पर्यटनको क्षेत्रमा धार्मिक अथवा आध्यत्मिक उद्देश्यले गरिने यात्रा तीर्थाटन पर्यटन हो । धार्मिक पर्यटनको सुरुवात मानव सभ्यताको प्रारम्भिक कालदेखि भएको मानिन्छ । मानिसहरूले जबदेखि धार्मिक विस्वासहरू विकास गर्न थाले त्यही समयदेखि तीर्थाटनमा यात्रा गर्न थालेका हुन । तीर्थाटन पर्यटनको मुल उद्देश्य भनेको आफ्नो धर्म अनुसार कुनै पनि पवित्र स्थल मन्दिर, मस्जित, चर्च, गुम्वा, स्तूप आश्रम लगायतका स्थानमा पुगि पुजा आजा र दर्शन गर्नु हो ।
हिन्दुहरूको चारधाम तीर्थाटन पर्यटनको लागि महत्वपूर्ण यात्रा हो । भारतिय भूमिमा रहेका चार प्रमुख धार्मिकस्थललाई चारधाम भनिन्छ । उत्तराखण्डको चारधामको यात्रा बिशेष गरी बैशाखदेखि कार्तिकसम्म मात्र खुला हुन्छ । बाकी समय हिउँ पर्ने हुदा चारधामका मन्दिरहरू बन्द हुन्छन । हिन्दुहरूको लागि चारधाम यात्रा मोक्ष प्राप्तिको मार्ग मानिन्छ । चारधाम यात्रामा तीर्थाटनका पर्यटकहरूले धार्मिक सांस्कृतिक, प्राकृतिक र आत्मिक दृष्टिले एक अद्वितीय अनुभव लिन सक्दछन । हिन्दु धर्ममा चारधामको यात्रा दुई प्रकारका छन । एउटा बद्रीनाथ, केदारनाथ, गंगोत्री, यमुनोत्री र अर्को बद्रीनाथ, जगन्नाथ, रामेश्वरम र द्वारका धामको दर्शन गर्नेलाई पनि चारधाम भनिन्छ । यी सबै पवित्र स्थानहरू भारतको विभिन्न प्रदेशमा पर्दछन । त्यसैले यी क्षेत्रको सबै यात्रालाई चारधाम यात्रा भनिन्छ । हिन्दु धर्ममा आफ्नो जीवनकालमा कम्तिमा एकपटक चारधामको यात्रा गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।

भारतको धार्मिक इतिहासमा चारधामको सुरुवात आदि शंकराचार्यले गरेका हुन । हिन्दू धर्मको दार्शनिक आधारलाई पुनर्संरचना गर्दै शंकराचार्यले अद्वैत वेदान्तको प्रवद्र्धन गरेका थिए । त्यतिबेला भारतमा विभिन्न मत, पन्थ र क्षेत्रीय धार्मिक परम्पराह फैलिदै धार्मिक एकता कमजोर हुँदै गएको अवस्था थियो । त्यो बेला शंकराचार्यले भारतका चार दिशामा रहेका प्रमुख तीर्थस्थललाई जोडेर चारधामको अवधारणा स्थापित गरेका थिए । त्यो समयमा शंकराचार्यले भारतमा चार ठाउँमा अर्थात पूर्व दिशामा गोवर्धन मठ, पश्चिममा शारदा मठ द्वाराका उत्तरमा बद्रीनात ज्योतिर्मठ र दक्षिणमा श्रृगेरी शारदा मठको स्थापना गरेका थिए । यी मठहरूले वेदान्त दर्शन र धार्मिक शिक्षा फैलाउने काम भयो । चारधामको परम्परा पूर्णतः नयाँ तीर्थ सिर्जना होइन । ती स्थानहरू पहिले नै धार्मिक रुपमा पवित्र मानिन्थे । तर आदि शंकराचार्यले तिनलाई एउटै आध्यात्मिक यात्राको मार्गमा जोडेर व्यवस्थित गरेका हुन ।
त्यसैले चारधाम परम्परालाई हिन्दू धर्ममा धार्मिक एकता, सांस्कृतिक समन्वय र आध्यात्मिक यात्राको महत्वपूर्ण प्रतीक मानिन्छ । आदि शकंराचार्य हिन्दु धर्मका एक महान दार्शनिक सन्यासी गुरु हुन । शकंराचार्यको जन्म इस्वी सम्वत ७८८मा भारतको कालडीगढ केरलामा भएको थियो । शकंराचार्यले ब्रह्मचारीबाट आठ बर्षको उमेरमा गुरु गोविन्दपादबाट सन्यास लिएका थिए । शकंराचार्यको महासमाधि ३२ बर्षको उमेरमा इ.स.८२० मा भएको थियो । शकंराचार्यले हिन्दु दार्शनिक तथा वेदान्तका प्रचारक थिए । शकंराचार्य उपाधि बिशेष गरी ८ औ शताब्दीमा महान हिन्दु दार्शनिक द्वारा सुरु गरिएको हो । यो पद अद्वैत वेदान्त परम्पराका प्रमुख गुरुलाई दिइन्छ । उत्तराखण्डको चारधाम यात्रामा यमुनोत्री, गंगोत्री, केदारनाथ र बद्रीनाथ पर्दछ । यमुनोत्रीमा यमुना देवी, गंगोत्रीमा गंगा, केदारनाथमा भगवान शिव र बद्रीनाथमा भगवान विष्णुको मन्दिर छ ।

