पर्यटनको क्षेत्रमा इतिहास धेरैको रुचिको बिषय बन्दछ । इतिहास बितेका सत्यतथ्य घटनाहरूको यथार्थ विवरण हो । त्यसैले पर्यटनका लागि इतिहास निरन्तर खोज र अनुसन्धानको विषय हो । सबै इतिहास दृश्यमान हुँदैन । इतिहासका कतिपय पाटा अदृश्य छन । लमजुङको आफ्नै गौरवपूर्ण इतिहास छ । लमजुङको पुरातात्विक सम्पदाको इतिहास धेरै लुकेको छ । त्रिवेणी धाममा अवस्थित त्रैलोकेश्वर शिव मन्दिर पुरातात्विक सम्पदा हो । तर यो मन्दिरको खोज अनुसन्धान भएको थिएन । त्रिवेणीमा कुनै शिला लेख त छैन तर जनश्रुति अनुसार चिती रामचोक बेसीको त्रैलोकेश्वर शिव मन्दिर लमजुङका शाहाकालीन राजाहरूको पालामा स्थापना भएको मानिन्छ ।
पर्यटकहरूले जहिले पनि घुम्ने ठाउँ नयाँ खोज्दछन । आफू नपुगेको ठाउँ पर्यटनको लागि नयाँ बन्दछ । नयाँं ठाउको ऐतिहासिक र पुरातत्विक स्थल धार्मिक, सांस्कृतिक परम्पराहरू र नयाँ खानपान पर्यटकहरूको रुचिको बिषय हुन्छ । पर्यटन भनेको आँफैमा बृहत क्षेत्र हो । पर्यटन भित्र धार्मिक पर्यटनको महत्व छुट्टै हुन्छ । धार्मिक पर्यटन आस्था, विश्वास, साधना र धार्मिक जिज्ञासाका कारण गरिने यात्रा हो । धार्मिक यात्रामा तीर्थाटन, दर्शन, व्रत–अनुष्ठान, धार्मिक उत्सव तथा मेलामा सहभागिता प्रमुख उद्देश्य हुन्छ । धार्मिक पर्यटक आध्यात्मिक भावनाले प्रेरित भई धार्मिक स्थलको खोजीमा हुन्छन । धार्मिक पर्यटनमा आध्यात्मिक शान्ति, आत्मिक सन्तोष र सांस्कृतिक अनुभूति पनि जोडिएको हुन्छ । चिति रामचोक बेसी त्रिवेणीको त्रैलोक्यश्वर महादेव धार्मिक आस्थाको केन्द्र हो । त्रिवेणी धाममा सुषुप्त अर्थात लुकेर रहेको शिवको प्रतिमालाई सार्वजनिक गरी मन्दिर निर्माण गर्नु केवल भौतिक संरचना खडा गर्नु मात्र होइन, धार्मिक पर्यटनको बिकासमा इतिहास धर्म र संस्कृतिको संरक्षण पनि हो ।

इतिहासमा रुचि राख्ने पर्यटकहरूका लागि पुनः निर्मित भएको त्रैलोक्यश्वर महादेवको मन्दिरमा पुग्नै पर्ने हुन्छ । इतिहासको कुनै शिलालेख त छैन तर पनि जनश्रुति अनुसार त्रैलोक्यश्वर महादेवको मन्दिर पुरातात्विक सम्पदा हो । त्रिवेणी धाममा सुषुप्त अर्थात लुकेर रहेको महादेवको पत्थर शिलालाई २०१३ ससालमा स्थानीय एकलाल पाण्डे, डिल्लीध्वज सेडाई र देवकुमारी सेडाइको अगुवाईमा मन्दिर निर्माण भै पुजाआजा सञ्चालन भएको थियो । जुन मन्दिर ०७२ को भूकम्पले भत्काएको थियो । पछिल्लो समय मन्दिर संरक्षण समितिले नगरपालिका र स्थानीय पाचँसय भन्दा बढी दानवीरहरूको सहयोगमा मन्दिर पुनः निर्माण भएको छ । मन्दिर निर्माणमा सयौं धार्मिक समाजसेवी, श्रद्धालु र स्थानीयवासीहरूको आर्थिक तथा श्रमदान सहयोग रहेको छ । यो केवल एउटा मन्दिर निर्माण होइन, सामूहिक आस्था र एकताको प्रतिफल हो । स्थानीयस्तरमा उठेको यो अभियानले धार्मिक चेतनासँगै सामाजिक एकताको सन्देश दिएको छ । प्राकृतिक धार्मिक स्थल आफैंमा आकर्षक भए पनि तीर्थयात्रीलाई सहजता दिन पूर्वाधार अनिवार्य हुन्छ । सडक, खानेपानी, शौचालय, आवास, पार्किङ, विश्रामस्थल, धार्मिक कार्यक्रम आयोजना गर्ने खुला क्षेत्र— यी सबै कुरा धार्मिक पर्यटनका आधार हुन ।
