काठमाडौं– पत्रकार दिनेश सिटौलाको निधन भएको छ । आज मध्याह्न १२ः४५ बजे उनको निधन भएको ग्राण्डी अस्पतालले प्रेस विज्ञप्तिमार्फत माघ १८ गते जानकारी दिएको हो ।
४५ वर्षीय पत्रकार दिनेश सिटौला अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)को चुनावी प्रचारमा जानु भएको थियो । उहाँ बालेनसँगै चुनावी प्रचारका क्रममा माघ १६ गते सिटौला अछाम पुग्नु भएको रहेछ । अछाम– २ का उमेदवार भूपदेव शाहको घर जाने क्रममा गाडीबाट ओर्लिंदा सिटौला एक्कासी बेहोस हुनु भएको थियो ।
बालेनको टिम माघ १५ गते डोटीमा बसेको अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले बताउनु भयो । उहाँका अनुसार त्यसपछि त्यो टोली अछामको साँफेबगर हुँदै मंगलसेन पुगेको थियो । उहाँले भन्नुभयो, ‘उहाँहरू १५ गते डोटी बस्नुभएको रहेछ । त्यसपछि अछामको साँफेबगर हुँदै मंगलसेन अछाम– २ का उमेदवार भूपदेव शाहको घर जाने क्रममा गाडीबाट ओर्लिंदा एक्कासी बेहोस हुनुभयो । त्यतिबेला अछामकै अस्पतालमा देखाउँदा टाउकोमा चोटपटक केही देखिएको थिएन ।’
सिटौला ढलेपछि रास्वपा अछामका सभापतिले सीडीओलाई सम्पर्क गरी नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको थियो । प्रजिअ बुढाले भन्नुभयो, ‘मलाई रास्वपा अछामका सभापतिले सम्पर्क गर्नुभएको थियो । त्यसपछि नेपाली सेनाको हेलिकोप्टरमा उपचारका लागि पठाइएको हो ।’
काठमाडौं ल्याउनुअघि उनलाई तत्कालै जिल्ला अस्पताल अछाम लगिएको थियो । त्यहाँ काडियोपल्मोनरी रेससिटेसन (सीपीआर) गरिएको थियो । र, लगभग ४५ मिनेटपछि उनको मुटुको चाल फर्किएको अस्पतालले जनाएको छ । मस्तिष्कको कार्यक्षमता जाँच गर्न (एप्निय) परीक्षण गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा कुनै सुधार नआएको र ब्रेन ह्यामरेजका कारण उनको निधन भएको अस्पतालले जनाएको छ ।
प्रारम्भिक उपचारका लागि अछाम अस्पताल पु¥याउँदा उनको स्वासप्रश्वास गइसकको थियो । पछि उनलाई कार्डियोपल्मोनरी रेससिटेशन (सिपिआर) गरी ४५ मिनेटपछि मुटुको चाल फर्किएको ग्राण्डी अस्पतालले जनाएको छ ।
उहाँलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित ग्राण्डी अस्पताल ल्याइएको थियो । पत्रकार सिटौला माघ १६ गते बिहान पौने १० बजे एकाएक लडेको बताइएको छ ।
ग्राण्डी अस्पतालले उनमा गम्भीर हेमोरेज भएकाले क्रिटिकल र न्यूरो सर्जरी टिमले आइसियूमा भर्ना गरेको थियो । ४८ घण्टासम्म अनुगमन गर्दा न्यूरोलोजिकल अवस्थामा कुनै सुधार नदेखिएको र मस्तिष्कको कार्यक्षमता पुनः प्राप्तिमा कुनै संकेत नदेखिएको पनि अस्पतालले जनाएको छ ।
पत्रकार सिटौलाको शव अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा दिउँसो २ः३० देखि ३ः०० बजेसम्म राखेर आजै अन्तिम संस्कार गरिने बताइएको छ । उहाँ फिल्म अनलाई द सिनेमा टाइम्सका सञ्चालक समेत हुनुहुन्छ ।
नुवाकोटका सिटौला चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।
प्रकाशित मिति २०८२ माघ १८, आईतवार १६:०८ गते