उत्तराखण्डको चारधाम यात्रा गर्दा तीर्थाटन पर्यटकहरूले हरिद्वार वा ऋषिकेशमा गंगा स्नान गरेर यात्राको सुरुवात गर्दछन । यो चारधामको यात्रामा पर्यटकहरूले कुल १ हजार ६०७ किलोमिटर यात्रा गर्नु पर्ने हुन्छ । हरिद्वारदेखि सुरु हुने उत्तराखण्डको चारधाम यात्राको सुरुवात यमुनोत्री, गंगोत्री, केदारनाथ हुदै बद्रीनाथमा पुगेर सकिन्छ । यो चारधाम यात्रामा तीर्थाटनका पर्यटकहरूले हरिद्वारदेखि चारै धाम पुग्न र फर्कन कम्तीमा १० दिनको समय तय गर्नु पर्दछ । हरिद्वार÷ऋषिकेश चारधामको प्रवेशद्वार हो भन्दा पनि हुन्छ । पहिलोचोटी चारधामको यात्रामा जाने तीर्थाटनका पर्यटकहरूका लागि हरिद्वार र ऋषिकेशको इतिहासका बारेमा पनि जान्ने उत्सुकता हुन्छ । गंगा नदीको किनारमा रहेको हरिद्वार प्राचिन धार्मिक शहर हो । जसको इतिहास धार्मिक ग्रन्थहरूमा उल्लेख छ । हरिद्वार दुई शब्दबाट बनेको छ । हरि भगवान बिष्णु र द्वार (ढोका) अर्थात हरिकोद्वार । हरिद्वारमा १२ बर्षमा कुम्भ मेला पनि लाग्दछ । त्यसैले हरिद्वारलाई हिन्दु धर्ममा मोक्षद्वार पनि भनिन्छ । हरिद्वारको पौडीघाट पवित्र घाट हो । यहा प्रत्यक साझ गंगा आरती हुन्छ । अहिले हरिद्वारमा धार्मिक शहर मात्र नभएर योग आयुर्वेद र अध्यात्मिक शिक्षाको केन्द्र पनि भएको छ । त्यसैगरी ऋषिकेश ऋषिहरूको ध्यान स्थल अर्थात तपोभूमि पनि हो । ऋषिकेशमा गायत्री मन्त्रका प्रवर्तक ऋषि विष्णुक्षेय र गिरिजाशंकरले गंगा तटमा आश्रम स्थापना गरी तपस्या गरेको स्थल पनि हो । ऋषिकेशमा साधु समाज र अखडाहरू धेरै छन ।

