
बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम यहाँ स्थित सहजी खेल मैदानमा जारी रहेको नवौं लमजुङ महोत्सवको पाँचौं दिन ‘सिन्धुली कला घर’को प्रस्तुतिमा जिल्लाबासीहरू भरपुर रमाए । सिन्धुली कला घरका कलाकारहरूको आकर्षक प्रस्तुतिले जिल्लाबासीहरू निकै उत्साहित हुँदै सुन्न र तछाड मछाड गर्दै नाचेर मनोरञ्जन लिइरहेका थिए ।
सिन्धुली कला घरका अध्यक्ष सुमन थापा मगरको नेतृत्वमा आएको ११ सदस्यीय कलाकार टोलीले नौमति बाजाको धुन, त्यो तालको नाच, साथमा ‘थाल नाच’लागयतका प्रस्तुति गरेका थिए । कलाकार सबै महिला थिए, बाजा बजाउनेदेखि नृत्य प्रदर्शन गर्नेसम्म । ती कलाकारमा पवित्रा रम्तेल, रुविना पुलामी मगर, सञ्चिता थापा मगर, पार्वती थापा मगर, पारु अस्थानी, रीता विक, ममता श्रेष्ठ, निरुता लामा, करुणा नेपाली, जीवन थापा मगर रहेको सिन्धुली कला घरका अध्यक्ष सुमन थापा मगरले बताए । उनले १२ घण्टाको निरन्तर बसयात्राबाट हामी यहाँ आइपुगेका हौं भन्दा दर्शक दीर्घाबाट करतल तालीले सो टिमको स्वागत गरिएको थियो ।
सिन्धुली कला घरका अध्यक्ष सुमन थापा मगरले आफ्नो संक्षिप्त मन्तव्यमा संस्थाको चिनारी दिदै २०७५ सालमा स्थापना भई विगतका सात वर्षदेखि लोक संस्कृतिको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा काम गरेको बताए । उनले ‘सिन्धुलीको कमलामाइ नगरपालिका– ३ मा रहेको उक्त कला घरलाई लोक संस्कृतिको संरक्षणका क्षेत्रमा राष्ट्रियस्तरमा मात्र नभई अन्तराष्ट्रियस्तरमा समेत विस्तार गर्ने अभियानमा रहेका छौं, यो यहाँको पनि संस्था हो, हातेमालो गरी अघि बढौं ।’ भन्दै कार्यक्रम पस्केका थिए ।
पञ्चैबाजा बजाउने तथा नृत्यको नेतृत्व सिन्धुली कला घरका उपाध्यक्ष पवित्रा रम्तेलले गर्नु भएको थियो । १०/१० मिनेटको बाजाको धुन, धुनको साथमा नाच, ‘आँखाले बुझ इसारा, मनले बोलेको कस्ले सुन्छ र ! ….’ धुनको गीत र नाच, कर्नाल नाच, पञ्चै बाजाको धुनमा थाल नाच रुविना पुलामी मगर र निरुता लामाको प्रस्तुतिको धेरैले तारिफ गरेका थिए । सिन्धुली कला घरको प्रस्तुतिको अन्त्यमा सो टिमले तयार गरेको ‘लमजुङमा लाग्यो हजुर नवौं महोत्सव– खुशी हुँदै सबै मिली नाच्नु पर्छ अब’ बोलको गीत र नृत्य निकै आकर्षक रह्यो ।

पञ्चै बाजामा ‘रेशम फिरिरी ……. ’, यो छोटो भोटो, सोध रमालाई भन्ने धुन प्रस्तुतिमा झुमेर आयोजकसमेत नाचेका थिए । कालाकार टिममा कर्नाल बजाउने समेत महिला नै थिए ।
१३ दिने उक्त महोत्सव गत बिहीबार सुरु भएको हो भने आउदो मंगलबार अर्थात २० गते समापन गर्ने कार्यतालिका रहेको आयोजक लमजुङ उद्योग वाणिज्य संघका महासचिव विपिन श्रेष्ठले बताए । उनका अनुसार सो महोत्सव संघका अध्यक्ष भरतकुमार श्रेष्ठको नेतृत्वमा सञ्चालन भइरहेको छ । हरेक दिन राष्ट्रिय र स्थानीयस्तरका कलाकारका साथमा नवप्रतिभाको समेत प्रस्तुति रहने गरेको आयोजकको भनाइ छ ।
भोलि बुधबारदेखि गृहिणी नृत्य प्रतियोगिता, जिल्लास्तरीय लोक दोहोरी प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम रहेको गृहिणी नृत्य प्रतियोगिताका संयोजक मनु पन्तले बताउनु भयो । उहाँका अनुसार भोलि बुधबार ठाडोभाका लोककला प्रतिष्ठान नेपालको टिमले ठाडोभाका प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । उहाँले भन्नुभयो, ‘लोक दोहोरी प्रतियोगिताको संयोजन राष्ट्रिय तथा लोक दोहोरी गीत प्रतिष्ठान जिल्ला समितिले गरिरहेको छ ।’
सो अवसरमा मनाङे चौतारा बाबा– आमा समूहको नृत्य, प्रताप र प्रियाको भाले– पोथीलगायतका नाच प्रस्तुति गरिएको थियो भने दोहोरी समेत प्रस्तुत गरिएको थियो । त्यस अवसरमा मोवाइल हराउने तेक्वान्दो खेलाडीलाई त्यो पाएर फिर्ता गर्नु हुने आमालाई मायाको चिनो दिएर सम्मान गरिएको थियो ।
प्रकाशित मिति २०८२ माघ १३, मंगलवार ०७:४५ गते