटको बेग्लै पहिचान बनेको थियो । पछि ‘कायापलट’ नामक त्रैमासिक पत्रिकामार्फत नागरिकलाई सुसूचित गर्ने कामसमेत संस्थाले गर्‍यो, जुन ग्रामीण पत्रकारिताको एउटा उत्कृष्ट नमुना थियो ।

मैदानको त्यो स्वर्ण युग र रनिङ शिल्ड

२०५७ सालतिर कायापलटले औपचारिक रूपमा रनिङ सिल्ड आयोजना गर्नुअगि नै स्थानीय युवाहरू मिलेर ‘भालेबाजी’ खुला भलिबल प्रतियोगिता आयोजना गरिएको थियो । पछि समिभन्ज्याङको इतिहासमा स्वर्ण अक्षरले लेखिएको अन्नपूर्ण पुस्तकालयले आयोजना गर्ने रनिङ सिल्ड भलिबल प्रतियोगिताको स्मरण गर्दै २०५८/०५९ देखि रनिङ सिल्ड सञ्चालन गर्न थाल्यो । यसले लमजुङ, तनहुँ र कास्की जिल्लाका धेरै स्थानका खेलाडीहरूलाई माघे सङ्क्रान्तिमा समिभन्ज्याङमा भलिबल खेल्न जानुपर्छ भन्ने मान्यता स्थापित गरेको थियो । २०७० सालसम्म समिभन्ज्याङको खेल मैदानमा अर्कै रौनक हुन्थ्यो । त्यति बेला क्लबले ‘खुला रनिङ सिल्ड’ प्रतियोगिता आयोजना गर्थ्यो, जहाँ जिल्लाबाहिरका शक्तिशाली टिमहरू भिड्न आउँथे । बाहिरी व्यावसायिक खेलाडीभन्दा स्थानीय युवाहरूलाई बढी अवसर दिन २०७३ सालदेखि ‘साविक वडास्तरीय’ प्रतियोगिता सुरु गरियो ।

बसाइँसराइको घाउ र वर्तमान चुनौती

रजत जयन्तीको खुसीयाली मनाउँदै गर्दा क्लबका पदाधिकारीहरूका अनुहारमा केही गम्भीरता पनि देखिन्छ । तीव्र बसाइँसराइ, गुणस्तरीय शिक्षाको खोजीमा युवाहरूको पलायन र गाउँमा कमजोर भौतिक पूर्वाधारका कारण क्लबले अहिले ठुलो जनशक्ति अभाव खेपिरहेको छ ।

“गाउँ रित्तिँदै छ, खेल्ने युवाहरू छैनन्, न त पहिले जस्तो जोस जाँगर भएका मान्छेहरू नै गाउँमा भेटिन्छन् ।” आयोजकहरू गुनासो गर्छन् । पर्याप्त कोषको अभाव र टिमहरूको न्यून सहभागिताका कारण विगतमा केही वर्ष महिला भलिबल प्रतियोगिताहरूले सोचेजस्तो सफलता पाउन सकेनन् तर आफ्नो गाउँको पहिचान र २५ वर्षको गौरवमय परम्परालाई मर्न नदिन क्लबले यस वर्ष फेरि साहस बटुलेको छ ।

२३ औँ प्रतियोगिता र रजत जयन्ती उत्सव

हाल बाबुराम मल्लको अध्यक्ष र इभन जोशीको सचिव रहेको क्लबले आगामी माघ १ देखि ५ गतेसम्म भव्य प्रतियोगिता आयोजना गर्दै छ । “खेलप्रति समर्पण खेलाडीको चाहना, प्रतिभा र अनुशासन नै खेलाडीको गहना” भन्ने नाराका साथ यस वर्षको खेल माघ १ देखि ५ गतेसम्म सञ्चालन हुँदै छ ।

मध्यनेपाल नगरपालिका संरक्षक रहेको यस कार्यक्रमले ओझेलमा परेको समिभन्ज्याङलाई पुनः खेलकुदका माध्यमबाट राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति २०८२ पुष २५, शुक्रबार २०:५० गते
हजुरको प्रतिक्रिया