उत्तराखण्डको यात्रामा इतिहासमा रुचि राख्ने तीर्थाटन पर्यटकहरूलाई ऐतिहासिक कुराको समेत अध्यन अवलोकन गराउछ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरेको चुच्चे नक्सा भित्रको भूमि सहजरुपमा नेपपालले प्रयोग गर्न नसकेको अवस्थामा इतिहास नपढेका कतिपय पर्यटकहरूलाई अहिले भारतको उत्तराखण्ड कुनैबेला नेपालको थियो भन्ने कुरा सुन्दा अचम्म मान्दछन । सुगौली सन्धि हुनु भन्दा पहिले नेपालको पश्चिमको सिमाना अहिले हिमाचल प्रदेशमा पर्ने काँगडासम्म थियो । सन १८१४ देखि १८१६ सम्म चलेको नेपाल–अंग्रेज युद्धले सुगौली सन्धि भएको थियो । सन्धिपछि नेपालले आफ्नो सार्वभौमिकता बचाए युद्धमा विशाल नेपालको भूमि गुमाउनु परेको थियो । युद्धमा ब्रिटिश इष्टइण्डिया कम्पनी सरकारले नेपालको मोरङ, मकवानपुर, बुटवल, अल्मोडा, कुमाउँ, नाहन, जैथक, मलाउँ, देउथल र नालापानीमा आक्रमण गरेको थियो ।

काँगडा किल्ला ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थल हो । काँगडा किल्ला नेपालको महाकाली नदीबाट पश्चिम ७१६ किलोमिटर पश्चिममा पर्दछ । काँगडा राज्य नेपालीले कब्जा गर्दा त्यहाँका राजा संसार चन्द काँगडा ढुंगे किल्लाभित्र तीन वर्षसम्म थुनिएका थिए । राजा संसार चन्दले पंजावको राजा रणजित सिंहसँग ठूलो सैन्य सहयोग लिएर हमला गरेपछि नेपालीको नराम्रो हार भयो । त्यो युद्धमा सेनापति बडाकाजी अमरसिंह थापा नेपालतर्फको कमाण्डर थिए । त्योभन्दा अगाडि नै काजी नयनसिंह थापासहित तीन सय जति नेपाली सेनाले यसै किल्लामा वीरगति प्राप्त गरेका थिए । यो युद्ध नेपालीको पक्षमा हुन सकेन र यसभन्दा अगाडि नेपाली सेना बढ्न सकेन । पश्चिमी एकीकरण अभियान अन्त भयो । देउथलको युद्धमा नेपाली सेनाको अगुवाइ भक्ति थापाले गरेका थिए । सरदार भक्ति थापाले पनि देउथलको मलाउ किल्लाको युद्धमा वीरगति प्राप्त गरेका थिए ।
नालापानीको युद्ध नेपालले ब्रिटिस सरकारसँग लडेको पहिलो साहसिक युद्ध थियो । जसमा गोर्खाको घर अधीनमा इष्ट इन्डिया कम्पनी र नेपाली सेना बीच लडाइँं भएको थियो । नेपालको इतिहासमा उल्लेख गरिए अनुसार सन १८१४ अक्टोबर २२ का दिन अग्रेज सेनानायक जनरल गिलेस्पीले आफ्ना फौज लिएर देहरादुन प्रवेश गरेका थिए । देहरादुन कब्जा गर्ने अग्रेजहरुको योजना विफल पार्न नेपालका सेनापति अमरसिंह थापाले त्यस क्षेत्रको रक्षार्थ कप्तान बलभद्र कुँवरलाई खटाएका थिए । नालापानीको सबैभन्दा उच्च स्थानमा पर्ने खलङ्गा किल्लामा वीर बलभद्र कुँवरले आफ्ना नेपाली सिपाही, ग्रामीण महिला तथा केटाकेटी गरी करिब छ सय जनाको साथ बलभद्रले युद्धको तयारी गरेका थिए । नेपाली फौजसित हतियारका नाममा केही तोप, भरुवा बन्दुक, ढुङ्गामुढा, खुकुरी, धनुष बाण, भालाजस्ता साधनहरु मात्रै थिए । अग्रेजहरूका आधुनिक हतियार र सुसङ्गठित ठूलो फौजको सामना गर्नु नेपाली सेनालाई फलामको चिउरा चपाउनु बराबरको काम थियो ।

