
गगन थापाको चाहाना पुरा भयो । निर्बाचन आयोगले गगन थापाको नेपाली कांग्रेसको सभापतित्वलाई नै आधिकारिकता दियो । त्यो निर्णय बिरुद्ध देउवा समुहले सर्बोच्च अदालतमा रिट दियो । सर्बोच्च अदालतले पनि देउवा समुहको अन्तरिम आदेशको माग अस्विकार गर्यो । अन्तरिम आदेशको मागको साथमा रिट निवेदनमा अरु पनि माग थियो । अहिले प्रासंगिक मागमा माघ ६ गते हुने उमेदवारी दर्ताको समय बढाउने मात्र थिएन र बरु निर्वाचन नै सार्नको लागि समेत माग गरिएको थियो । त्यो समुहले आफ्नो निवेदनमा बिशेष अधिबेशनको माग गर्नेहरूमा आठ सय जना भन्दा ज्यादा विशेष अधिवेशनको माग गर्नेहरूले सो माग फिर्ता लिएको उल्लेख छ । तर सो तथ्यलाई महवपूर्ण मानिएको छैन र प्रमाणहरू पेश गरिएको छैन । एकातिर विशेष अधिवेशनको माग फिर्ता लिनेहरूको संख्या उल्लेख गर्ने तर त्यो नै निर्णायक हुन सक्नेमा त्यो नामावली नै उल्लेख गर्न नचाहाने कार्यबाट स्वतः नै विशेष अधिवेशनको संख्या उचित थियो भन्ने पुष्टी हो ।
अहिले त गगन थापाले प्रत्यक्ष निर्वाचनको लागि उमेदवारहरूको नामावली समेत तोकेर उमेदवारहरुले मनोनयन पनि भरी सकेका छन् । यसरी गगन थापा समुह आधिकारिक बनेको छ । कांग्रेसको गिरेको साखलाई गगन थापा समुहको नेतृत्वमा रहेको कांग्रेसले फिर्ता गर्न सक्ने आशा गरिएको छ । गगन थापा टिमले युवा र नयाँं उमेदवारहरूको मात्रा धेरै बढाउनु आफैमा सकारात्मक हो । नेपालीहरू पुराना दलहरू कांग्रेस, एमाले, माओवादी र उपेन्द्र यादव र महन्थ ठाकुरहरुका दलहरूबाट बाक्क दिक्क भएकै हुन् । भ्रष्टाचार, कमिसन, आफन्तवादको चरम विकृती देशका सरकारी निकायमा मात्र होइन, आफ्नै दलभित्र टिकट दिंदा पनि घुस दिन परेको बताइने गरेको हो । अहिले कांग्रेस टिकट वितरणमा भने पनि कमसेकम टिकट किन्न पर्ने बाध्यता हुने अवस्थाबाट मुक्त भएको देखियो । यो साह्रै सकारात्मक हो । पुराना दलहरू मध्ये पुराना र बृद्ध अनुहारहरूलाई विस्थापित गर्न सक्ने क्षमता कांग्रेसमा मात्र देखियो । एमाले र माओवादीको बर्चस्व भएको दलमा त्यो देखिएन । यसरी चुनावमा नयाँं बोत्तलमा पुरानो रक्सी होइन, बोत्तल पनि पुरानै देखिने प्रवृत्तिवाट कांग्रेस मुक्त हुन सक्यो ।
चुनाब हुन सक्छ सक्दैन ? भन्ने वारे पनि फरक आंकलन भएका छन् । नेपालमा प्रभाव पार्ने धेरै पक्षहरू छन् । तिनलाई सहयोग गर्ने नेपालमा नै काम गर्ने सरकारी निकायका भित्रिया सन्यन्त्रहरू पनि छन् भन्ने गरिन्छ । बालेन र प्रचण्ड पुत्री समेतले महानगरको मेयर पद नै छोडेर चुनाबमा होमिएका छन् । यसवाट छिमेकी देशहरु र अमेरिका र पश्चिमा राष्टहरू पनि चुनाबको पक्षमा छन् कि भन्ने अनुमान गर्न सकिन्छ । यो चुनाव हुन्छ नै भन्ने बलियो आधार हो । यो उनीहरूको लिंक हुनेमा सायद विदेशीहरू चुनावको पक्षमा छन् भन्ने संकेत हो । अन्यथा तिनीहरूले