कांग्रेसको विशेष महाधिवेशन निर्णायक मोडमा : विभाजन रोक्ने चुनौती

कांग्रेसको विशेष महाधिवेशन निर्णायक मोडमा : विभाजन रोक्ने चुनौती

एजेन्सी

@antaranganews

२०८२ पुस ३० गते बुधबार ०७:१५

यो बीचमा रातारात संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधरको माग पुरा गर्ने गरी कुनै स्वीकार्य प्रस्ताव ल्याउला कि भन्ने झिनो आशा रहेपनि विभाजनको स्पष्ट रेखा कोरिइसकेकाले सामान्य प्रस्तावले अब रोक्ने जस्तो देखिएको छैन ।

हिजो विशेष महाधिवेशनस्थलमा वार्ताको नाममा अल्झिन नहुने भन्दै प्रतिनिधि र समर्थकहरूले नाराबाजी समेत गरेका थिए । यस कारण पनि अब विशेष महाधिवेशन नीति र नेतृत्वबारे निर्णय नगरी नहुने मोडमा पुगेको छ ।

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्णायक मोडतर्फ अघिबढेको छ । कांग्रेसको विवाद मिलाउन भन्दै भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । विवाद मिलाउन तीन चरणमा भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । जसले पार्टीलाई विभाजनबाट रोक्ने चुनौती थपेको छ । सम्भवतः आज पुस ३० गते नयाँ नेतृत्व चयन गर्दै अधिवेशनको समापन हुनेछ ।
‘आज रातिको छलफल टुंगोमा पुग्ने सकेन । छलफल जारी राख्ने र भोलि बिहानै छलफल सुरु गर्ने भन्ने कुरा भयो,’ छलफलमा सहभागी एक नेताले भने, ‘सभापतिको बहिर्गमनको विषयमा कुरा मिलिरहेको छैन ।’
पार्टी रुपान्तरणको एजेण्डामा संस्थापन पक्ष तयार नभएपछि बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले बोलाएको महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा पेश गरेको पार्टीको आम संरचनात्मक सुधार लागयतका प्रस्ताव पुस २९ गते साँझ पारित भएका छन् । यी प्रस्ताव पारित हुँदै गर्दा महामन्त्री गगन थापाले आफूहरु विद्रोहमा सामेल भएकाले अब यही सन्देश लिएर आफ्नो कार्यक्षेत्रमा जान उद्घोष गर्नु भएको छ ।
उहाँले अब कुनै पनि निर्णयहरू जारी महाधिवेशनको हल भन्दा बाहिरबाट नहुने भन्दै बाहिर चलिरहेको सहमतिको कोशिसले निष्कर्षमा पुन जटिल रहेको उल्लेख गर्नुभयो ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई कांग्रेसको भावी नेतृत्व र भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्नु भएको छ । पार्टी नवीन उर्जा लिएर आउने उहाँको कथन छ ।
नेतृत्वदायी पदमा आउनका लागि आकांक्षीहरूले फारम लिइरहेकाहरूलाई महामन्त्री थापाले विशेष परिस्थितिमा अहिले विद्रोह अन्तर्गत महाधिवेशन भएकाले नेतृत्वका आकांक्षीहरूलाई अहिले उदार बन्न अपिल गरेका छन् । महामन्त्री थापा भन्नुभयो, ‘अब प्रक्रिया अघि बढिसकेको छ । कसैले यसलाई दखल अन्दाज गर्न मिल्दैन । हामीले छोटो समयका लागि यो नेतृत्व हाँक्ने हो । यसपछि नियमित महाधिवेशन गर्ने हो । यो बेलामा यो आन्दोलन अभियान र विद्रोह हो । सबैले म यो पदमा जानुपर्छ भन्ने सोच्न छोड्दिनुभयो भने यहाँ आउनुको अभियानको सार्थकता हुन्छ ।’
हिजो विशेष महाधिवेशनस्थलमा वार्ताको नाममा अल्झिन नहुने भन्दै प्रतिनिधि र समर्थकहरूले नाराबाजी समेत गरेका थिए । यस कारण पनि अब विशेष महाधिवेशन नीति र नेतृत्वबारे निर्णय नगरी नहुने विन्दुमा पुगेको छ । नीतिबारे त दुई जना महामन्त्रीहरू प्रस्ताव पारित भएपछि टुंगिइनै सकेको छ । अब नेतृत्वबारे आज टुंगो लाग्ने तयारी छ ।
