२०८३ सालको पात्रो सार्वजनिक : कुन पर्व कहिले ?

२०८३ सालको पात्रो सार्वजनिक : कुन पर्व कहिले ?

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण १ गते शनिवार ०३:५४

२०८३ को चैत्र ७ गते फागु पूर्णिमा पहाडी जिल्लामा होली र ८ गते तराईमा होली खेली मनाउने प्रचलन छ । चैत्र २३ गते घोडेजात्रा पर्व परेको पञ्चाङ्ग पात्रोमा उल्लेख छ ।

बडादशैंको विजयादशमीटीका कार्तिक ४ गते र तिहारको भाइटीका कार्तिक २५ गते परेको छ ।

काठमाडौँ– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको पात्रो ‘पञ्चाङ्ग’ सार्वजनिक गरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले फागुन २ गते २०८३ सालको पात्रो सार्वजनिक गरेको हो ।
२०८३ सालमा मनाइने प्रमुख चाडपर्वको तिथि र मितिको बारेमा सो पात्रोमा उल्लेख गरिएको छ । जस अनुसार वैशाख ४ गते आमाको मुख हेर्ने दिन परेको छ । यो दिन मातातीर्थमा गएर स्नान गरी मनाइन्छ । ७ गते सोमबार अक्षय तृतीया र त्रेतायुग सुरु भएको मानिन्छ । वैशाख १८ गते गौतमबुद्ध जयन्ती, चण्डीपूर्णिमा तथा उभौली पर्व परेको छ ।
यसैगरी, असार ११ गते निर्जला एकादशी व्रत, यस दिन घरघरमा तुलसीको दल राख्न प्रचलन छ । साउन १ गते श्रावण सङ्क्रान्ति, लुतो फाल्ने दिनको रूपमा मनाइन्छ । साउन ९ गते हरिशयनी एकादशी व्रत परेको छ । यस दिन तुलसीको बिरुवा रोपण गरिन्छ । सोही दिनबाट चतुर्मास व्रत सुरु शास्त्रीय विधान छ ।
साउन १३ गते गुरुपूर्णिमा परेको छ, यस दिन हामी शिक्षा दिने गुरुहरूको सम्झनामा व्यास जयन्ती मनाउने गरिन्छ । साउन २८ गते गुँला धर्म आरम्भ हुनेछ ।
त्यस्तै, भदौ सक्रान्ति अर्थात १ गते नागपञ्चमी परेको छ । भदौ १२ गते रक्षाबन्धन, ऋषितर्पणी पूर्णिमा वा जनैपूर्णिमा मनाइन्छ । भदौ १३ गते गाईजात्रा, १९ गते श्रीकृष्ण जन्माष्टमी व्रत, जसलाई मोहरात्री पनि भनिन्छ । भदौ २६ गते कुशे औँसी परेको छ, जुन दिन हामी बुवाको मुख हेर्ने दिनको रूपमा मनाउँछौँ ।
भदौ २७ गते गुँला धर्म समाप्ति हुनेछ । भदौ २८ गते तीजको दर खाने दिन परेको छ । २९ गते महिलाहरूको चाड हरितालिका तीज व्रत परेको छ । भदौ ३० गते ऋषिपञ्चमी व्रत रहेको छ ।
यसैगरी, नेपाली मात्रका सबैभन्दा ठूलो पर्व बडादशैं पर्ने असोज महिनाको १ गते विश्वकर्मा पूजा, ९ गते चतुर्दशी व्रत तथा कुमारी इन्द्रजात्रा परेको छ । असोज ११ गतेबाट सोह्रश्राद्ध सुरु भई असोज २४ गते औँसी श्राद्ध गरिसकेपछि पितृ विसर्जन गरिनेछ । सोह्रश्राद्धमा दिवंगत भएका पितृहरूको सम्झनास्वरूप उनीहरूको भक्तिभावका साथ श्राद्ध गर्ने शास्त्रीय मान्यता रहेकोछ ।