त्यसै बखत ३० अक्टोबरका दिन गिलेस्पीले आफ्ना मतहातमा भएका तीन हजार पाँचसय भन्दा बढी सेनाको साथमा किल्लामाथि आक्रमण सुरु गरे । किल्लातर्फ बढेका अग्रेज फौजका केही अधिकृत जवान मात्र बाँच्न सफल भए । लेफिटनेन्ट एलिससहित अग्रेजका धेरै सेनाहरू युद्धमा मारिए । प्रथम प्रयास असफल भएपछि अग्रेजहरूले थप तयारी गरी दोस्रो पटक हमला गरे । दोस्रो पटक जनरल गिलेस्पीसमेत मारिए । गिलेस्पीको मृत्युपश्चात तितर वितर फौजको नेतृत्वका भार कर्नल माँबीले सम्भहाले माँबीको पटक–पटकको आक्रमण असफल भएपछि अङ्ग्रेजहरू युद्धद्वारा नेपाली वीर गोर्खालीलाई परास्त गर्ने आशा मारे । त्यसपछि अग्रेजहरूले कूटनीति अपनाई किल्लाभित्र गएर र पानीको मुहान थुनिदिए । अङ्ग्रेजहरूको उक्त धोकापूर्ण चालले नेपालीले पानीसमेत पिउन पाएनन । पानीको प्यासले किल्लाभित्र हाहाकार मच्चिन थाल्यो । बाहिरबाट शत्रुका तोपहरूको अग्नि वर्षा जारी थियो भने भित्र सारा फौज प्यासले तडपिरहेका थिए । त्यस्तो दर्दनाक परिस्थितिमा जीवित रहेका बाँकी वीर सेनाको हितका लागि बलभद्रले स्वतः किल्ला छोडनुपरेको थियो ।

सन १८१४ नोभेम्बर ३० मा बलभद्रले किल्ला छोडेर जाँदा साथमा ७० जना जति मात्र बाँकी थिए । किल्लाको स्वतः त्यागपछि मात्र अङ्ग्रेजहरूको पाइला खलङ्गा किल्लासम्म पुग्न सकेको थियो । युद्ध पश्चात नेपालीहरूको पराक्रम र बहादुरीको प्रशंसा गर्दै अङ्ग्रेजहरूले एक युद्ध स्मारकको स्थापना गरे । उक्त स्मारकको शिलालेखमा लेखिएको छ । हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोर्खालीहरूको स्मृतिमा सम्मानोपहार हालको देहरादुन स्थित सहस्त्रधार रोडमा पर्ने स्मारक भारतीय पुरतत्व विभागको संरक्षणमा छ । यो विश्वभरिको एक मात्र त्यस्तो उदाहरणीय स्मारक मानिएको छ जहाँ कुनै सेनाद्वारा आफ्नो शत्रु सेनाको अदभूत वीरतालाई उल्लेख गरिएको छ । भारतको उत्तराखण्ड राज्य अन्तर्गत पर्ने देहरादुनको नालापानीमा पर्ने खलङ्गा किल्लाले नेपाल र नेपालीको गौरवमय इतिहास बोकेको छ । नेपाल– अंग्रेज युद्ध अन्ततः सन १८१६ मा समाप्त भयो । यस सन्धिअनुसार नेपालले आफ्नो ठूलो भूभाग गुमाउन प¥यो । कुमाउँ, गढवाल र अन्य पश्चिमी हिमाली क्षेत्र ब्रिटिश भारतमा गाभियो र उत्तराखण्डका चारधाम नेपालको सीमा बाहिर प¥यो ।

देहरादून उत्तराखण्ड राज्यको राजधानी र ऐतिहासिक शहर हो । देहरादूनको इतिहास लामो छ । देहरादुनले महाभारतकालदेखि आधुनिक ब्रिटिशकालसम्मको विरासत बोकेको छ । देहरादूनमा नेपाली मुलका धेरै मानिसहरू छन । कुमाउ, पिथौरागढ, अल्मोडा, चम्पावत, डीडीहाट लगायत ठाउँहरू नेपालमा बिभिन्न जिल्लामा रहने धेरै थर गोत्रको मानिसहरूको मुल थलो पनि हो । देहरादून सास्कृतिक, भौगोलिक, शैक्षिक तथा ऐतिहासिक दृष्टिकोणले पर्यटनका लागि महत्वपूण शहर हो । हरिद्वार अथवा ऋषिकेशबा चारधाम यात्रा गर्दा देहरादून भएर जानु पर्दछ । देहरादून पर्यटनका लागि तीर्थयात्री पर्यटकहरूले घुम्दा राम्रो हुन्छ । यहा मसूरी, सहस्त्रधारा, टप्केश्वर मन्दिररोबसै केभजस्ता पर्यटकीयस्थल छन । देहरादूनको मौसम र हिमालको दृष्यले सबैलाई लोभ्याउछ । यात्रामा देहरादून घुम्दा धेरै कुराको जानकारी हुन्छ । ऋषिकेश देखि देहरादूनसम्मको दुरी करिवन ४२ किलोमिटर पर्दछ ।

