नेटा(लमजुङ)– ‘हारको मार’ खेप्नु पर्ने त्रासले ग्रस्त नेपाली काँग्रेस आफ्ना कार्यकर्तामाथि हातपातमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी((रास्वपा)ले दावी गरेको छ । मध्यनेपाल नगरपालिका– १० को नेटा थान्सिङ स्थित गणेशमालिका मावि मतदान केन्द्रमा सर्वदलीय बैठक बस्ने क्रममा आफ्ना कार्यकर्ता उपर फागुन १९ गते हातपात भएपछि रास्वपाले त्यस्तो बताएको हो ।
सुरुदेखिनै धम्की खेपिरहेका उक्त वडाका कार्यकर्ताहरू सर्वदलीय बैठकमा जान नसक्ने जस्तो स्थिति उत्पन्न भएको जानकारी दिएपछि सोही नगरपालिका– ६ मा स्थायी बसोबास गर्नु हुने रास्वपाका जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेल जो रास्वपाको मध्यनेपाल नगरपालिका निर्वाचन परिचालन समितिको प्रमुख समेत हुनुहुँदो रहेछ– पुग्नु भएछ । पौडेलले भन्नुभयो, ‘मलाई देख्ने बित्तिकै काँग्रेसीजनहरू उत्तेजित भए, त्यसको नेतृत्व स्थिरबाबु परियार, शंकर विष्टलगायतले गरेको र उनीहरूले मलाई ‘तँ किन आएको ?’ भने ।’ मैले सर्वदलीय बैठकमा भाग लिन आएको हुँ भने ।
त्यसपछि मलाई तँ हुँदा हुँदै बाहिरको मान्छेलाई किन बोलाइस् ? भनेर ममाथि जाई लागे लक्ष्मण थापाले बताउनु भयो ।
‘म आफूले सर्वदलीय बैठकमा बस्न मिल्छ कि मिल्दैन ? मतदान अधिकृतसँग बुझ्छु, नमिल्ने भए फर्कन्छु भन्दै म मतदान अधिकृतलाई भेट्न मतदान केन्द्र भित्र गए, भित्र भएका काँग्रेसजन पनि मप्रति जाई लाग्न खोजे । भनाभन चल्यो ।’ विजयरञ्जनले बताउनु भयो, ‘त्यही क्रममा बाहिर कल्याणमाथि हातपात सुरु गरेछन् । बाहिर हातपात भएको थाहा भएपछि मलाई मतदान अधिकृतले ‘तपाई गईदिनुस्’ भने म फर्कन बाहिर आएँ, तर मैमाथि शंकर विष्ट लगायतले जाई लाग्ने काम गरे ।’
यतिबेला लक्ष्मण थापाको अवस्था अज्ञात जस्तै रहेको रास्वपाका सोही नगरपालिकाका सभापति तीर्थराज पराजुलीले बताउनु भयो । उहाँले कार्यकर्ता साथीहरू नै सुरक्षित नभएपछि मतदानका कसरी भाग लिने ? भन्ने प्रतिप्रश्न गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘दोषिलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ, यो हार मानसिकताको उपज हो तर सुरक्षा व्यवस्था कडा गरी यस्ता कार्य रोक्नका लागि प्रशासन चनाखो हुनुपर्छ ।’ उहाँले भन्नुभयो, ‘दोषिलाई कारवाहीका लागि प्रशासनलाई किटानी जाहेरी पठाउने तयारी भइसकेको छ ।’
उता, सुन्दरबजार नगरपालिका– ७ मा भएको सर्वदलीय बैठकमा सो पालिकाका मेयर(काँग्रेस), उपमेयर(एमाले)ले समेत भाग लिन आएको रास्वपाका नगर सभापति विमल अधिकारीले बताउनु भयो । उहाँका अनुसार मेयरको घर वडानं १० र उपमेयरको घर वडानं– ६ हो ।
यदि अर्को वडाको प्रतिनिधिले भाग लिन नपाउने नीति नियम हो भने सुन्दरबजार नगरपालिका– ७ मा भएको सर्वदलीय बैठकमा १० र ६ वडाका मेयर, उपमेयर रहेका व्यक्तिले के कसरी भाग लिन पाएका हुन् ? यो प्रश्न समेत अनुत्तरित छ ।
यसबारेमा जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्दा पार्टीको प्रतिनिधिले जुनकुनै पनि सर्वदलीय बैठकमा भाग लिन पाइन्छ भन्ने जानकारी प्राप्त भएको छ ।
यसैबीच, कुन्छाबाट प्राप्त समाचार अनुसार सो वडाका रास्वपाका सभापति जगत सेढाईलाई पनि हिजै काँग्रेस कार्यकर्ताहरूले हातपातको प्रयास गरेको सो दलको चुनाव प्रचार संयोजन समितिमा सदस्य प्रकाश अधिकारीले बताउनु भएको छ ।
प्रकाशित मिति २०८२ फाल्गुन २०, बुधबार ०८:३५ गते