राष्ट्रिय स्वतन्त्र पार्टी देशका इमान्दार र क्रियाशील नेताहरूको बाहुल्यता रहेको दल देखिन्छ । बालेनदेखि रविसम्म नै पुराना दलहरूका अरु नेताहरू भन्दा अपेक्षाकृति इमान्दार छन् । रविले सहकारीमा गल्ती नै गरेको मान्दा पनि सहकारी छोडेर राजनीतिमा लागेपछि उनले सरकारमा बस्दा कुनै गल्ती गरेनन् र राम्रो कार्य गरे भन्न कुनै कन्जुस्याई गर्न आवश्यक छ जस्तो लाग्दैन । तर उनी प्रति पुर्वाग्रह राखेर दुःख दिने कार्य भयो । उनले भन्दा धेरै बिवादास्पद कार्य गर्नेहरू रहेका दलहरूले उनलाई लखेट्नु आफ्नो शरीरमा भैंसी नदेख्नु अरुको शरीरमा जुम्रा देख्नु जस्तै हो । यिनै कारणहरूले अहिले पनि कांग्रेस र एमाले भन्दा अपेक्षाक्रित रास्वपा कम बिबादित भन्न सकिन्छ । यद्यपि कांग्रेसमा नयाँं नेतृत्वमा आशका धेरै आधारहरू छन् । पुराना र भ्रष्ट्राचारको आरोप लाग्ने गरेकाहरूलाई चुनाववाट बाहिर्याइएको छ र त्यो साह्रै सकारात्मक हो । एमालेको बिरुद्धमा अन्य सवै कम्युनिष्ट पार्टीहरू एक भएको जस्तो देखिएकोले एमालेले आफूलाई संगठित राख्नको लागि नै केपी ओलीलाई निरन्तरता दिएको भन्ने आधार पनि छन् । एमाले धर्म र राजनीतिमा पुर्णत लोकतान्त्रिक देखिएको छ । केवल राजनैतिक अर्थनीतिमा समानताको पक्षधरता लिएको छ । द्वन्द्वात्मक भौतिकवादको आधुनिक व्याख्याको पक्षमा देखिन्छ । जनताको बहुदलीय जनवाद पनि त्यसै सारांस हो ।
अर्कोतर्फ परंपरागत कम्युनिष्टहरू धर्मलाई अफिम भनिरहेका छन् । तर हिन्दु धर्मलाई मात्र अफिम हो भने जसरी क्रिश्चियन धर्मको पक्षधरता लिइ रहेका छन् । बिशेषत माओवादीहरूले हिन्दु धर्मलाई अफिम भनिरहेका उनीहरूका केही व्यवहार र भनाइले देखाएका छन् यो पण्डितलाई मार्ने, गाई काटेर खाने, धेरै ठूला पदमा रहनेहरूसमेत क्रिश्चियन धर्ममा लाग्नुले देखाएका छन् । प्रचण्डले नै आफूलाई क्रिश्चियत धर्म मन पर्ने बताएका छन् । भारतको इसारामा कथित जनयुद्ध नामको हिंसा सुरु गरेको र भारत कै इसारमा राजसंस्था फालेको र संघीयता ल्याएको प्रष्ट नै छ । यद्यपि त्यो कार्य भारतमा कांग्रेस (इ) सत्तामा हुंदाको कहानी थियो । भाजपाको त्यो नीति छैन । भाजपाको कारणले विश्वमा नै सनातन हिन्दु धर्मको प्रभाव दिनहुं बढी रहेको छ । क्रिश्चियन र मुसल्मान धर्मालम्वीहरू आफ्नो धर्म त्यागेका छन् र धेरैले सनातनलाई अंगालेका छन् । कांग्रेसको समयको भारतको नजिक रहेको मात्र होइन बरु पश्चिमाहरूको क्रिश्चियन धर्मको प्रभावको लागि माओवादीले माध्यम बनेको देखिन्छ । यसको प्रमाण माओवादीहरूको ज्यादा पकड क्षेत्रमा क्रिश्चियन धर्मको अत्यधिक प्रभाव हो । हिन्दु धर्मको बिरोध गरेर कहिल्यै नथाक्ने र क्रिश्चियन धर्मको पक्षमा लागेका जस्तो लाग्ने मित्र परियारलाई माओवादीले समानुपातिकमा उमेदवार बनाएको छ, उनलाई क्रिश्चियन धर्म रहेको अफ्रिकामा कालाहरू जहिले