काठमाडौं– ‘नइ प्रज्ञा पुरस्कार’द्वारा दुई प्राज्ञलाई मरणोपरान्त सम्मानको निर्णय भएको छ । नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले हालै उक्त निर्णय गरेको हो ।
सम्मानित हुनुहुने व्यक्तित्वमा प्रा.डा. ताराकान्त पाण्डे र प्रा.खेमराज जोशी हुनुहुन्छ । उहाँहरूलाई ‘नइ प्रज्ञा पुरस्कार’बाट विभूषित गरिने निर्णय भएको नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो । उहाँका अनुसार ती पुरस्कारका राशि जनही पचास हजार रुपैयाँ रहेका छन् ।
नइ एकेडेमीका सदस्यसचिव प्रसाईले भन्नुभयो, ‘नइ एकेडेमीले ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनमा समर्पित भएबापत उहाँहरूलाई मरणोपरान्त ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।’
नइ एकेडेमीले आउँदो चैत २७, २८ र २९ गते तीन दिवसीय ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ गर्दैछ । सो अवसरमा प्रा.डा. पाण्डे र प्रा. जोशीका पत्नी या उत्तराधिकारीला ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गर्ने भएको नइ एकेडेमीका सदस्यसचिव प्रसाईले उल्लेख गर्नुभयो ।
नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
प्रकाशित मिति २०८२ फाल्गुन २५, सोमबार ०९:३८ गते