
बेसीशहर– मुलुकका अन्य जिल्लामा झैं लमजुङ जिल्लामा पनि आउँदो फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय माघ २ गते खोलियो । तर त्यस समयमा हुनु या देखिनु पर्ने उत्साह एवम् उमङ्ग, खुशीको वातावरण बनाउन प्रयास गरिएको, खासमा वातावरण बने, बनाइएको वा त्यसका लागि प्रयास गरेको भने देखिएन ।
मुलुकभर निर्वाचनको रोनक छाएको छ । क्रमशः माहोल तात्दै गएको छ । यो कार्यमा निर्वाचन आयोगले निर्वाचन घोषणा भएकै दिनदेखि देखाएको सक्रियता प्रशंसनीय पनि छ । निर्वाचन आयोगको निर्देशनमा मुलुकका ७७ जिल्लामै एकै दिन माघ २ गते (हिजो) मुख्य निर्वाचन अधिकृतको कार्यालय खोल्ने सूचना पनि थियो । तर त्यो काम लमजुङमा गरिदै भनेर आयोजकले पत्रकारहरूलाई खोज्नु पर्नेमा उल्टो पत्रकारहरूले गरिन्छ कि गरिदैन ? त्यसप्रति चासो राखेर खोज्ने काम गर्नु परेको थियो । यो तस्विरमा उल्लेखित शब्दहरू त्यसका प्रमाण हुन् ।
उक्त कार्य गरिरहदा लमजुङमा भने भिन्न दृश्य देखियो । उक्त उत्साह विहीन कार्य, जो केही शब्द र केही फोटोबाट आम सर्वसधारण तथा पाठक वर्गका लागि हामीले यहाँ पस्किरहेका छौं ।
कर्मचारीमा देखिएको निर्वाचन प्रतिको उदासिनताको दोस्रो दृष्टान्त हेरौं, त्यो कार्यालय उदघाटन गर्दै गर्दाको दृश्यले थप बोलेको छ । न कार्यालयको बोर्ड भित्तामा टाँसिएको थियो न त ८– १० वटा कुर्चिको प्रवन्ध नै गरिएको थियो । न त निर्वाचनमा महत्वपूर्ण भूमिका खेल्ने राजनीतिक दलका अध्यक्ष÷सभापति वा प्रतिनिधिलाई नै बोलाउने काम नै गरिएको थियो । जहाँ पनि पुग्ने जिल्ला समन्वय समितिका प्रमुख रहेकै भवनमा कार्यालयको उदघाटन गर्दा सायद उहाँलाई सम्झने कामसम्म पनि भएन । त्यसको पनि संलग्न फोटाहरूबाट पुष्टि हुन्छ ।
त्यसो त उक्त कार्यक्रममा जिल्ला न्यायाधीश शिशिर ढकाल, प्रमुख जिल्ला अधिकारी उमेश ढुंगाना, सहायक प्रमुख जिल्ला अधिकारी थमनसिंह गौतम, जिल्ला समन्वय अधिकारी महेश सुवेदी, सहायक निर्वाचन अधिकृत रामबन्धु गौतम, प्रहरी नायव निरीक्षक रेशम बोहरा, सशस्त्र प्रहरी नायव निरीक्षक शेखर दवाडी लगायतको उपस्थिति थियो । जिल्लाका माननीय श्रीमान जिल्ला न्यायाधीश, प्रमुख जिल्ला अधिकारी जस्ता व्यक्तित्वलाई उभ्याई, उभ्याई गरिएको कार्यक्रमको दृश्य निकै रोचक देखिन्थ्यो । अरु त अरु कार्यालयको बोर्ड समेत प्रमुख जिल्ला अधिकारी उमेश ढुंगानाले आफैले समाउनु भएको दृश्य झनै रोचक देखिएको थियो ।
पाठक वर्गले आफै आंकलन गर्न सक्नु हुन्छ, यो उत्साहित वातावरण हो कि ? कर बल गर्नु परेको बाध्यात्मक काम ? यहाँ मुखले आदर्श छाट्न भन्दा पनि व्यवहार के कस्तो गरिन्छ र त्यसले के परिणाम दिन्छ ? भन्नेले अर्थ राख्छ र त्यो मुख्य विषय हो, जो प्रायः सधैं ओझेलमा पर्ने गरिआएको छ ।
प्रकाशित मिति २०८२ माघ ३, शनिबार ०७:५८ गते