रामचोक बेसीको त्रिवेणी धाम धार्मिक विश्वासको केन्द्र बन्दै गएको छ । यहाँको प्राकृतिक शान्त वातावरण, हरियाली डाँडाकाँडा र नदीको कलकल ध्वनीले धार्मिक पर्यटकहरूलाई आध्यात्मिक अनुभूति दिन्छ । त्रिवेणीको धार्मिक आधार त्रिवेणी शब्दले तीन नदी वा तीन जलधाराको संगमलाई जनाउँछ । हिन्दु दर्शनमा संगम स्थललाई अत्यन्त पवित्र मानिन्छ । तर रामचोक बेसीको त्रिवेणीमा भने दोर्दी र मर्स्याङदी नदीको संगम अर्थात दोभान मात्र छ । त्रिवेणी शब्द धार्मिक, सांस्कृतिक र भौगोलिक तीनै सन्दर्भमा जोडिएको छ । हिन्दु दर्शन र पुराणमा त्रिवेणी भन्नाले प्रायः तीन पवित्र नदीहरूको संगम हो । तर भारतको प्रयागराजको त्रिवेणीमा गङ्गा र यमुना प्रत्यक्ष देखिन्छ भने सरस्वती भूमिगत रुपमा प्रवाहित भएको विश्वास गरिन्छ । यसैले देखिने दुई ंअदृश्य एक त्रिवेणी नेपालका धेरै त्रिवेणी क्षेत्रमा छन । त्रिवेणी संख्यात्मक भन्दा भावनात्मक शब्द बनेको छ । तर पनि सबै दोभान त्रिवेणी हुँदैन जहाँ धार्मिक कथा, शिवस्थल, स्नान–दान परम्परा जोडिन्छ त्यहाँ दोभान स्वतः त्रिवेणी मानिन्छ । त्रिवेणीमा स्नान गर्दा पाप क्षय हुने, पुण्य वृद्धि हुने र मनोकामना पूरा हुने विश्वास रहिआएको छ ।
त्रैलोक्यश्वर अर्थात तीनै लोकका ईश्वर भगवान शिव । त्रिवेणीको पवित्र जल र शिवको आध्यात्मिक शक्ति मिलेर धार्मिक पर्यटनलाई त्रिवेणी धामलाई पवित्र बनाएको छ । दार्दी र मर्स्याङदी नदीको सगम स्थल त्रिवेणीको पौराणिक धार्मिक महत्वसँग छ । दोर्दी अर्थात नर्मदा र मर्स्याङदी अर्थात कर्मदा दुबै नदी हिमालदेखि उदगम भएको हो । कर्मदा शब्द कर्म काम र धर्मकर्म दान दिने नदी । त्यसैले मर्स्याङदी अर्थात कर्मदा नदीमा स्नान वा दान गर्नाले पाप नास भएर पुन्य प्राप्ति हुन्छ भन्ने मान्यता छ । यही विश्वासका कारण मर्स्याङदीको किनारका मन्दिरहरू धार्मिक स्नान र तर्पणका लागि पवित्र मानिन्छ । मर्स्याङदी अन्नपूर्ण हिमालको फेदीबाट अर्थात मनाङको तिलिचो तालको बेस खाङसार खोला र न्यार्खू खोलाको दोभानबाट उदगम भएको छ । हिमालको गर्भबाट उदगम भएको मर्स्याङदी नदीको पानीमा हिमालको पवित्रता, यसको घाटहरू पििबत्र मानिएको छ । मर्स्याङदी मानव सभ्यताको इतिहास संस्कृति, धर्म र पर्यटनको यात्रासंग जोडिएको छ ।
मर्स्याङदी नदीको पानीलाई गगां जलको विकल्प मानिन्छ । जसले पाप धोएर आत्मा शुद्ध गर्ने विश्वास छ । स्थानीय लोककथा अनुसार मर्स्याङदी क्षेत्र ऋषि–मुनीहरूको तपोभूमि हो । लमजुङ र मनाङका विभिन्न स्थानहरुमा रहेका पुराना गुम्बा, मन्दिर र देवस्थानहरु यस कुराको प्रमाण हुन । बौद्ध समुदायका लागि मर्स्याङदी क्षेत्र ध्यान, मौन र मुक्तिको भूमि हो भने, हिन्दूहरूका लागि मर्स्याङदी नदी स्नान, तर्पण र श्राद्धको पवित्र स्थल हो । मस्र्याङदीमा स्नान गर्नेले सात जन्मका पाप धोएर आठौं जन्ममा मुक्ति पाइने धार्मिक विस्वास छ । यो विश्वासले मर्स्याङदीका घाटहरूलाई आज पनि धार्मिक पर्यटनको केन्द्र भएको छ । अर्कोतर्फ दोर्दीको नाम महर्षि दुर्वासा ऋषिले तपस्या गरेको तपोभूमि मानिन्छ । दुर्वासा ऋषिले तपस्या गरेको स्थल मेमे, नार्सीङ र दुध पोखरी क्षेत्रको पनि छुट्टा छुट्टै धार्मिक कथा र महत्व छन । नदी किनारका धार्मिक–आध्यात्मिक महत्वका त्रिवेणी घाटलाई पवित्र तीर्थ स्थल मानिन्छ ।
