काठमाडौँ– निर्वाचन आयोगले निर्वाचन आउन ३६ दिन बाँकी रहदा आचारसंहिता अनुमगनका लागि अनुमगन अधिकृत तोकेको खुलासा भएको छ । आयोगले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र कोष नियन्त्रकलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत माघ १० गते तोकेको हो ।
जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनु भयो । उहाँका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयको जिम्मेवारी दिइएको छ । उहाँले भन्नुभयो, ‘प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रकहरूलाई आर्थिक बिषयसँग सम्बन्धित विषयमा फरकफरक कार्य गर्ने जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।’
आयोगको त्यस दिन सम्पन्न बैठकले सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख कोष नियन्त्रकलाई आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकेको आयोगका कानुन अधिकृत मोहनराज जोशीले बताउनु भयो । उहाँका अनुसार उनीहरूलाई आउदो फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिता प्रभावकारी कार्यान्वयन गरे÷नगरेको अनुगमन तथा कारबाहीसहितको अधिकार दिइएको छ ।
उहाँले भन्नुभयो, ‘यसअघि निर्वाचन आचारसंहिताबारे आयोगको केन्द्रीय कार्यालयले नै उजुरी लिँदै आएको थियो । यो निर्णयपछि सम्बन्धी जिल्लाबाटै आचारसंहिता उल्लंघन भए÷नभएको अनुगमन र कारबाहीको अधिकार प्रत्यायोजन गरिएको छ ।’
आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष पारदर्शी एवम् विश्वासनीय रुपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याइएको आयोगको भनाइ छ । स्मरणीय छ, आचारसंहिता, यही माघ ४ गतेदेखि लागू भइसकेको छ ।
प्रकाशित मिति २०८२ माघ १४, बुधबार १०:४० गते