साह्रै एक्स्पोजर भएका ती पदहरू छोड्ने र चुनाबमा होमिने थिएनन् भन्ने स्वतः अनुमान गर्ने कुरा पनि हो । तर सवाल त्यही मात्र सीमित छैन । एमालेले यो मध्यावधी चुनाव हुनु हुंदैन र संसद पुनःस्थापन हुन पर्छ भन्ने आवाज उठाएकै हो । कांग्रेसको पूर्व संस्थापन पक्षले पनि कांग्रेस केन्द्रीय समितिको गठन र विशेष अधिवेशनको खारेजीको माग गर्दा आफ्नो निवेदनमा चुनाव सार्नको लागि समेत माग गरेको छ । यसबाट देशका अहिले रहेका सबैभन्दा ठूला दुई दलहरू एक हदसम्म संसद पुनःस्थापनाको पक्षमा रहेको देखिन्छ । सर्बोच्च अदालतलाई संसद पुनःस्थापना गर्नको लागि पनि त्यो बस्तुगत आधार बन्न पनि सक्छ । यद्यपि निर्वाचन आयोगवाट गगन थापाको केन्द्रिय समितिलाई मान्यता दिनु र निवेदकले मागेको उमेदवारी दर्ता गर्ने म्याद थपको मागको सम्वन्धमा अस्यायी अन्तरिम आदेश सर्बोच्च अदालतले नदिनु पनि यो बिशेष परिस्थितिमा गगन समुहको आधिकारिकता नै पुष्टि हुंदै जानु हो । पुरानाहरूले नियुक्त गरेका संवैधानिक अंगका राजनैतिक दलका प्रतिनिधि जस्ताहरूले पनि नयांँलाई मान्यता दिनु पनि परिस्थिति अगाडि बढ्नलाई प्रेरित गर्ने छ भन्ने हो । तर देशमा धेरै रिमोटहरूले काम गर्दछन् भनिन्छ । त्यो सत्य हो भने अब देशमा अर्को जेन्जी आन्दोलन तुरुन्त हुंदैन जस्तो देखिएमा वा बर्तमान समिकरणले नै नयां शक्तिकेन्द्रहरूको चाहाना पुरा हुने अवस्थामा विश्वस्त भएमा कुनै पनि दिन संसद पुनःस्थापनाको बाटो खुल्न सक्छ । भारत र चीनले नेपालको सन्दर्भमा अमेरिका सहितका पश्चिमाहरूलाई ठीक ठाउंँमा राख्नु उपयुक्त संझेर मिलेर नेपाललाई हेर्न चाहेमा राजसंस्थाको पुनःस्थापना पनि असंभव छैन भनिन्छ ।
मतदाताहरूबाट ध्यान दिनै पर्छ कि पुराना र भ्रष्ट देखिएका राजनैतिक दलका प्रतिनिधीहरू नै छानिने हो भने अगाडि हुन लागेको चुनावको कुनै औचित्य नै हुंदैन । यद्यपि नेपाली कांग्रेस र राप्रपाले पुरानो गलत देखिएको आफ्ना पुराना नेताहरूको पुराना प्रवृत्तिलाई बिदाइ गरेका छन् । यो सकारात्मक हो । राप्रपाले नै केही पहिला नै आफ्नो राजनैतिक जवानी फर्काएको हो र कांग्रेसले पनि अनन्तोगत्वा राम्रो नै गरेको छ । तर जे भए पनि नेतृत्व र केन्द्रीय समिति समेत पूर्णत नयाँं पन ल्याउने कार्य भएकाप्रति सकारात्मक हुन सकिन्छ र पुराना नेताहरू नै हाबी भएका दलहरूका पनि केही विद्वान र इमान्दार नेताहरूलाई भने जनताले संसदमा पुर्याउंदा राजैनैतिक विवाद संसदमा नै समाधान गर्न अर्थात सुरक्षित अवतरण गर्न सकिन्छ ।