पर्यटन भित्र भूगोल, इतिहास र संस्कृति पर्दछन । आजभोलि पर्यटनको क्षेत्र केवल प्रकृति, संस्कृति र हिमश्रृखलामा मात्र हुदैन । पर्यटन भित्र पनि इतिहासको खोज अनुसन्धानमा पनि पर्यटकहरूको रुचि हुन्छ । लमजुङमा शाहवंशको शुरुवाति शासनकालमा चितिमा कमली, तिवारी, पन्त, विष्ट र पाण्डे चितिका सुरुका बासिन्दा हुन । राजा यशोब्रम्ह शाह वि.सं १५५० सालमा लमजुङको राजा भएपछि चितिलाई चेतना भएका मानिसहरू बसोवास गर्ने स्थलको रुपमा लिइएको थियो । चिति शब्द ‘चेतना इति’ मिलेर चिति बनेको हो । जसको अर्थ चेतनायुक्त मानिस बस्ने भएको हुनाले चिति नामाकरण भएको हो । चितिमा राजा नरहरि शाहको पालामा स्थापना भएको रामचोकको निशान गढी कालिका मन्दिर र उदिपुरको कालिकाको मन्दिर ऐतिहासिक हुन । कालिका मन्दिर पर्यटनको लागि प्राकृतिक भ्युटावर पनि हो । मन्दिर परिशरबाट नागवेली आकारमा बग्दै आएका मर्स्याङदी र दोर्दी खोलाको दोभान त्रिवेणी अवलोकन गर्न सकिन्छ । मध्य मर्स्याङदी पावर हाउसको बाध र हिमालय हाइड्रो पावरको विद्युतगृह पनि कालिका मन्दिर परिशरबाट देख्न सकिन्छ । पर्यटकहरूले अर्कोतर्फ रामचोकको निशान कालिका मन्दिर र त्रिवेणीमा रहेको त्रिलोक्यश्वर महादेवको मन्दिर समेत कालिका मन्दिरबाट देख्न सकिन्छ ।

त्रिवेणीमा शिवरात्रीमा धार्मिक मेला लाग्ने गर्दछ । शिवरात्री हिन्दू धर्ममा भगवान शिवको आराधनाका लागि समर्पित महापर्व हो । शिवलाई सृष्टिका संहारकर्ता, योगी, तपस्वी र करुणामय देवताका रुपमा पूजा गरिन्छ । शिवरात्रीको रात जाग्राम बसेर पूजा–अर्चना, ध्यान, जप, अभिषेक र व्रत गर्ने धार्मिक परम्परा छ । शिवरात्रीको धार्मिक महत्वसँगै रामचोक बेसीको त्रिवेणीमा सांस्कृतिक विविधता पनि जोडिएको छ । भजन– कीर्तन, दीप प्रज्वलन र मेलाले त्रिवेणीमा रमणिय हुन्छ । त्रिवेणी मेलाले धार्मिक आस्थालाई सामूहिक उत्सवमा रुपान्तरण गर्दछ । त्रैलोक्यश्वर महादेव मन्दिर निर्माणसँगै त्रिवेणी क्षेत्र धार्मिक गतिविधिको केन्द्र बन्दै गएको छ । शिवरात्रि, तीज, साउन महिनाको बोलबम यात्रा, एकादशी, संक्रान्ति आदिमा तीर्थाटनका लागि पुग्दछन ।पर्यटकले गाउँको इतिहास खोज्नु भनेको राजाको मात्र इतिहास खोज्नु होइन । पर्यटकहरुले खेत जोत्ने किसानको कथा, बसाइँ सरेर आएका पुर्खाको स्मृति, खोलाले बाटो फेरिदिँदा बदलिएको जीवनशैली, मेला,पूजा, परम्पराले बाँधेको सामूहिक चेतना समेत खोज्दछन ।