पनि हेपिएको थाहा छैन होला र सिया र सुन्नी मुसल्मानहरूको पाकिस्तानमा समेत पानी नचल्ने गरेका पनि जानकारी छैन होला । सनातन हिन्दु धर्मका ज्ञाताहरू यो पाटीको छनौटमा पर्न सकेका छैनन् । आन्दोलनको नाममा जनधनको क्षति तर कुनै पनि उपलब्धी नहुनु नै माओवादी जनताको हित गर्ने दल होइन भन्ने मुख्य आधार हो । यसरी हेर्दा माओवादी अहिले नेपाली कम्युनिष्ट पार्टी भएकोमा यो भारतको र क्रिश्चियन धर्मको पक्षमा रहेको परंपरावादी कम्युनिष्ट आवाज हो ।
अर्कोतर्फ अमेरिका र युरोपको पक्षमा रहेर क्रिश्चियन धर्मको प्रभावमा परेको भन्ने रास्वपामा केही आधार देखिएको छ भन्ने अनुमान गर्न थालिएको छ । उन्नाइस जना प्रतिनिधी सभाका उमेदवारहरू पास्टरहरू रहेका भन्ने आएको छ । त्यसमा स्वर्णिम बाग्लेको नाम छैन । उनले सनातन धर्मको पक्षमा वकालत गरिरहेको मोहन रुम्वा लामासमेत उपर साइवर क्राइम मुद्धा दिएका छन् । उनको बिरोध गर्नेलाई बैचारिक प्रतिकार गर्न सक्नु पर्नेमा उनले मुद्धा नै दिए । यो लोकतन्त्रको बिरुद्धको व्यवहार मात्र होइन, सनातन हिन्दु धर्मको वकालत गर्नेको बिपक्षमा जानु हिन्दु धर्मको बिरोध पनि हो । उनी न लोकतन्त्र पक्षधर न सनातन पक्षधर भन्ने देखिएको छ । त्यतिमात्र होइन, रास्वपाले चुनाबका प्रतिबद्धता ल्याउंदा करार भनेर ल्याएको छ । करारमा दुइ पक्ष हुन्छन् । ती दुई पक्ष को हुन् ? एउटा र रास्वपा भयो हो । अर्को जनता हुन् । जनतासंग प्रतिवद्धता हुन्छ । करारको सम्बन्धमा हेर्दा यो शब्द मुलत विश्वव्यापी धार्मिक रुपमा बाइवललाई जनाउने गरेको छ । पुरानो करार बाइवलको पुरानो नियमलाई भनिन्छ र नयां करार नयां नियमलाई भनिन्छ । रास्वपाले अरु शब्दहरू नै नपाए जस्तो गरेर चुनावको घोषणा र प्रतिबद्धतालाई कुन कारणले करार भन्न परेको हो भन्ने प्रष्ट छैन ।
यसरी हेर्दा रास्वपा पश्चिमाहरूको क्रिश्यिन धर्म प्रचारको सफ्ट र लोककल्याणकारी माध्यम जस्तो देखिन्छ । माओवादी भने परंपरागत कम्युनिष्टहरूलाई प्रयोग गरेर देशमा अशान्ति मच्चाएर क्रिश्चियन धर्म प्रचारको हिंसात्मक माध्यम बनेको जस्तो अनुभुति हुन्छ । तर क्रिश्चियन धर्म मुलभुत रुपमा शान्ति र प्रगतिको धर्म जस्तो देखिन्छ र त्यसका प्रष्ट उदाहरण स्वयम् इसा मसिह नै हुन् । तर धर्मको प्रचार छद्मभेषी रुपमा हुन हुंदैन । पास्टरहरूलाई प्राथमिकतामा उम्मेदवार बनाउने र चुनाबको घोषणापत्रमा नै करार लेखिनुको औचित्य पुष्टि हुन सक्नु पर्छ । कमसेकम यी विवादको उचित उत्तर आउन नसकेमा यो दल पश्चिमाहरूको नेपालमा प्रभाव पार्ने शान्त माध्यम हो भन्ने बुझ्न पर्ने हुन्छ । यो मतदाताहरूको लागि धर्म संकट हो ।
हामीहरूले नयां शक्तिहरूलाई मत नदिने हो भने यो मध्यावधी चुनावको कुनै औचित्य रहंदैन । देशमा भएका जनधनका क्षतिहरू औचित्यहीन बन्न सक्ने देखिन्छ । नयाँंहरूलाई ध्यान नदिएर जथाभावी मत दिने हो भने देशमा राजनीतिको नाममा धार्मिक उथलपुथल र अशान्ति हुन सक्ने संभावना हुन्छ ।
