एक लाल बुझक्कड काकालाई एक Gen–Z युवाको खुला पत्र !

एक लाल बुझक्कड काकालाई एक Gen–Z युवाको खुला पत्र !

Gen–Z युवा

@antaranganews

२०८२ माघ ९ गते शुक्रबार ०७:२२

तपाईं आफ्ना नेता केपी ओली र पृथ्वीसुब्बा जस्ता व्यक्तिको बचाउ गर्नुहुन्छ । तर इतिहास व्यक्तिको होइन— निर्णयको हिसाब राख्छ । शान्तिपूर्ण आन्दोलनमाथि दमन हुँदा, राज्यको प्रमुख मौन बस्नु देश जोगाउनु होइन— सत्तालाई जोगाउनु हो ।
काका, देश भवन होइन । देश जनता हो । जब जनतामाथि गोली चल्छ, सिंहदरबार जोगिनु राष्ट्रवाद होइन— संवेदनहीनता हो ।

तपाईं भन्नुहुन्छ— सिंहदरबार, अदालत, संसद जलाउनु जायज होइन । हो, जायज होइन । तर काका, राज्यले आफ्नै नागरिकमाथि गोली चलाउँदा त्यो आगो राजनीतिक रूपमा कसको जिम्मा पर्छ ? भवन माथि लागेको आगो देखिन्छ, तर न्याय, रोजगारी र जवाफदेहिता माथि लागेको आगो देख्न नचाहनु नै सत्ता–संरक्षणको राजनीति हो ?

