बेसीशहर– लमजुङमा विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा उपभोक्तासँग अन्तरक्रिया गरिएको छ । एकीकृत सेवा कार्यालयको आयोजना तथा जिल्ला स्थित विभिन्न उपभोक्तावादी संस्थाहरूको सहकार्यमा उक्त कार्यक्रम चैत १ गते गरिएको हो ।
राष्ट्रिय उपभोक्ता मञ्च, उपभोक्ता हक हित संरक्षण मञ्च, होटल व्यवहायी महासंघका जिल्ला समिति लगायतका संस्थाहरूको सो कार्यक्रममा सहकार्य रहेको थियो ।
एकीकृत सेवा कार्यालयका प्रमुख मिताकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले कार्यक्रमको उद्देश्यमा प्रकाश पार्दै उपभोक्ता अधिकार र एकीकृत सेवा कार्यालयले गर्ने कार्यक्रमका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले उपभोक्ता अधिकारका लागि नेपालमा गरिएको कानुनी व्यवस्थाका बारेमा प्रकाश पार्नु भएको थियो ।

त्यस्तै, उपभोक्ता हक हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष किसान संगीतले उपभोक्ताका अधिकार विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले उपभोक्ताका अधिकारको इतिहासदेखि उपभोक्ताका निर्धारित ८ अधिकार, बजार अनुगनका क्रममा पसलहरूमा देखिने गरेका कमिकमजोरी पटक पटक दोहोरिने गरेकोले त्यसको निराकणका लागि कानुनको कडाइका साथ पालना हुन जरुरी रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष नवराज पहाडीले जिल्लामा आफ्नो नेतृत्वको समिति भरखरै गत मंसिरमा मात्र बनेको र लगत्तै निर्वाचन आचारसंहिताका कारणले गतिविधि अघि बढाउन बाधा परेको थियो, अब भने कार्यक्रमलाई अघि बढाइने बताउनु भयो । उहाँले समाजमा इमान्दारिताको खडेर परेको र इमान्दारिताको पुनःस्थापना आज चुनौतिका रुपमा रहेको छ, उत्पादनकर्ता उद्योगीहरू र विक्रेताहरू इमान्दार भइदिने र कानुनको पूर्ण पालना गर्ने हो भने उपभोक्ता अधिकारको प्रश्न नउठ्ने बताउनु भयो । उहाँले जनताले मत दिएको सरकार बन्न बाँकी नै छ । ऐलेको बजारमा देखिएको ग्यास आदिको अभाव र महंगी त्यसको परिणाम नभई अमेरिका इरान युद्धले निम्त्याएको हो भन्नुभयो । जिल्लामा रहेका आठ पालिकामध्ये चार पालिकाका प्रतिनिधि समितिमा रहेको र अन्य पालिकामा समेत समिति भित्रैबाट प्रतिनिधि खटाएर स्थानीय तहले गर्नु पर्ने बजार अनुगमन र उपभोक्ता सचेतनाका कार्यक्रमलाई निरन्तरता दिनका लागि दबाब मूलक कार्यक्रम सञ्चालन गर्ने पहाडीले जानकारी दिनुभयो । उहाँले बजरार अनुगमनका लागि एकद्वारा प्रणाली र त्यो जिल्ला प्रशासन कार्यालयबाट नै हुन जरुरी छ भन्नुभयो ।
सो अवसरमा होटल व्यवहायी महासंघका जिल्ला संयोजक एवम् लउवासंघका पूर्वअध्यक्ष रामकुमार श्रेष्ठले कार्यक्रमले सकारात्मक सन्देश दिन सफल भएको छ, हामी सबै कर्तव्यनिष्ट भयौं भने उपभोक्ताको अधिकार सुनिश्चित हुन सक्छ भन्नुभयो । उहाँले इमान्दारिताको प्रश्न पनि उठेको छ त्यसलाई पनि सकारात्मक रुपमा लिदै हामी सबैले म म भन्नु पर्ने स्थिति रहेको उल्लेख गर्नु भयो ।
गैसस महासंघका सदस्य विमला हिमाली, राष्ट्रिय उपभोक्ता मञ्चका सदस्य सुरेन्द्रलाल श्रेष्ठ, बाबुराम भण्डारीलगायतले यो कार्यक्रम यत्तिमै सीमित हुन नहुने र जनताले दिएको मतको कदर हुनुपर्ने, नयाँ परिस्थिति सिर्जना हुनासाथ बजारमा किन खाद्यान्न, ग्याल लगायतका वस्तुको अभाव र मूल्य बृद्धि हुने हुन्छ ? भन्नुभएको थियो ।
यो वर्ष यो दिवसको अन्तर्राष्ट्यि नारा ‘ट्रष्ट स्मार्ट प्रोडक्ट’ (स्मार्ट उत्पादनमा विश्वास) तय गरिएको छ । त्यस्तै, नेपालका लागि ‘सुरक्षित उत्पादन, आत्मविश्वासी उपभोक्ता’ भन्ने नाराका साथ विश्व उपभोक्ता अधिकार दिवस मनाइएको हो ।
विश्वमै पहिलो पटक सन् १९६२ मार्च १५ मा अमेरिकी संसदमा राष्ट्रपति जोन अफ केनेडीले प्रस्तुत गरेका सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रुपमा घोषणा गरिएको थियो । यिनै अधिकारका आधारमा संयुक्त राष्ट्र संघको महासभाबाट सन् १९८५ मा उपभोक्ताका आठ वटा अधिकारसहित उपभोक्ता अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय मार्गदर्शन पारित भए सोही दिनको सम्झनामा १५ मार्चमा विश्व उपभोक्ता अधिकार दिवस विश्वभर मनाउन थालिएको हो ।
उपभोक्ताहरूका लागि संयुक्त राष्ट्र संघले निर्धारण गरेका उपभोक्ताका आठ अधिकारमा सुरक्षा, सूचित, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणको अधिकार रहेका छन् ।
प्रकाशित मिति २०८२ चैत्र २, सोमबार १०:४४ गते