नागरिकता अभिलेखमा विद्युतीय कीर्ते गर्ने दुई जनालाई तेह्र दिनको कैद र २० हजार रुपैयाँ जरीवानाको सजाय

नागरिकता अभिलेखमा विद्युतीय कीर्ते गर्ने दुई जनालाई तेह्र दिनको कैद र २० हजार रुपैयाँ जरीवानाको सजाय

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ माघ २६ गते सोमबार ०८:४१

मुद्दाको प्रकृति अनुसार विदेश (यूके) जानका लागि नागरिकता अभिलेख बाबुको सट्टामा हजुरबानाता पर्नेको नाउँ सच्याउनका लागि प्रयास गरेको रहस्य खुल्न आएको हो । तर विद्युतीय रेकर्ड सच्याएको भए पनि नागरिकता लिन भने भ्याई नसकेको स्थिति रहेको देखिन्छ ।

सो मुद्दामा ७० हजार रुपैयाँसम्मको जरिवाना र ६ महिनासम्म कैद सजायको हुन सक्ने अभियोग पत्रमा उल्लेख गरिएको थियो ।

बेसीशहर– लमजुङमा नेपाली नागरिकताको लिखत अभिलेखमा विद्युतीय कीर्ते गर्ने दुई जनालाई जनही तेह्र दिन कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएको छ । लमजुङ जिल्ला अदालतबाट माघ २६ गते त्यस्तो फैसला भएको हो ।
जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले सो मुद्दाका प्रतिवादी द्वय लमजुङको बेसीशहर नगरपालिका– ४ मा स्थायी बसोबास भएकी सविता गुरुङ र चितवन जिल्लाको भरतपुर नगरपालिका– १३ मा स्थायी बसोबास भएका जिल्ला प्रशासन कार्यालय लमजुङका तत्कालीन नायव सुब्बा अशोक भण्डारीलाई त्यस्तो सजय हुने फैसला गरेको हो । भण्डारीले गुरुङको नागरिकतामा किर्ते गरी सच्याउनका लागि नागरिकताको लिखत रहेको विद्युतीय रेकर्ड सच्याउने काममा सहयोग गरी कीर्ते गरेको रहस्य त्यो बेलानै खुलेको थियो । गुरुङको नागरिकताको विद्युतीय अभिलेख सच्याएर नागरिकताको प्रतिलिपि लिने तयारी गर्दै गर्दा घट्ना बाहिरिएको स्रोतको भनाइ छ ।
सरकार वादी हुने उक्त नागरिकता लिखत विद्युतीय अभिलेख कीर्ते मुद्दा जिल्ला प्रशासन कार्यालय लमजुङको जाहेरीले २०८१ सालको चैत २७ गते जिल्ला अदालतमा दर्ता भएको थियो । सो मुद्दाको सुनुवाई हुने क्रममा २०८२ सालको माघ ११ गते गुरुङ र भण्डारी दोषी हुने ठहर जिल्ला अदालतबाट भई आजका लागि फैसला गर्ने तारेख तोकिएको थियो ।
सोही अनुसार उक्त मुद्दाको सुनुवाईको क्रममा जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले सो मुद्दाका प्रतिवादी द्वय गुरुङ र भण्डारीलाई जनही १३ दिनको कैद सजाय हुने र दुवैलाई २० हजारका दरले जरिवाना हुने आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी एवम् तहसिलदार(शाखा अधिकृत) अमृत मिश्रले बताउनु भयो । उहाँका अनुसार सो मुद्दामा ७० हजार रुपैयाँसम्मको जरिवाना र ६ महिनासम्म कैद सजायको हुन सक्ने अभियोग पत्रमा उल्लेख गरिएको थियो ।

मुद्दाको प्रकृति अनुसार विदेश (यूके) जानका लागि नागरिकता अभिलेख बाबुको सट्टामा हजुरबानाता पर्नेको नाउँ सच्याउनका लागि प्रयास गरेको रहस्य खुल्न आएको हो । तर विद्युतीय रेकर्ड सच्याएको भए पनि नागरिकता लिन भने भ्याई नसकेको स्थिति रहेको देखिन्छ ।
सो काण्ड बाहिरिएसँगै जिल्ला प्रशासन कार्यालय लमजुङका तत्कालीन नायव सुब्बा भण्डारीले जागिर छाडेका थिए । उनले हालै लोकसेवा आयोगबाट परराष्ट्र मन्त्रालयको शाखा अधिकृतमा नाम निकाल्न सफल भएको समेत बुझिएको छ । यो मुद्दा परेपछि जागिर छाडेका उनले यो फैसला पछि उनको भावि नोकरीमा समेत प्रश्न उठ्ने स्थिति उत्पन्न भएको स्रोतले बताएको छ । सो मुद्दाकी अर्की प्रतिवादी गुरुङ भने वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेको जानकारीमा आएको छ ।

प्रकाशित मिति २०८२ माघ २६, सोमबार २०:४१ गते
हजुरको प्रतिक्रिया