लमजुङे प्रिय काका !
शुभविहानी !
तपाईंको लेख भावनाले भरिएको छ— इतिहास, पीडा र सम्झना पनि सँगै छन् । तर त्यहाँ एउटा गम्भीर राजनीतिक भ्रम पनि छ, जसलाई स्पष्ट रूपमा चुनौती दिन जरुरी छ ।
हामी एउटै देशका नागरिक हौँ, एउटै माटोका सन्तान हौँ । तर आजको विवाद ‘घर जोगाउने कि जलाउने’ भन्ने नैतिक प्रश्न होइन । विवाद हो— कसले घर जलायो, कसले चेतावनी दियो ? र कसले निभाउन अस्वीकार गर्यो भन्ने ।
तपाईं भन्नुहुन्छ— सिंहदरबार, अदालत, संसद जलाउनु जायज होइन ।
हो, जायज होइन । तर काका, राज्यले आफ्नै नागरिकमाथि गोली चलाउँदा त्यो आगो राजनीतिक रूपमा कसको जिम्मा पर्छ ? भवन माथि लागेको आगो देखिन्छ, तर न्याय, रोजगारी र जवाफदेहिता माथि लागेको आगो देख्न नचाहनु नै सत्ता–संरक्षणको राजनीति हो ?
गत भाद्र २३ को आन्दोलन कुनै भीडको उन्माद थिएन । त्यो राज्य असफलताको सार्वजनिक घोषणापत्र थियो भन्दा दुई मत नहोला ।
– युवालाई रोजगारी होइन, वैदेशिक पलायन मात्र विकल्प दिइयो ।
– शिक्षा ऋण र दलालीको बन्दी बनाइयो ।
– भ्रष्टाचार संरचनागत भयो ।
– प्रश्न सोध्नु देशद्रोह जस्तो व्यवहार गरियो ।
काका हजु्र ! राज्य भनेको सरकार होइन । तर जब सरकारलाई आलोचना गर्नु राष्ट्र विरोध ठहरिन्छ, त्यतिबेला राज्य स्वयम् अधिनायकतर्फ उन्मुख हुन्छ ।
तपाईं पुर्खाको दुःख सम्झाउनु हुन्छ । हामी त्यसलाई अस्वीकार गर्दैनौँ । तर राजनीतिक प्रश्न यही हो—
यदि दुःख नै उत्तर हो भने गणतन्त्रको औचित्य के रह्यो ?
यदि हरेक पुस्तालाई ‘हामीले त सह्यौँ’ भनेर चुप लाग्न भनिन्छ भने, त्यो सहनशीलता होइन— दमनको हस्तान्तरण हो ।
तपाईं भन्नुहुन्छ— घर जोगाउनुपर्छ, फोहोर फाल्नुपर्छ । तर जब घरका मालिकहरूले—
– ढोका निजीकरण गर्छन्,
– खम्बा काटेर सत्ता टिकाउँछन्,
– छाना चुहाएर पनि ‘सब ठीक छ’ भन्छन्,
त्यो बेला फोहोर फाल्ने होइन, मालिकलाई प्रश्न गर्ने राजनीति चाहिन्छ ।
Gen–Z ले घर जलाउन खोजेको छैन । उनीहरूले घरभित्रको आगो देखाएर निभाउन बाध्य बनाउन खोजेका छन् ।
तपाईं आफ्ना नेता केपी ओली र पृथ्वीसुब्बा जस्ता व्यक्तिको बचाउ गर्नुहुन्छ । तर इतिहास व्यक्तिको होइन— निर्णयको हिसाब राख्छ । शान्तिपूर्ण आन्दोलनमाथि दमन हुँदा, राज्यको प्रमुख मौन बस्नु देश जोगाउनु होइन— सत्तालाई जोगाउनु हो ।
काका, देश भवन होइन । देश जनता हो । जब जनतामाथि गोली चल्छ, सिंहदरबार जोगिनु राष्ट्रवाद होइन— संवेदनहीनता हो ।
तपाईं भन्नुहुन्छ— ‘तिमी फर्किंदा ओत बस्ने घर बनाइरहेछु ।’ तर काका, यदि त्यो घर—
– न्याय बिनाको हो,
– जवाफदेहिता नभएको हो,
– युवाको रगतले रंगिएको हो,
त्यो त ओत अवश्य होइन— मौनको कारागार हो ।
हामी सडकमा गणतन्त्र ढाल्न होइन, गणतन्त्रलाई अपहरणबाट मुक्त गर्न निस्केका हौँ । तपाईंले जोगाइरहनु भएको गणतन्त्र सत्ता– केन्द्रित छ । हामी जोगाउन खोज्दैछौँ—संविधानको आत्मा र जनताको सार्वभौमसत्ता ।
प्रश्न सरल छ, काका !
भदौ २४ गतेको आगजनी हुनु नपर्ने थियो, तर भयो। त्यसबाट भएको भौतिक नोक्सान एक महिनामै राजस्व उठाएर पूर्ति गर्न सकिन्छ भन्ने विज्ञहरू नै भन्छन्। तर प्रश्न यहाँ भौतिक संरचनाको होइन— मानवीय क्षतिको हो। भदौ २३ गते घटेको घटनामा ज्यान गुमाएका ७७ (पछि एक थपिएर ७८) युवाको क्षतिपूर्ति कहिले, कसरी, कसले गर्छ ?
भौतिक संरचना फेरि ठडिन सक्छ, तर ती होनहार युवाको जीवन कसले फर्काउँछ ?
काका, ढुंगा, सिसा र भवनको मूल्य जीवनभन्दा ठूलो भइसकेको हो ?
अझ गम्भीर प्रश्न—
जेन जि बिद्रोहमा शाहदत भएका ती युवाप्रति यहाँका दल, जमातले औपचारिक श्रद्धाञ्जली वा समवेदना व्यक्त गरेको आजसम्म किन सुनिँदैन ?
के उनीहरू “गलत ठाउँ” मा मरेका थिए ? कि “गलत पहिचान” का कारण उनीहरूको मृत्यु राज्य र तपाईको पार्टीका लागि असहज विषय बन्यो ?
सुशासन भनेको केवल भौतिक क्षति मर्मत गर्नु होइन, सुशासन भनेको नागरिकको ज्यानको मूल्य स्वीकार्नु हो।
जहाँ शहिदलाई न्याय छैन, त्यहाँ पुनर्निर्माण केवल देखावटी सजावट मात्र हो ।
त्यसैले,
देश जलाउने को ?
प्रश्न सोध्ने युवा,
कि
प्रश्नबाट डराउने सत्ता ?
निर्णय : आगामी फागुन २१ को ऐतिहासिक दिनले गर्नेछ ।
— एक Gen–Z नागरिक
लमजुङ ।

प्रकाशित मिति २०८२ माघ ९, शुक्रबार ०७:२२ गते
हजुरको प्रतिक्रिया