विरासतको खोजी र संरक्षण कार्यमा जुट्दै रास्वपा, भोर्लेटार नगर वडा समिति

विरासतको खोजी र संरक्षण कार्यमा जुट्दै रास्वपा, भोर्लेटार नगर वडा समिति

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण १७ गते सोमबार ०८:५३

फरक आस्था तथा विश्वास भएता पनि उहाँहरूको योगदानको स्मरणका साथ सम्मान गर्ने कार्य गरेर रास्वपाले नयाँ संस्कार एवम् संस्कृतिको जग बसाउने दिशामा अघि बढेको प्रतीत भएको छ ।

ती अभियन्ताहरू पनि आज जिवित रहेको भए सायद के कस्तो बाटो रोज्नु हुन्थ्यो होला ? भन्ने कौतुहलता समेत वर्तमानमा उत्पन्न भइरहेको छ ।

भोर्लेटार(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई नयाँ पार्टी हो, नयाँ छन्, ढिटाहंरूले के जानेका छन् र ? भन्दै होच्याउने, कम आँक्ने, खिसिट्युरी गर्ने लगायतका गतिविधिका विरुद्धमा सो दलको मध्यनेपाल नगरपालिका– ६ को वडासमितिले व्यवहारमै जवाफ दिएको छ । स्थानीय वडामा रहेको नगरपालिकाकै केन्द्र बन्न सफल भोर्लेटार(धुलपुर) बजारको परिकल्पना गर्ने, यस क्षेत्रको विस्तार र विकास गर्ने कार्य गर्नु हुने इतिहास पुरुषहरूलाई सम्झना गरेर त्यस्तो पुष्टि गरेको हो ।
रास्वपाको मध्यनेपाल नगरपालिका– ६ को वडासमितिले भोर्लेटार क्षेत्रका ऐतिहासिक बीरु तथा विरांगनाहरूको सम्झना गर्दै आफ्नो कार्यालयमा उहाँहरूका फोटो संयुक्त रुपमा सजाउने काम गरेको छ । त्यस्तो योगदान गर्नु हुने व्यक्तित्वमा समाजिक अभियन्ता धर्मशाली घिमिरे, पूर्णचन्द्र घिमिरे शैक्षिक अभियन्ता, राजनीतिक अभियन्ताहरू घोइरो कामी भन्ने दलबहादुर विक, राममणि भट्टराई, वेद प्रसाद पौडेल, कृष्णप्रसाद पौडेल, श्रीभद्र रेग्मी हुनुहुन्छ । त्यस्तै, बुद्धिमाया गुरुङ (कान्छी बज्यै) सामाजिक अभियन्ता, खड्गबहादुर परियार(माहिला दमै) सांस्कृतिक र सञ्चार अभियान लगायत रहनु भएको छ ।
हिजोआज मानिसको योग्यता तथा योगदानको कदर हुनका लागि आस्था मिल्नु पर्छ अन्यथा मानिस पत्रुमा गनिन्छ । यस्तै प्रवृत्तीको विकास हुँदै आएको छ र त्यो प्रवृत्तीले संस्कृतिको रुप धारण गर्दैछ तर फरक कार्य गर्ने मूलतः सुशासनका पक्षमा संकल्प बोकेको राष्ट्रिय स्वतन्त्र पार्टीले समाजमा सकारात्मक परिवर्तन कार्यमा योगदान गरेको आधारमा उहाँहरूको मूल्यांकन गर्ने अभियानको थालनी गरेको छ । त्यसको सुरुवात मध्यनेपाल नगरपालिका– ६ बाट भएको छ । यो कार्य विस्तारै क्रमशः विस्तार गर्दै लग्ने स्थानीयबासी एवम् सो पार्टीका जिल्ला कोषाध्यक्ष समेत रहनु भएका विजयरञ्जन पौडेलले बताउनु भएको छ । उहाँका अनुसार मध्यनेपाल नगरपालिका– ७ नंबरमा पनि त्यस्ता ऐतिहासिक पुरुषको खोजी कार्य अन्तिम चरणमा पुगेको छ र अन्य वडामा पनि क्रमशः गर्ने लक्ष्य रहेको छ । उहाँले सुनाउनुभयो, ‘भोलिका दिनमा पालिकास्तरमा रास्वपाको बर्चश्व रह्यो भने स्थानीय पाठ्यक्रममा समेत उहाँहरूको नाम(व्यक्तित्व चिनारीका रुपमा) छोटकरीमा भने पनि राख्ने योजना छ ।’
यसबारेमा आफ्नो धारणा राख्दै रास्वपाको जिल्ला सल्लाहकार परिषदका संयोजक एवम् सांस्कृतिक अभियन्ता नवराज पहाडीले २०४८ सालदेखिनै राजनीतिक दलहरूका गतिविधिमा अपच्य भएको मूल यौटा कुरा छ, त्यो हो– ‘२– ४ जना असल र खराब व्यक्ति सबै पार्टीमा छन् तर आफ्नो पार्टीमा भएका खराब व्यक्तिलाई खराब, अनि विरोधी दलमा भएको असल व्यक्तिलाई असल भन्न सक्ने क्षमता, आनिबानीको विकास गरेर त्यो भावनालाई समाजमा संस्कृतिको रुप दिन सकेनन् ।’ परिणामतः पार्टीहरू पतनको बाटोमा लागे, जसले आज राष्ट्रियता र लोकतन्त्रसमेत खतरामा पर्ने त हैन ? भन्ने आशंका उत्पन्न हुन थालेको छ ।
राजनीतिक दलहरूका यस्तै गतिविधिका कारणले पनि लामो समय आफू राजनीतिबाट टाढा रहेको तर पछि अतिचार हुन थालेपछि फेरि राजनीतिमा होमिएको बताउँदै रास्वपाले गतिविधि र त्यसको परिणामका आधारमा जो कसैलाई पनि असल वा खराब भन्ने संस्कार तथा संस्कृतिको विकास गर्दैछ, पार्टी भित्रका व्यक्ति हुन् वा बाहिरका, यस्तै असल संस्कार, संस्कृतिको पहिलो पाइला हो– रास्वपाको मध्यनेपाल नगरपालिका– ६ को वडासमितिले चालेको कदम, जो अतिनै सराहनीय छ पहाडीले भन्नुभयो । यस्तो अनुकरणीय कार्यको मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु र यस्तो कार्यलाई पार्टीले मार्गदर्शनका रुपमा लिन जरुरी छ उहाँले उल्लेख गर्नुभयो ।
फरक आस्था तथा विश्वास भएता पनि उहाँहरूको योगदानको स्मरणका साथ सम्मान गर्ने कार्य गरेर रास्वपाले नयाँ संस्कार एवम् संस्कृतिको जग बसाउने दिशामा अघि बढेको प्रतीत भएको छ । त्यसो त ती अभियन्ताहरू पनि आज जिवित रहेको भए सायद के कस्तो बाटो रोज्नु हुन्थ्यो होला ? भन्ने कौतुहलता समेत वर्तमानमा उत्पन्न भइरहेको छ ।

प्रकाशित मिति २०८२ फाल्गुन १८, सोमबार २०:५३ गते
हजुरको प्रतिक्रिया