काठमाडौं– नइ एकेडेमीले महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीसहित चार अमर प्राज्ञलाई ‘नइ प्रज्ञा पुरस्कार’विभूषणका लागि छनौट गरेको छ । नइ एकेडेमीको बैठकले चार जना अमर प्राज्ञलाई ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय हालै गरेको हो ।
‘नइ प्रज्ञा पुरस्कार’बाट विभूषणका लागि छनौट हुनु भएका अमर प्राज्ञहरूमा महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठी, प्रा. शिवगोपाल रिसाल, प्रा.डा. चूडामणि बन्धु र प्रा.डा. दयाराम श्रेष्ठ हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयमा पठनपाठन, अनुसन्धान र सिर्जनाका माध्यमबाट नेपाली भाषासाहित्यको श्रीवृद्धिमा ऐतिहासिक एवम् कालजयी योगदानका लागि उहाँहरूलाई सो पुरस्कार समर्पण गर्न लागिएको नइ एकेडेमी सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो । उहाँका अनुसार उक्त विभूषणको पुरस्कार राशि जनही पचास पचास हजार रुपैयाँ रहेको छ । उहाँले भन्नुभयो, ‘उक्त पुरस्कार राशिसहित ‘नइ प्रज्ञा पुरस्कार’बाट उहाँहरूलाई विभूषित गरिने छ ।’
‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिमा समेत उहाँहरूको विशिष्ट भूमिका रहेको प्रसाईले उल्लेख गर्नु भएको छ । उहाँका अनुसार नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
महासमालोक प्रा.त्रिपाठीको सर्वोच्च प्राज्ञिक नेतृत्वमा नइ एकेडेमीले २०८२ साल चैत २७, २८ र २९ गते ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ गर्ने भएको छ ।
सोही अवसरमा यी पुरस्कारबाट उहाँहरूलाई विभूषित गर्ने कार्यक्रम रहेको नइ एकेडेमी सदस्यसचिव प्रसाईले जानकारी दिनु भयो ।
प्रकाशित मिति २०८२ फाल्गुन १६, शनिबार १८:३५ गते