काठमाडौँ– पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ नेता विश्वबन्धु थापाको निधन भएको छ । थापाको मण्डिखाटारस्थित हेम्स अस्पतालमा निधन भएको फागुन २ गते साँझ निधन भएको हो । उहाँ ९८ वर्षका हुनुुहुन्थ्यो ।
वि.सं. २००७ को क्रान्तिका योद्धासमेत रहेका थापा आठ दशकदेखि नेपालको राजनीति र प्रजातान्त्रिक आन्दोलनका साक्षी मानिनुहुन्छ । २००७ सालदेखि पछिल्लो समयसम्मका राजनीतिक घटनाक्रमका साक्षी रहेको थापाको निधनले देशले एक इतिहास पुरुष गुमाएको र राप्रपाले आफ्नो अग्रज नेता गुमाएको राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार राप्रपा निर्माणमा स्वर्गीय थापाको योगदान सदैव आदरपूर्वक स्मरणीय रहने छ ।
थापालाई भीमसेन थापाका पाँचौँ पुस्ताका सदस्य मानिन्छ । नेपाली कांग्रेसको महामन्त्री, तत्कालीन मन्त्रिपरिषद्को उपाध्यक्षसमेत थापा हुनु भएको थियो । तत्कालीन राजा महेन्द्रले वि.सं २०१७ साल पुस १ मा जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालालाई अपदस्त गरी निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि थापा मन्त्री हुनु भएको थियो ।
राष्ट्रिय पञ्चायतका अध्यक्षसमेत हुनु भएका थापा पञ्चायतलाई वैचारिक र सांगठनिक रूपमा नेतृत्व दिने व्यक्तित्वका रुपमा परिचित हुनुहुन्थ्यो ।
राप्रपाका नेता कमल थापाले सामाजिक सञ्जालमा तात्कालीन राजा महेन्द्रका विश्वासपात्र र नेपाली कांग्रेसका सभापति बीपी कोइरालाका अनुयायी रहेको उल्लेख गर्नु भएको छ । स्वर्गीय थापाको आज फागुन गते अन्त्येष्टि गरिने राप्रपा स्रोतले जनाएको छ ।
प्रकाशित मिति २०८२ फाल्गुन ३, आईतवार ०७:३० गते