शेरबहादुर देउवाले ऐले बिहानसम्म पार्टी सभापतिको वैधानिकता रहेको बताइन्छ । त्यसपछि बहुसंख्यक प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् ।
देउवासँग बोल्ड डिसिजन लिनुपर्ने चुनौती : समय घर्कदै
कांग्रेस नेता सुवास पोखरेलले बन्दसत्रपछि मिडिया सेन्टरमा बोलेझैं, अब सभापति देउवा र महामन्त्रीहरुका बीचमा कुनै ‘मध्यस्थकर्ता’ रहेन । कांग्रेसमा अब दुई पक्ष देखिएका छन् : देउवा पक्ष र गगन–विश्वप्रकाश पक्ष ।
विश्वप्रकाशले अर्का महामन्त्री गगनलाई महाधिवेशनको माइकबाटै अबको पार्टी सभापति, अनि प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरिसकेका छन्, जसलाई कर्तल ध्वनीले अनुमोदन गरिसकेको स्थिति छ ।
अब सहमति हुन नसकेको मुख्य विषय सभापति देउवा सक्रिय राजनीतिबाट अलग हुने वा पदमा टाँसिइरहने भन्ने हो । आगामी फागुनको आम चुनावमा बाँडिने टिकटमा कसले हस्ताक्षर गर्छ भन्ने अर्को प्रश्न छँदै छ ।
यस अर्थमा देउवासँग बोल्ड डिसिजन लिनुपर्ने चुनौती छ । अब पनि उनले पदको हठ गरिराखे भने कांग्रेस विभाजनको बाटोमा जाने छ । कुनै बेला विभाजन गरिसकेका देउवाका लागि आफ्नो राजनीतिक अवकाशको संघारमा अर्को कलंक लाग्ने छ ।
आज उम्मेदवारहरूले सभापतिदेखि केन्द्रीय सदस्य आदि पदका लागि भोट माग्दै कार्यकर्तासामू मत माग्न थालिसक्दा देउवाका लागि ‘अन्यथा निर्णय किन गर्ने,’ भनी सोध्ने हैसियतसमेत बाँकी रहने छैन ।
वार्तामा नमिलेका विषय :
कांग्रेसको संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच पार्टीले विशेष महाधिवेशनको स्वामित्व लिने विषयमा सहमति जुट्ने झिनो आशा बाँकी रहेको छ । सभापति शेरबहादुर देउवा राजनीतिबाट अलग हुने विषयमा सहमति जुट्न सकेको छैन ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर आवश्यक विषय टुंगिन बाँकी छ ।
विशेष महाधिवेशन पक्षबाट वार्तामा सहभागी भएका प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरुराज घिमिरेले राखेको यो प्रस्तावबारे संस्थापन समूहबाट वार्तामा रहेका बालकृष्ण खाण र रमेश लेखकले निर्णय सुनाउन सकेनन् । विशेष पक्षले निर्वाचन केन्द्रीत अभियान सुरु गर्न कार्यबाहक सभापतिको संयोजकत्वमा समिति बनाउन पनि प्रस्ताव गरेको छ ।
सबै कुरामा सहमति जुटेको खण्डमा कार्यबाहक सभापति खड्का विशेष महाधिवेशन स्थलमा आएर सहमतिलाई हलबाट घोषणा गर्नुपर्ने विशेष पक्षको अर्को प्रस्ताव छ ।
कांग्रेस विशेष महाधिवेशनमा उमेदवारी दर्ता र निर्वाचन आज :
कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत उमदेवारी मनोनयन र निर्वाचन आज ३० गते हुने भएको छ । हिजो स्थगित भएको उमेदवारी मनोनयन बिहान ८ देखि ९ बजेभित्र सुरु हुने निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिनु भयो ।
हिजो साँझ उमेदवारको मनोनयन दर्ताबाहेक बाँकी तालिका आजका लागि सारिएको थियो । यसअघि हिजो दिउँसो २ देखि ३ बजेसम्म मनोनयनपत्र दर्ताको समय तोकिएको थियो । मनोनयनपत्र त्यसपछि साँझ साढे ६ बजेका लागि सारिएको थियो ।
दुई दिनका लागि डाकिएको विशेष महाधिशेन थप दुई दिन लम्बिसकेको छ ।

प्रकाशित मिति २०८२ पुष ३०, बुधबार ०७:१५ गते
हजुरको प्रतिक्रिया