काठमाडौं– रास्वपाका वरिष्ठ नेता तथा काठमाडौँका पूर्वमेयर बालेन साह सदम्पती घरमा नभएको मौका छोपेर उहाँको मण्डिखाटारस्थित घरमा तोडफोड र चोरी भएको छ । गएराति अज्ञात समूहले बालेन साहको काठमाडौंस्थित घरको गेटमा तोडफोड गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीले शाहको घरको गेटमा ग्रील फुटाइएको पाइएको जानकारी दिनु भयो । चोरहरूले सिसीटिभी क्यामेरा, डिभिआर र धाराका टुटीहरू चोरेर लगिएको माघ १७ गते खुलेको हो ।
नेता बालेन र उहाँकी पत्नी हाल बाहिर रहेको समयमा घरमा चोरी भएको हो । सो घट्ना बारेमा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । चोरहरू पर्खाल नाघेर घरभित्र पसेका थिए र यो काम ‘प्रोफेसनल’ चोरहरूको समूहले गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक आंकलन छ ।
चोरहरूले घरमा जडान गरिएका २– ३ वटा सिसीटिभी क्यामेरा, फुटेज रेकर्ड हुने डिभिआर (डीभीआर) मेसिन र बाथरुम तथा भान्साका धाराका टुटीहरू समेत चोरेर लगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य सामग्री चोरी भएको–नभएको भन्नेबारे थप खुलाइएको छैन ।
घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, महाराजगञ्ज प्रहरी वृत्त र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानका लागि खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताउनु भयो । उहाँले घटनाको पुष्टि गर्दै एक इन्स्पेक्टरको नेतृत्वमा विशेष टोली बनाएर अनुसन्धान भइरहेको जानकारी दिए । उहाँले भन्नुभयो, ‘प्रहरीको प्रारम्भिक अनुमान अनुसार चोरहरू पर्खाल नाघेर घरभित्र प्रवेश गरेका थिए । सिसीटिभी फुटेज र अन्य प्राविधिक पक्षको अध्ययन गर्दा यो काम ‘प्रोफेसनल’ चोरहरूको समूहले गरेको हुन सक्ने देखिएको छ ।’ प्रहरीका अनुसार सो घटना गत १४ गतेदेखि हिजो साँझको बीचमा भएको हुनसक्छ ।
हिजो साँझ बालेनको मामा ससुराका छोराले घर पुग्दा चोरी भएको थाहा पाएका थिएपछि उनले प्रहरीलाई खबर गरेका थिए । उनले घरमा पुगेर नियमित रूपमा घरमा बत्ती बाल्ने, निभाउने र बिरुवामा पानी हाल्न जाने जस्ता काम गर्दै आएका थिए । उनले भने, ‘हिजो साँझ घर पुग्दा मूल ढोका फोडिएको र सामानहरू तितरबितर भएको देखेपछि आफूले प्रहरीलाई खबर गरेका हुँ ।’
अहिले घटनास्थलको मुचुल्का उठाएर शंकास्पद व्यक्तिहरूको खोजी कार्य तीव्र पारेको प्रहरीले जनाएको छ ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा– ५ बाट उम्मेदवार रहनु भएका बालेन साह अहिले चुनावी प्रचारप्रसारका लागि कर्णाली पुग्नु भएको छ । डीएसपी बुढाथोकीले ‘के कति चोरी भयो भन्ने विवरण प्राप्त भइसकेको छैन ।’
उक्त घट्ना राजनीतिक रुपको हो होइन ? भन्ने कोणबाट पनि हेरिने भएको छ ।
प्रकाशित मिति २०८२ माघ १७, शनिबार १४:२० गते