प्रचण्ड जीतबाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारमा जांदैछ । सायद ठूलो पार्टी बन्ने संभावनाबाट बहुमत र दुइतिहाइको अवसर दिलाउने नेता भने बालेन नै हुन् । रास्वपाले जीत जति सजिलोसंग निकाल्यो काम गर्न त्यति सजिलो छैन । दुईवटा फरक आशामा रहेकाहरूले कुनै सोच बिना नै मत दिएका छन् । तर उनीहरूका चाहना र आशा फरक छन् । एउटाको चाहाना पुरा हुंदा अर्को दुःखी हुन्छ भने त्यस अवस्थामा सरकारले विवेकपूर्ण निर्णय गर्न र मतदाताहरूलाई चित्त बुझाउन सक्ने कार्य गर्न पर्छ । इमान्दारी र पारदर्शी कार्यले जनतालाई चित्त बुझाउन सजिलो हुन्छ । यसरी सरकारले गर्न पर्ने केही सन्तुलित कामहरू छन् । सबैलाई थाहा छ कि सरकारका क्षमताहरू सिमित छन् ।
भ्रष्टाचार र ढिलासुस्ती रोक्नु अहिले गर्न सकिने मुख्य काम हो । नागरिकताको प्रमाणपत्र लिंदादेखि सरकारी अस्पतालमा हुने सुविधामा ढिला सुस्ती छन् । किसानले उत्पादन गरेका कागती, तरकारी समेत बिक्रीको लागि राम्रो बजार छैन, तर त्यही बस्तु विदेशबाट नेपालमा ल्याएर बिक्री हुन सकेको छ । चिनिया फलफूल तथा भारतीय तरकारीसंग प्रतिस्पर्धा गर्न सक्षम भएर पनि उत्पादन र बजारीकरणको उचित व्यवस्थापन नहुंदा नेपालका ती बस्तुहरू सडेर गएका छन् । यी सामान्य नागरिकहरूका पीडा हुन् । सामान्य कर्मचारी सरुवामा बेइमानी भएको छ । भन्सारमा भन्सार नतिरी सामान ल्याउने भ्रष्टाचारी(तस्कर)हरूको सञ्जाल नै छ । यद्यपि यी पक्षहरू सामान्य नागरिकहरूलाई त्यति जानकारी हुंदैनन् । तर तस्करीबाट आएका सामानहरू ल्याउनेले कर छलेका हुन्छन् र सामानहरू पनि उचित नहुन सक्छन् ।
समस्या त्यतिमात्र होइन, बैंकमा पैसा थुप्रिएको छ । व्याज सस्तो भएको छ । तर मानिसहरू उद्योग, व्यवसाय गर्न चाहदैनन् । उद्योगमा भन्दा मानिसहरूको व्यापार र आयात निर्यातमा ज्यादा दिलचस्वी छ । यो कारणको अन्तर्यमा सरकार जान सक्छ ? उद्योग चलाएमा उद्योगीलाई शोषक र सामान्त तथा मजदुर बिरोधी भन्ने र उद्योग सञ्चालन गरेको दिनदेखि नै मजदुरहरू निहु खोजेर हडताल गर्न चाहाने हुंदा लागानी पनि खतम हुने र उद्योग टाट पल्टने समस्या पनि आउने गरेका छन् । त्यो डर उद्योगीमा छ । व्यापार गरेमा पैसा विदेश त जान्छ । कोही स्थायी मजदुर हुंदैनन् । विदेशबाट सामान ल्याउने पनि साहु हुन्छ र त्यो विभिन्न तहमा किन्न पनि साहु नै हुन्छन् । अन्त्यमा किराना पसल गर्नेले ग्राहकलाई बेच्छ । त्यहांँ कतै पनि मजदुर र उद्योगीको टसल हुंदैन । यस्तोमा व्यापार छोडेर किन उद्योगमा जाने ? सरकारले उद्योग मैत्री नीति ल्याउन आवश्यक छ र इमान्दार मजदुरहरूको पक्षमा तर मजदुरको नाममा राजनीति दलहरूका भरिया बन्नेहरूबाट उद्योगलाई बचाउनै पर्छ ।
