नेटा, धान्सिङ(लमजुङं)– लमजुङमा चौथो खुला रनिङ शिल्ड अन्तर मावि वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । मध्यनेपाल नगरपालिका– १० को यहाँ स्थित मालिका माध्यामिक विद्यालयको ४७ औं वार्षिकोत्सवको पावन अवसरमा उक्त प्रतियोगिता माघ १७ गते गरिएको हो ।
छ दिवसीय रुपमा मनाइएको वार्षिकोत्साल विद्यालयले विगतका तीन वर्ष अघि थालनी गरेको स्व. मानबहादुर गुरुङ तथा मैताकुमारी गुरुङको स्मृतिमा सो प्रतियोगिता हुँदै आएको छ । लमजुङका अतिरिक्त छिमेकी जिल्ला तनहुँ र कास्कीका समेत जम्मा ३० जनाले भाग लिएको सो प्रतियोगितामा लमजुङको विद्याज्योति माध्यामिक विद्यालय (खहरे)का अनुपम गौली(कक्षा– ८) पहिलो हुन सफल रहे । सो प्रतियोगितामा दोस्रो स्थान बेसीशहर स्थित अथर््ली प्याराडाइज आमाविकी छात्रा सुशना उप्रेती(कक्षा– ९) तथा जनविकास मावि बेसीशहरकी सिर्जना आचार्यले तेस्रो स्थान हासिल गरेको आयोजकको भनाइ छ ।
सो प्रतियोगितामा शान्ति मावि कुन्छाकी मन्दिरा गौलीले सान्त्वना स्थान हासिल गरेकी छिन् । विजयी विद्यार्थीहरू पहिलोलाई ५० हजार नगद रनिङ शिल्ड, कप तथा प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै, दोस्रो ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार तथा तीनै जनालाई कप र प्रमाणपत्र प्रदान गरिएको थियो । विजयी विद्यार्थीहरूलाई मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले पुरस्कार वितरण गर्नु भएको थियो ।
उक्त खुला रनिङ शिल्ड अन्तर मावि वादविवाद प्रतियोगिताको शीर्षक ‘कृतिम बुद्धिमत्ता ((AI)) मानव जीवनका लागि अवसर कि चुनौति’ रहेको थियो ।
स्व. मानबहादुर गुरुङ तथा मैताकुमारी गुरुङका कान्छा छोरा खेम गुरुङले आफ्ना दाजु सूर्यबहादुर, दिदी माला गुरुङलाई समेत उत्प्ररित गरी उक्त प्रतियोगिता १० वर्षका लागि सञ्चालन गर्नु भएको विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बस्नेतले बताउनु भयो । उहाँका अनुसार खेम गुरुङले गत वर्ष तीन लाख ३३ हजार ३३३ रुपैयाँ विद्यालयलाई अक्षयकोष समेत प्रदान गर्नु भएको थियो । उहाँले भन्नुभयो, ‘खेम गुरुङ बन्धुहरूले प्रत्येक रनिङ शिल्ड प्रमाणपत्र कप सहित कुल एक लाख ५० हजार सहयोग गर्ने गर्नु भएको छ ।’ यो प्रतियोगिता सञ्चालन गर्न १० वर्षका लागि सहमति भएको छ । यो, चौथो वर्ष भयो, अब छ वर्ष पछि उहाँहरूको सोच के आउँछ त्यस अनुसार कार्यक्रम अधि बढ्छ प्रअ बस्नेतले जानकारी दिनुभयो ।
प्रतियोगीहरूलाई मात्र ६ मिनेट समय उपलब्ध गराइएको थियो भने पोखरा विश्वविद्यालयका सहायक प्राध्यापक समित पौडेल निर्णायक संयोजक हुनुहुन्थ्यो ।
प्रतियोगीहरूले प्रविधि र मानव जीवनबीचको सम्बन्धलाई उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताले विद्यार्थीहरूलाई समसामयिक विषयमा तार्किक र विवेचनात्मक ढंगले आफ्ना विचार प्रस्तुत गर्न मौका दिइएको आयोजकको भनाइ छ । सहभागीहरूले एआईले शिक्षा, स्वास्थ्य, रोजगारी, सञ्चार तथा सुरक्षा क्षेत्रमा ल्याएका अवसर र त्यसबाट सिर्जित चुनौतीहरूबारे आत्मविश्वासका साथ आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
सो अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्ने वक्ताहरूले यस्ता वौद्धिक तथा शैक्षिक कार्यक्रमहरूले विद्यार्थीहरूको तार्किक क्षमता, अभिव्यक्ति कौशल र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी दिनमा प्रतियोगितालाई अझ प्रभावकारी र व्यवस्थित रूपमा निरन्तरता दिन आग्रह गरेका छन् ।
प्रअ बस्नेतका अनुसार माघ १२ गतेदेखि सुरु भएको वार्षिकोत्सवको गतिविधि १६ गते अन्तर प्राविस्तरका दुई प्रतियोगिता भएका थिए । उक्त वार्षिकोत्सव कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
स्मरणीय छ, दाता खेम गुरुङले मालिका मन्दिर व्यवस्थापन ११,११, १११ रुपैयाँ प्रदान गर्नु भएको थियो ।
प्रकाशित मिति २०८२ माघ १९, सोमबार २०:२७ गते