नौथर(लमजुङ)– लमजुङमा ट्याक्टर दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ । दोर्दी गाउँपालिका– १ को ढिनगाउँ स्थित लाकुरी भञ्ज्याङमा फागुन ८ गते विहान करिब ११ बजेतिर सो दुर्घटना भएको प्रहरी भनाइ छ ।
दोर्दी गाउँपालिका– १ को ढिनगाउँ स्थित लाकुरी भञ्ज्याङबाट ढिनगाउँतर्फ अघि बढ्दै गरेको ग १ त ४३९४ नं.को ढुङ्गा लोड भएको ट्याक्टर ब्रेक फेल भई ट्याक्टरको अगाडिको भाग पल्टिदा दुर्घट्ना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी भनाइ छ । सो घटनामा परेका ट्याक्टर चालक नुवाकोट स्थायी घर भई हाल सुन्दरबजार नगरपालिका– ६ मा बस्दै आएका अन्दाजी ३७ वर्षीय शेरबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार ट्याक्टरको अगाडिको ईन्जिनको भागले च्यापिएको अवस्थामा रहेका घाईतेलाई निकाल्नको लागि जे.सि.बी.लाई बोलाउनु परेको थियो । उक्त ट्याक्टर ढुंगा लोड गरेर अघि बढ्न खोज्दा ब्रेकले काम नगरेपछि ट्याक्टर पल्टिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पल्टिने क्रममा ट्याक्टरको अगाडिको इञ्जिनसहितको भाग माथि उठेर पुनः झर्दा चालक बसेको सिट च्यापिन गएको देखियो जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक अभिषेक पाण्डेले बताउनु भयो । उहाँका अनुसार सोही क्रममा ट्याक्टरले थिचेर तामाङको ज्यान गएको बुझिएको स्थिति छ ।
घटनाबारे जानकारी पाएसँगै प्रहरी निरीक्षक अभिषेक पाण्डेको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो । प्रहरी पुग्दा चालक तामाङ ट्याक्टर मुनि च्यापिएको अवस्थामा मृत भेटिएका थिए । शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाउने क्रममा पोष्टमार्टमका लागि प्रदेश अस्पताल लगिएको छ ।
प्रकाशित मिति २०८२ फाल्गुन ८, शुक्रबार २०:१३ गते