जे होस् अहिलेको अवस्था परिवर्तनको पक्षमा देखिएको छ । बालेनको रास्वपामा इन्ट्ीले तराई रास्वपामय बन्दै गएको जस्तो देखिन थालेको छ । पहिलो पटक नेपाली मन र पनको तराईको भुमिपुत्र देशको प्रधामन्त्री हुन सक्ने आशाले मधेस रास्वपामय हुंदै जानु परिवर्तनको संकेत हो । रास्वपाको भ्रष्टाचार विरोधी छवि र युवाहरूको उत्साहले नयाँं उत्साहमा अझै उचाई थपेको पनि छ । रास्वपा देशको पहिलो राजनैति शक्ति बनेमा अन्यथा नसोचे पनि हुने अवस्था विकसित हुंदैछ । एमाले दोश्रो शक्ति बन्ने सम्भावना रहेकोमा गगन थापाको उदयले अब कांग्रेस दोश्रो ठूलो दल हुन सक्ने संभावना पनि अस्विकार गर्न सकिदैन । अझै सबै कांग्रेसीहरूले कांग्रेसलाई नै मत दिने बातावरण गगनहरूले बनाउन सफल भएमा कांग्रेसमा अझै सकारात्मक अवस्थाको कल्पना पनि गर्न कांग्रेसहरूलाई छुट हुने छ । एमाले पनि कम्तिमा तेश्रो शक्ति बन्ने निश्चित छ भने शान्ति र भ्रष्टाचार बिरोधी मात्र होइन बरु संघीयताको बोझ आवश्यक छैन भन्ने धारणा राखेको र राजसंस्था र हिन्दु राज्यको चाहाना प्रष्ट गरेकोले ती मतहरू पनि राम्रोसंग जोड्न सकेमा राप्रपा चौथो मात्र होइन, त्यसभन्दा पनि अगाडि पनि पुग्न सक्छ । पुर्व माओवादीको हैसियत पांचांै वा छैटौं हुन सक्ने अनुमान गर्न सकिन्छ ।
मैले माओवादीबारे उठाएको सवाल सम्बन्धमा केही दिन पहिला माओवादीका नेता र कार्यकर्ताहरूले उत्साहित भएर माओवादी दल छोडेर उज्यालो पार्टी समेतमा प्रवेश गरेर विशेषत मधेश प्रदेशमा उम्मेदवारी दिएको देखेर मैले पनि सोधे किन माओवादी छोड्नु भयो ? उनीहरूले प्रष्ट नै भने कि ! जनताको हितको नाममा, परिवर्तनको लागि क्रान्ति गर्ने भनेर माओवादीका नेताहरूले हामीलाई अरुलाई मार्न र मर्न तयार गरे । लाखौं जनता पिडित भए । बेहिसाव सम्पत्ति तहसनहस भयो । १७ हजार नेपालीहरू त मारिएको नै तथ्यांक छ । यो कार्य गरेर हामीहरूलाई मुर्ख बनाइयो । तर भ्रष्टाचार, अनियमितता, नातावाद कृपावाद कांग्रेस एमालेको भन्दा ज्यादा भयो । देशमा अशान्ति भयो र देश नै कठिन अवस्थामा उभियो । त्यसैले हामीहरूको रगत र पसिना त नेताहरूको मोजमस्तीको लागि भयो । त्यसैले हामीले नैतिकताको लागि पनि जिद्रोह गयौं जस्तो कुरा भन्नु भयो । उहांँहरूलाई मुरी मुरी साधुवाद !
यिनै सेरोफेरोमा जनताको हितको लागि जेन्जी आन्दोलन भयो । गलत तत्व प्रवेश गरेर राष्ट्रिय सम्पत्ति समेत तहसनहस भयो । ती युवाहरूको चाहाना पुराना अनुहारहरूले राम्रो गरेनन् र गर्न सक्दैनन् भन्ने अनुभवको बलबाट त्यसो भएको थियो । त्यो अनुभवको बलाई पुष्टि गर्नको लागि पुराना र भ्रष्ट भएका दलहरूलाई मत दिन हुंदैन भन्नेमा विवाद छैन । पुरानाहरूलाई नै मत दिने हो भने यो चुनावको औचित्य छैन । त्यसैले नयाँं अनुहार, युवाहरू, भ्रष्टाचार विरोधीहरूलाई नै जनताले जिताउनु पर्छ । अन्यथा यो दुःखको अवस्था पुन दोहोरिन्छ र हामीले गलत स्थानमा मत दिएर त्यो अवस्था दोहोरिएमा त्यसको जिम्वेवार हामी नै हुने छौं ।
(लेखक : अन्तरङ्गका अतिथि सम्पादक हुनुका साथै वरिष्ठ अधिवक्ता हुनुहुन्छ । सं.)
प्रकाशित मिति २०८२ माघ ८, बिहीबार २१:०३ गते