वैदेशिक रोजगारी नेपालीहरूको लागि पेन किलर र हामीहरूलाई विदेशी सामान किन्न बानी पार्ने माध्यम बनेको छ । विदेशबाट पैसा आउंछ । परिवार काम नगरी विदेशबाट कमाएर पठाएको पैसा खर्च गर्दछ । विदेशबाट आएका सामान र बस्तुहरू प्रयोग गर्ने बानी परेको छ । हामी घरको वरपर मौसमी तरकारी खान बानी परेकामा ती केरा सुन्तला, नस्पती, मेवा आदि फलफूलहरू अहिले तल्लो जस्तो देखिन थालेका छन् । भेट्न जांदा स्याउ, अंगुर, नरिवल जस्ता विदेशमा नै पाइने फलपूmलहरू दिने गरिन्छ । विदेशको रोजगारी त कुनै दिनमा सकिएला तर यो बानी त परि नै रहन्छ । के सरकारले विदेशबाट आउने तरकारी, फलफूल, चावल, पिठो, तेल, कागतीसमेत रोकेर देशमा नै उत्पादन गर्ने वातावरण बनाउन सक्ला ? सरकारले सब्सीडी अर्थात अनुदान दिएर कृषी उत्पादनलाई प्रोत्साहन दिन सक्ला ? त्यतिमात्र होइन, हामीहरूसंग खेतीमा काम गर्ने मजदुरहरू पनि छैनन् । पहाडी क्षेत्रमा जनसंख्या तिब्र रुपमा घटेको छ । यो कसरी व्यवस्थापन होला ? पहाडी समाजमा जनसंख्या त घटेकै छ । त्यो भन्दा खराब त पढेकाले खेतीपाती गर्नै हुंदैन भन्ने भावना विकसित भएको छ । प्लस टु गरेर विदेश नगइ नहुने मानसिकतालाई सरकारले कसरी देशमा नै उद्योग, कृषिमा लाग्नु पर्छ भनेर प्रोत्साहन गर्न सक्ला ?
कति अप्ठेरो छ भने शिक्षा क्षेत्रमा सरकारी विद्यालयले राम्रो गर्न सकेका छैनन् । निजी विद्यालयहरूले नै राम्रो जनशक्ति दिएका छन् । यसभन्दा पहिलाका सरकारले जे भए पनि सरकारी विद्यालयलाई प्रोत्साहन दिने र निजी विद्यालयहरूलाई हतोत्साहित गर्न थालेका हुन् । तर सरकारी विद्यालयका उत्पादनहरू मध्ये ९९ प्रतिशतहरू अरव र मलेसियामा सही गर्नसम्म जान्ने बनेर लेवर गर्न गएका छन् । विकसित देशमा रोजगारीको लागि जानेहरू निजी विद्यालयमा पढ्नेहरू नै छन् । के यो सरकार पनि युवाहरूलाई सहीसम्म गर्न सक्ने जनशक्तिको रुपमा विकास गर्न चाहन्छ कि स्तरीय शिक्षा दिन्छ ? स्तरीय शिक्षाको लागि निजी सरकारी सौहाद्रपूर्ण साझेदारी हुन आवश्यक छ । निजी विद्यालयहरूले धेरै युवाहरूलाई रोजगारी दिएर स्तरीय शिक्षा दिएका छन् । यी बिषयमा भावनामा बगेर होइन, राष्ट्रहित सर्बोपरी राखेर निर्णय गर्न आवश्यक छ ।
लगानी ज्यादा र प्रतिफल नगन्य भएको क्षेत्र शिक्षा हो । अर्कोतर्फ देशमा ससस्त्र प्रहरी र जनपद प्रहरीको अवधारणा विषेश अवस्थामा आएको हो । नेपालमा यी दुवै निकायलाई मर्ज गर्ने हो भने सुरक्षा कार्य चुस्त दुरुस्त र कम खर्चिलो हुन सक्छ । कर्मचारीहरूको खर्च समेत देशको राजश्वले पुग्दैन । साधारण खर्चको लागि समेत आन्तरिक ऋण र विदेशी ऋणमा निर्भर हुन पर्ने अवस्था बढ्दै गएको छ । यस्तो अवस्थामा बिना ऋण देशको कायापलट गर्न सकिएला कि नसकिएला ? विकास कार्य विदेशी ऋणबाट नै हुन्छन् । भ्रष्टाचारले गर्दा हरेक आयोजना जतिमा बन्न पर्ने हो त्यसका दोब्बर लाग्ने गरेको छ र आयोजनाको परिणाममा हुन पर्ने भन्दा धेरै कम स्तरको हुने गरको पाइन्छ । अर्थात निजी तवरले गरिने कार्यहरूको तुलनामा त्यही कार्य निजी क्षेत्रबाट हुंदा २५ प्रतिशतसम्ममा हुन सक्नेमा सरकारले गर्दा २५ रुपैयामा हुने कार्य १०० रुपैयासम्म लाग्ने गरेको देखिन्छ । यो अवस्थाको अन्त्य गर्न आवश्यक छ । तर सकिएला ?