राजनीतिमा अहिले रास्वपा र राप्रपा नै कुनै पनि गलत छबि नभएका र भ्रष्ट्राचारमा विवादित नभएका नेताहरू रहेका दलहरूको रुपमा देखिएका छन् । प्रदेशको सम्बन्धमा रास्वपा प्रष्ट छैन । राप्रपा धर्म, राजा, प्रदेशका बारे प्रष्ट छ । जवकी यो देशमा ३ बटा प्रदेशहरू आवश्यक नै देखिन्छन् र राप्रपा त्यो मान्न तयार हुन सक्छ । पूर्ण समानुपातिक चुनावको आवश्यकता र कार्यकारी प्रधानमन्त्रीको आवश्यकतामा राप्रपाले आफ्नो मत राखेको पाइन्छ । जवकी पूर्ण समानुपातिक मत प्रणालीले प्रिय नेताहरू दलका संस्थापन पक्षका नभएमा नआउने अवस्था हुन सक्छ । प्रत्यक्ष निर्बाचित कार्यकारी हुनु भनेको उ झनै तानाशाह भएमा समेत हटाउन नसकिने हुन सक्छ । बरु अहिलेको जस्तो धेरै दलहरूले घोषणा गरेर चुनाबमा नै प्रधानमन्त्री तोकेर जाने कार्य ठीक हुन सक्छ । ओली, गगन, बालेन, लिंग्देनहरूको नाममा चुनाव लडिदा कुनै पनि पाटीलाई चुनावपछि तिनै मध्येबाट प्रधानमन्त्री बनाउन पर्ने अवस्था आउंछ । जनताले जुन दललाई मन पराउंछन् त्यसमा प्रधानमन्त्रीको नामले पनि काम गरेको मान्न सकिन्छ तर गल्ती गरेमा सजिलैसंग हटाउन पनि सकिन्छ । यो व्यवहारिक पक्षले दुबै प्रणालीका फाइदा लिने र संभावित नकारात्मक पक्षलाई राख्न सक्ने देखिन्छ ।
अहिलेको एउटै सजिलो सर्प पनि मर्ने र लठि पनि नभाचिने उपाय भनेको मतदाताहरूले रास्वपाका इमान्दार र छद्मभेषी व्यवहार नभएका तथा राप्रपाका उचित उमेदवारहरूलाई मत दिने र कांग्रेस तथा एमालेका क्रियाशील र इमान्दारहरूलाई पनि नछोड्ने नै हो । माओवादी पार्टी अहिले पनि मुलत माओवादी नै छ तर माओवादी नाम नै राखेको छैन । न यसले माओवादको नाममा गरेका बाचा पुरा गर्ने देखिन्छ न हामीले नाम बदलेको कारणले मात्र राजनीतिको नाममा बिगतमा गरेका हत्या र हिंसा तथा तहसनहसका घटनाहरू बिर्सन सकिन्छ । बेकारको हिंसा र हत्या तथा देशको सम्पत्तिको तहसनहस गरेर पनि कुनै सकारात्मक परिणाम दिन नसक्नुले उनीहरूले मत पाउने कुनै आधार देखिंदैन । अझै राजा हुंदा र बलियो हुंदा देशको राष्ट्रिय अस्मिता कहिल्यै खतरामा नपरेकोमा आहिले राजा नहुंदा नै राष्ट खतरामा परेको आबाज आउनु मुलत माओवादीको कारण नै होइन त ? त्यसैले हामी मतदाताहरूले ध्यान दिने भनेको दल जे जुन भए पनि इमान्दार र क्षमतावानहरू नछुटुन् । बेइमानहरू कुनै पनि दल र नाममा संसदमा प्रबेश नपाउन् । कुलमान, हर्क सांपाङ, माहाबिर पुन जस्ता हस्तीहरू पनि मतदाताले छुटाउन नहुने देखिन्छ । देश र समाजलाई कमजोर बनाउनेहरूलाई कुनै पनि नाममा स्विकार नगरियोस् ।
(लेखक : अन्तरङ्ग राष्ट्रिय साप्ताहिकका अतिथि सम्पादक एवम् वरिष्ठ अधिवक्ता हुनुहुन्छ । – सं.)
प्रकाशित मिति २०८२ फाल्गुन १४, बिहीबार १९:५३ गते