इतिहासले दृश्यलाई आत्मा दिन्छ । पर्यटकहरुलाई इतिहास र संस्कृतिमा रुचि हुन्छ । किनकि प्रकृतिले आँखालाई सन्तुष्टि दिन्छ । इतिहासले मनलाई अर्थ दिन्छ । संस्कृतिले यात्रालाई स्मरणीय बनाउँछ । धार्मिक पर्यटनले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँछ । तीर्थयात्रीको आगमनले होटल, पसल, यातायात, कृषि उत्पादन र स्थानीय हस्तकला व्यवसायलाई टेवा पुर्याउँछ । त्रिवेणीमा धार्मिक पर्यटकको वृद्धि हुँदा स्थानीय कृषिजन्य उत्पादन, प्रसाद सामग्री, फूलमाला, धार्मिक सामग्री आदिको व्यापार विस्तार हुन सक्छ । त्रैलोक्यश्वर महादेव मन्दिरले चिति क्षेत्रको सांस्कृतिक पहिचानलाई बलियो बनाएको छ । स्थानीय भजन–कीर्तन, धार्मिक अनुष्ठान, कथा–प्रवचन, महायज्ञजस्ता कार्यक्रमले रामचोकबेसीको सांस्कृतिक जीवन्तता बढाउन सक्छ । धार्मिक पर्यटनले केवल आर्थिक समृद्धि मात्र होइन, सांस्कृतिक पुनर्जागरणको मार्ग पनि प्रशस्त गर्छ । अब त्रिवेणी क्षेत्रलाई दीर्घकालीन योजनासहित विकास गर्नु पर्दछ । पर्यटनका लागि ध्यान–योग धर्मशाला, पर्यावरणमैत्री पदमार्ग, धार्मिक अध्ययन केन्द्र जस्ता परियोजना सञ्चालन गर्न सकिन्छ । यसले धार्मिक पर्यटनलाई प्रकृतिसँग सन्तुलित रुपमा अघि बढाउन मद्दत पुर्याउछ । स्थानीय सरकार, पर्यटन व्यवसायी र धार्मिक संस्थाहरूबीच समन्वय भयो भने त्रैलोक्यश्वर महादेव मन्दिर लमजुङको धार्मिक नक्सामा उज्यालो तारा बन्ने निश्चित छ ।
रामचोकबेसीको त्रिवेणीमा निर्माण गरिएको त्रिलोकेश्वर महादेव मन्दिर केवल एक धार्मिक संरचना मात्र होइन, त्यो चिति गाउँको पहिचान, विश्वास र पर्यटनको उज्यालो दीपस्तम्भ बनेको छ । मन्दिर निर्माण भएपछि चितिको रामचोकबेसी गाउँलाई धार्मिक पर्यटनको नक्सामा उल्लेखनीय रुपमा स्थापित गराएको छ । त्रिलोकेश्वर महादेव मन्दिरले चिति गाउँलाई आस्थाको केन्द्र मात्र बनाएको छैन, यसले गाउँको आर्थिक, सांस्कृतिक र पर्यटन विकासमा उल्लेखनीय योगदान दिएको छ । आज चिती गाउँ केवल एक भौगोलिक स्थान होइन, श्रद्धा, शान्ति र सम्भावनाको प्रतीक बनेको छ । त्रिवेणीको संगमजस्तै यहाँ धर्म, प्रकृति र विकास एकै ठाउँमा मिसिएका छन र यही संगमले चितिलाई नयाँ उज्यालो भविष्यतर्फ डोर्याइरहेको छ । त्रिलोकेश्वर महादेव मन्दिरले धार्मिक गतिविधि मात्र होइन, सांस्कृतिक चेतना पनि जगाएको छ । त्रिलोकेश्वर महादेव मन्दिरमा भजन–कीर्तन, धार्मिक प्रवचन, सांस्कृतिक कार्यक्रमहरू आयोजना हुन थालेका छन । यसले नयाँ पुस्तालाई आफ्नै संस्कार र परम्परासँग जोडने काम गरेको छ । चिति गाउँको पर्यटनमा नक्काकन थपिएको छ ।
त्रिवेणी धाम कसरी जाने ?
बेसीशहर नगरपालिका– ११ को त्रिवेणी धाम पुग्ने विभिन्न बाटाहरू छन । आफ्नै साधन भए उदिपुरदेखि रिठ्ठे बगर हँुदै ५ किलो मिटरको यात्रामा त्रैलोक्यश्वर महादेव मन्दिर पुग्न सकिन्छ । अर्कोतर्फ पद यात्रामा रम्न खोज्ने पर्यटकहमर्स्याङदी ले डूम्रे–बेसीशहर मोटर मार्गमा पर्ने रामदीदेखि हिमालय हाइड्रो पावर नजिकको झलुङेपुल तरेर पनि आधा घन्टाको पद यात्रामा पुग्न सकिन्छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८२ फाल्गुन १, शुक्रबार १६:४९ गते