काठमाडौं– स्रष्टाद्वय पवन आलोक र मीना चौलागाईं सम्मानित हुनु भएको छ । जगदीश घिमिरे प्रतिष्ठानद्वारा उहाँहरूलाई सम्मान गरिएको हो । साहित्यकार जगदीश घिमिरेको एघारौं स्मृति दिवसको अवसरमा रामेछापको मन्थलीमा सम्पन्न साहित्यिक सभामा स्रष्टा आलोक र चौलागाईं माघ ३ गते सम्मानित हुनु भएको हो ।
उक्त कार्यक्रममा स्रष्टाद्वय मीना चौलागाईं र पवन आलोकलाई क्रमशः २०८१ र २०८२ सालको ‘जगदीश घिमिरे स्मृति पुरस्कार’ले सम्मानित गरिएको आयोजकको भनाइ छ । 
मन्थली नगरपालिकाकी उपमेयर ईश्वरी बस्नेतले स्रष्टाद्वयलाई क्रमशः ५१ हजार नगदराशिको चेक र ‘जगदीश घिमिरे प्रतिष्ठान’की अध्यक्ष एवम् जगदीश घिमिरेकी धर्मपत्नी श्रीमती दुर्गा घिमिरेले सम्मानपत्र अर्पण गर्नुभएको थियो । सो क्रममा प्रमुख अतिथि बस्नेतले नगरपालिकाले साहित्य, कला, संस्कृतिको खोज, संरक्षण र प्रवद्र्धनका क्षेत्रमा ध्यानाकर्षण भएको बताउनु भयो । उपमेयर बस्नेतले जगदीश घिमिरेको सम्मानमा सङ्ग्रहालय बताउने कार्यमा नगरपालिकाको धारणा सकारात्मक रहेको बताउँदै यसमा नगरपालिकाले विभिन्न निकायहरूसँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।
साहित्यकार श्रीओम श्रेष्ठ रोदनले पुरस्कृत स्रष्टाद्वयको व्यक्तित्व परिचय दिनुभएको थियो । उक्त कार्यक्रममा जगदीश घिमिरे प्रतिष्ठानका सल्लाहकारहरू क्रमशः नगेन्द्रराज शर्मा, रोचक घिमिरे र ज्ञानु पाण्डेले पनि मन्तव्य राख्नुभएको थियो । 
डा.सुमन कर्माचार्यको उद्घोषणमा सञ्चालित उक्त समारोहमा उहाँद्वारा लिखित ‘जगदीश घिमिरेको संक्षिप्त जीवनी’ पनि लोकार्पण गरिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा केही वक्ताहरूले हाल सरकारी स्वामित्वमा रहेका साहित्यकार जगदीश घिमिरे जन्मनु भएको मन्थलीस्थित घरलाई जगदीश घिमिरेको सम्मानमा सङ्ग्रहालयको रूपमा विकसित गरिनुपर्ने धारणा राखेका थिए । 
तामाकोशी सेवा समिति, मन्थलीका अध्यक्ष गुञ्जबहादुर श्रेष्ठले स्वागत मन्तव्य राख्दै शुरू भएको उक्त कार्यक्रममा साहित्यकार माधव शयपत्रीले जगदीश घिमिरेको व्यक्तित्वमाथि प्रकाश पार्नु भएको थियो । उहाँले समाजमा पछि पारिएका भुइँमान्छेहरूको पक्षमा सशक्त रूपमा कलम चलाउने घिमिरेको यसरी स्मृति दिवस मनाउनु सकारात्मक भएको बताउँदै रामेछापमा जन्म लिएर राष्ट्रियस्तरमा योगदान पु¥याएका अन्य विभिन्न दिवंगत स्रष्टाहरूलाई पनि रामेछाप जिल्लाले यसैगरी स्मरण गरेर सम्मान गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
उक्त समारोहमा ज्ञानु पाण्डे, हिरालाल आचार्य (अनार बाजे), गङ्गा चापागाईं, गौरव बोहोरा, डा.उमेश घिमिरे, बद्री नयाँघरे, देविकानन्द तिमल्सिना, मधु पाठक, प्रेम घिमिरे, राजेश उपाध्याय, सुषमा आचार्य अंशु, कुमार दाहाल, वसन्त रिजाल, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, प्रतीक घिमिरे, डा. सुमन कर्माचार्य लगायतका कविहरूले आआफ्ना रचना वाचन गर्नु भएको थियो ।
उक्त अवसरमा ‘साहित्यिक र सामाजिक योगदानमा जगदीश घिमिरेको उपस्थिति’ शीर्षक वक्तृत्व प्रतियोगिता गर्नुका साथै विजयी विद्यार्थीहरूलाई पुरस्कृत गर्ने कार्य गरिएको थियो ।
अन्तरमनको कथाका लेखक जगदीश घिमिरे २०६४ सालको मदन पुरस्कार विजेत हुनुहुन्थ्यो । २००२ चैत २८ गते रामेछापको मन्थलीमा जन्मनु भएका उहाँ ‘माइलोमा’ नामक रक्त क्यान्सरका कारण ६८ वर्षको उमेरमा २०६७ कार्तिक १४ गते निधन भएको थियो ।
प्रकाशित मिति २०८२ माघ ६, मंगलवार १९:३२ गते