असोज २५ गतेबाट विधिवत् रूपमा महानव पर्व बडादशैँ सुरु हुनेछ । २५ गते घटस्थापना स्थापना गरिन्छ भने यही दिनबाट नवरात्र आरम्भ हुनेछ । असोज ३१ गते फूलपाती पर्व मनाइन्छ । कार्तिक १ गते महाअष्टमी पर्व मनाइन्छ । यस दिनलाई भौमाष्टमी, गोरखकाली पूजा तथा कालरात्रि समेत भनिन्छ । ३ गते महानवमी परेको छ भने ४ गतेका दिन विजयादशमी अर्थात् मान्यजनबाट बडादशैंको टीका लगाउने, देवी विसर्जन गर्ने गरिन्छ । ८ गते पूर्णिमा व्रत वा कोजाग्रत व्रत मनाएसँगै विधिवत् रूपमा बडादशैँ पर्व समाप्त हुनेछ । कार्तिक ९ गते कार्तिक स्नान, आकाशदीपदान आरम्भ हुनेछ ।
कार्तिक २० गतेबाट विधिवत् रूपमा तिहार सुरु हुनेछ । २० गते प्रदोष व्रत, धन्तेरस, धनत्रयोदशी, यमदीपदान मनाइन्छ । २१ गते काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइन्छ । २२ गते नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मी पूजा मनाइन्छ र यही दिनलाई सुखरात्री समेत भनिन्छ । २३ गते गाई पूजा गरिन्छ । २४ गते गोवर्धन पूजा, म्ह पूजा मनाइन्छ र यही दिन नेपाल संवत् ११४७ आरम्भ हुनेछ । २५ गते यमद्वितीया अर्थात् भाइटीका लगाइन्छ । २९ गते डाला पर्व र षष्ठी पर्व मनाइन्छ ।
यसैगरी, मंसिर ४ गते हरिबोधनी एकादशी व्रत रहेको छ । सो दिन तुलसीको विवाह गरिन्छ । ८ गते पूर्णिमा व्रत, कार्तिक स्नान र चतुर्मास व्रत समाप्ति हुनेछ । मंसिर २१ गते बालाचतुर्दशी परेको छ । यस दिन दिवंगत भएका आफन्तको नाममा धार्मिक स्थलहरूमा सतबीज छर्ने परम्परा रही आएको छ । २८ गते विवाह पञ्चमी, यस दिन जनकपुरमा सीता–रामको विवाह गर्ने परम्परागत प्रचलन रहेको छ ।
पुस ९ गते धान्यपूर्णिमा, धान्यपर्वतदान तथा उधौली पर्व मनाइन्छ । माघ १ गते माघे सङ्क्रान्ति, माघी पर्व मनाइन्छ भने यही दिनबाट उत्तरायण सुरु हुनेछ । माघ ८ गते पूर्णिमा व्रत, श्रीस्वस्थानी व्रत सुरु र माघ स्नान आरम्भ हुनेछ । माघ २४ गते सोनाम ल्होसार, माघ २८ गते वसन्त पञ्चमी (श्रीपञ्चमी) परेको छ । यस दिन सरस्वती माताको पूजा गरी शिक्षा प्राप्तिको कामना गरिन्छ ।
फागुन ८ गते माघ स्नान समाप्ति र एक महिना लामो श्रीस्वस्थानी व्रत पनि समापन गरिन्छ । फागुन २२ गते महाशिवरात्रि परेको छ भने २५ गते ग्याल्पो ल्होसार परेको छ ।
त्यस्तै, २०८३ को चैत्र ७ गते फागु पूर्णिमा पहाडी जिल्लामा होली र ८ गते तराईमा होली खेली मनाउने प्रचलन छ । चैत्र २३ गते घोडेजात्रा पर्व परेको पञ्चाङ्ग पात्रोमा उल्लेख छ ।

प्रकाशित मिति २०८२ फाल्गुन २, शनिबार १५:५४ गते
हजुरको प्रतिक्रिया