चैते दसैँमा लमजुङमा मिनी म्याराथन हुने

चैते दसैँमा लमजुङमा मिनी म्याराथन हुने

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण ३० गते आईतबार ०८:३३

सुरेन्द्र सदिच्छा, पोखरा, चैत १ गते । लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ५ समिभञ्ज्याङमा चैते दसैँको अवसरमा मिनी म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । विगत २५ वर्षदेखि क्रियाशील कायापलट असल शासन क्लबको आयोजनामा चैत...

सुरेन्द्र सदिच्छा,

पोखरा, चैत १ गते । लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ५ समिभञ्ज्याङमा चैते दसैँको अवसरमा मिनी म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ ।

विगत २५ वर्षदेखि क्रियाशील कायापलट असल शासन क्लबको आयोजनामा चैत १२ गते हुने प्रतियोगिताको तयारी थालनी गरिएको क्लबले जनाएको छ । समुन्द्री सतहदेखि करिब १५०० मिटरको उचाइमा रहेको धार्मिक तथा ऐतिहासिक स्थल तान्द्राङकोट नागभैरव थानको प्रचारप्रसार गर्ने उद्देश्यले यसपालिदेखि हरेक वर्ष मिनी म्याराथन प्रतियोगिता आयोजना गरिने क्लबका अध्यक्ष बाबुराम मल्लले जानकारी दिए । तान्द्राङकोटबाट विभिन्न २५ जिल्ला, पोखराको फेवाताल तथा अन्नपूर्ण हिमशृङ्खला राम्रोसँग  अवलोकन गर्न सकिने र स्थानीय ठाउँहरूको पनि चिनारी होस् भन्ने चाहनास्वरूप म्याराथन आयोजना गरिएको सचिव इभन जोशीले बताए ।

मध्यनेपाल नगरपालिका  वडा नं. ५ का वडाअध्यक्ष ओमवीर गुरुङले पछिल्लो क्रममा नेपालमा बढ्दै गएको आन्तरिक पर्यटनको सम्भावनालाई उजागर गर्न यस्ता कार्यक्रम सहयोगी हुने बताए । उनले भने, “यो क्षेत्र पनि एउटा गन्तव्य बन्न सक्छ । यसैका लागि पनि हामी काम गरिरहेका छौँ । हाम्रा सामाजिक जनजीवन र यहाँका प्राकृतिक तथा साँस्कृतिक पक्षहरू नै समिभञ्ज्याङको मूल आकर्षण हो ।”

प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार र मेडल, द्वितीय हुनेले नगद २० हजार र मेडल, तृतीय हुनेले नगद १० हजार र मेडल प्राप्त गर्ने छन् भने तीन जना धावकलाई जनही ३ हजार र मेडलले सम्मान गरिने सचिव इभन जोशीले जानकारी दिए ।

प्रकाशित मिति २०८२ चैत्र १, आईतवार ०८:३३ गते
हजुरको प्रतिक्रिया