यमुनोत्री उत्तराखण्डको गढवालको सबैभन्दा पश्चिमी क्षेत्रको मन्दिर हो । यमुनोत्री यमुना नदीको उदगमस्थल पनि हो । यो स्थान देवी यमुनाको मन्दिर र पवित्र तातोपानीका लागि परिचित छ । यमुना मन्दिर टिहरी गढवालका महाराज प्रताप शाहले निर्माण गराएका थिए । यमुनोत्रीमा तीर्थाटन पर्यटकहरूद्वारा पितृ कार्य गर्दछन । त्यसपछिको यात्रा हुन्छ उत्तरकाशीको । उत्तरकाशीमा विश्वनाथ मन्दिरको दर्शन हुन्छ । त्यो पछिको यात्रा हुन्छ केदारनाथको । केदारनाथ पुग्नको लागि मोटरमार्ग छाडेर २२ किलोमिटर उकालो पदयात्रा गर्नु पर्दछ । तर पदयात्रा गर्न नसक्ने तीर्थाटनका पर्यटकहरूका लागि पाल्ली, डोली, अथवा घोडा र खच्चडको सवार गरेर पनि केदारनाथको मन्दिरमा पुग्न सकिन्छ । केदारनाथदेखि जोशिमठ हुदै बद्रीनाथ पुगिन्छ । बद्रीनाथ नजिकै सम्म मोटरमार्ग पुगेको छ । तर पनि पदमार्गको यात्रा गर्न रुचाउने तीर्थाटनका पर्यटकहरूका लागि जोशिमठदेखि करिवन ३ किमिको पदयात्रामा बद्रीनाथको मन्दिरमा पुगिन्छ ।

उत्तराखण्डको चारधाम क्षेत्रमा बद्रीनाथ, केदारनाथ, रुद्रप्रयागमा पदयात्रा गर्न नसक्ने तीर्थयात्रीहरूलाई सेवादिन नेपाली मजदुरहरूको सख्या धेरै हुन्छन । चारधाममा काम गर्ने मजदुरहरूमा बिशेषगरी सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका मानिसहरु हुन्छन । यी मजदुरहरूले तीर्थयात्री पर्यटकहरूलाई पाल्की र डोकोमा बोक्ने गर्दछन । गढवाल भाषामा डोकोमा बोक्नेहरूलाई कण्डीवाल र पाल्कीमा बोक्नेहरूलाई डण्डीवाल भन्ने गरिन्छ । त्यहाँ काम गर्ने मजदुरहरू उच्च जोखिममा काम गरिरहेका हुन्छन । चारधाम क्षेत्रमा कठिन भूगोल, छिनछिनमा बदलि रहने मौसम र अधारभूत सुरक्षाको अभावले गर्दा नेपाली मजदुरहरूका लागि चारधाम क्षेत्र जोखिमपूर्ण भएपनि छोटो अवधिमा राम्रो कमाई हुने हुदा तीर्थयात्री बोक्ने काममा नेपालीहरू धेरै लागेका छन ।

उत्तराखण्डका चारधाम तीर्थस्थलहरू आज भारतका धार्मिक केन्द्र भए पनि इतिहासको एउटा कालखण्डमा ती गोरखा साम्राज्यको प्रभाव क्षेत्रमा थिए । गोरखा विस्तार, ब्रिटिश साम्राज्यसँगको युद्ध, नालापानीदेखि कुमाउँसम्मको संघर्ष र अन्ततः सुगौली सन्धिले नेपालको पश्चिमी भूगोल परिवर्तन गरिदियो । आज तीर्थयात्रीहरू जब चारधाम पुग्छन, उनीहरू केवल धार्मिक दर्शन मात्र गर्दैनन उनीहरू इतिहासका पानाहरू पनि खोज्दछन । जहाँ धर्म, राजनीति र भूगोल एकअर्कोसँग गाँसिएका छन । यसैले चारधाम यात्रा नेपालीहरूका लागि आस्थाको मात्र होइन, इतिहास र स्मृतिको पनि यात्रा हो ।

(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८२ चैत्र ५, बिहीबार १४:०६ गते