रवि लामिछानेलाई पुराना भ्रष्ट्रहरूले लखेटेको लखेटेइ गरे । जनताले सायद त्यो अन्याय देखेर पनि राविको दललाई बहुमत दियो । पुराना दलका नेताहरूले आफ्नो जिउको भैसी नदेख्ने र अरुको जिउको जुम्रा देख्ने जसरी पूर्वाग्रह लिएर काम गरे । सरकारमा हुंदा कुनै गल्ती नगरेका, बरु भन्सार, सुरक्षासमेतमा राम्रो गरेका रविमाथि घरमा श्रोत नै नभएका अरवौ रकम खरानी भएको देखिएका समेतले पुर्वाग्रहका आधारमा सजाय गर्न खोजे । गलतहरूले उनलाई झुठा आरोप लगाएर सजायको दायरामा ल्याउन खोजे । सायद रविको गल्ती भएको भए पनि देवानी प्रकृतिको र रकम असुलीको मागसम्म हुन सक्ने र उनले रकम दिन पर्ने, नपर्ने समेत पछि प्रमाणहरूबाट निरिक्यौल हुनेमा दुःख दिएर अपराधी नै घोषित गर्न पर्छ भन्ने लोकतन्त्रको नाममा सफ्ट भनिने गरेको तर घातक तानाशाही सोचले काम गरी रहेको हो ।
यही रोग रास्वपामा नदोहोरियोस् । पुराना दलहरूले गल्ती गर्ने, देशको दोहन गर्ने, भ्रष्टाचारमा चुर्लुम्म डुब्ने र देशलाई डुवाउने कार्य गरे । रविहरू आएमा आफूहरू सजायको दायरामा आउने डरले समेत रविलाई रोक्न सकभर प्रयास गरे । यस्तै कार्य रविहरूबाट दोहोरिन हुंदैन । गल्ती गर्ने र गल्ती लुकाउन अरुलाई दुःख दिने कार्य भयो भने रविको पार्टीको बालेन सरकारको पनि हैसियत पुरानाहरूको भन्दा फरक हुने छैन ।
अन्त्यमा, रास्वपाले सबैभन्दा ठूलो थप्पड नामै हराएको माओवादीलाई दिएको छ । सुधारको लागि बन्दुक नै बोक्नु पर्छ, हत्या र हिंसामा नै लाग्नु पर्छ । हजारौं मानिसहरूको बलिदान हुन पर्छ, देशमा त्रासको अवस्था आउन पर्छ भन्ने सन्देश दिने र सरकारमा पुगे पछि अरु भन्दा अझै नराम्रो हुने माओवादी प्रवृत्तिलाई बन्दुक होइन मतले पनि ठूलो परिवर्तन गर्न सकिन्छ भन्ने सन्देश रास्वपाले दिएको छ ।
यसप्रकार रास्वपाको जीतसँगै सिर्जिएको आशा आउँदा दिनमा खुशीमा परिणत हुनु पर्दछ । अन्यथा, त्यसपछिका दिनमा रास्वपाका लागि सत्ता आकाशको फल बन्न पनि सक्छ तर त्यस्तो नहोस् भन्नेमा रास्वपाको समग्र टिम तल गाउँ वडादेखि केन्द्रसम्म सचेत भएर कदम चाल्न आवश्यक छ ।
प्रकाशित मिति २०८२ चैत्र १५, आईतवार १९:३६ गते