
बेसीशहर– लमजुङको पसगाउँमा दुई दिने १६ औं महोत्सवको तयारी थालिएको छ । यही चैत २५ र २६ गते हुने सो महोत्सवको बारेमा महोत्सव आयोजक समितिद्वारा यहाँ चैत १७ गते पत्रकार सम्मेलनको आयोजना गरी त्यसबारेमा जानकारी दिएको हो ।
पसगाउँको प्रचार प्रसार गर्ने र पसगाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र गरीबी न्यूनीकरण गर्ने उद्देश्यले विगतका वर्षझैं यो वर्ष पनि महोत्सवको आयोजना गरिएको आयोजक पसगाउँ सामुहिक होमस्टेका अध्यक्ष सुर्यप्रसाद गुरुङले बताउनु भयो । उहाँका अनुसार पसगाउँमा हरेक वर्ष महात्सव गरिदै आएको छ । उहाँले भन्नुभयो, ‘यो वर्ष १६ औं शृंखलाको महोत्सवको तयारी थालिएको हो ।’
लमजुङको क्व्होलासोंथर गाउँपालिका– ६, पसगाउँवासी महोत्सवकाको तयारीमा जुटीसकेको उहाँको भनाइ छ । आयोजक पसगाउँ सामुहिक होमस्टेले महोत्सवको बारेमा जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरिएको क्व्होलासोंथार गाउँपालिका अध्यक्ष समेत रहनु भएका आयोजक पसगाउँ सामुहिक होमस्टेका अध्यक्ष सुर्य गुरुङले उल्लेख गर्नु भयो । उहाँका अनुसार मानाङ जाने पदमार्ग बनाउने प्रयासमा आफूहरू रहेको यो वर्ष स्थानीय कलाकार प्राथमिकता दिने उद्देश्य छ ।
महोत्सवका कारणबाट भएको प्रचारप्रसारले प्याकेजमा समूहगत रुपमा आउने पर्यटनको संख्या बढेको जानकारी दिदै उहाँले एक सय पाहुनालाई सजिलै राख्ने क्षमता गाउँमा छ । होमस्टे भएका घरको संख्या भने २१ मात्र रहेको उहाँले जानकारी दिनुभयो ।
यस पटक पालिकाको वडास्तरीय गीत समुह नाच प्रतियोगिता हुने कार्यक्रम रहेको छ र प्रतियोगितामा भाग लिएर पहिलो, दोस्रो र तेस्रो हुने समूहले क्रमशः ५०, ३० र २० हजार रुपैयाँ पाउने छन् । प्रतियोगितामा भाग लिन एक समूहमा ४ देखि ८ जनाले सम्मले पाउने व्यवस्था छ ।
गाउँपालिकाका अध्यक्ष समेत रहनु भएका सूर्य गुरुङले भन्नुभयो, ‘पसगाउँ खाद्यान्नमा आत्मनिर्भर छ ।’ उहाँका अनुसार अलैंची, किवी र चिया नयाँ उत्पादनका रुपमा रहेका छन् । पुरानो उत्पादन काग्नु, आँगा आदि पनि फलाइन्छ, पस गाउँमा कुनै जमानामा १७५ घर रहेकोमा यतिबेला भने १२५ घरमा मात्र बसोबास रहेको छ ।
त्यो ठाउँलाई दूधपोखरी र मनाङ जाने बाटो हो भन्ने प्रचार गर्नु पर्ने छ उहाँले जोड दिदै भन्नुभयो । उहाँका अनुसार महोत्सव थालिएपछि १० वर्ष अघि र आजको दिनमा आउँदा गाउँले धरै फड्को मारेको छ तर पनि सडक असुविधाले पर्याप्त पर्यटन ल्याउन नसकेको स्थिति छ । उहाँले भन्नुभयो, ‘हामी त्यो स्थितिलाई चिर्न चाहन्छौं तर त्यो स्थानीय तहको पहुँचले मात्र सम्भव हुँदैन रहेछ, त्यसैले हामीले यो कार्यका लागि प्रदेश र संघ सरकारको पनि ध्यानाकर्षण गरिरहेका छौं ।’
महोत्सवका लागि वडा र पालिका, एक्याप पर्यटन बोर्ड पोखरा आदिले पनि सहयोग गरेका छन् । यो महोत्सवमा १० लाख खर्च हुने अनुमान छ अध्यक्ष गुरुङले जानकारी दिनुभयो । पसगाउँको होमस्टेमा रातमा बास बस्नका लागि पुगेको दिनको खाजा, रातको खाना, बास र भोलिपल्ट विहानको नास्ताका लागि प्रति व्यक्ति १२ सयको प्याकेज छ । हाम्रो मुल उद्देश्य गिलुङ र पसगाउ, सिङ्दीलाई चलायमान बनाउने हो ।
पसगाउँमा २०६० सालदेखि महोत्सव हुँदै आएको आयोजकको भनाइ छ । पसगाउँमा आन्तरिक तथा बाह्य पर्यटक बोलाउने उद्देश्यले महोत्सव गर्न पसगाउँवासीहरू जुर्मुराएका छन् । प्रकृति र संस्कृतिले धनी पसगाउँमा पर्यटकलाई स्वागत गर्न स्थानीय आतुर छन् गुरुङले भन्नुभयो । उहाँका अनुसार ढुङ्गाका छाना, पुरानो शैलीका घुमाउने घर, परम्परागत रहनसहन, दक्षिणी मोहोडामा ढुंगाले छाएका घरहरू, गुरुङ संग्रहालय, ऐतिहासिक तथा धार्मिकस्थलहरू पसगाउँका हेर्नलायक सम्पदाहरू हुन् । गाउँका सामाजिक परम्पराहरु रोधीं, हुरी, सामुहिक श्रमलगायत परम्परागत प्रथा, आमा समूहको नाच, युवा क्वलको सांस्कृतिक नाच, सेर्गा, घाँटु, कृष्ण चरित्र, सारङ्गी, झ्याउरेलगायत नाच आदि पसगाउँका विशेषता हुन् ।
समुद्री सतहदेखि १ हजार ६३० मिटरको उचाइमा रहेको पसगाउँ कास्कीको मादी गाउँपालिकाको सीमासँग जोडिएको छ । उक्त गाउँमा चोबीसै घण्टा बिजुली र पानीको सुविधा छ । गाउँको प्रचार हुन सके पर्यटनबाट सबैले लाभ पाउने बताउँदै पसगाउँ मात्रै नभई क्होंम्रेडाँडा, छेदोपुँ र ङ्ह्योजेलगायतमा पर्यटक पुग्दा रमाइलो मान्ने ठाउँहरू छन् अध्यक्ष गुरुङ भन्नुहुन्छ । उहाँका अनुसार पर्यटन प्रवर्धनका लागि २०५८ सालदेखि महोत्सव हुँदै आएको छ ।
क्व्होलासोंथर– ६, पसगाउँका वडाध्यक्ष मनलाल गुरुङले गाउँमा पर्यटकका लागि २२ घरमा होमस्टे सञ्चालन गरिएकोे बताउनु भयो । उहाँका अनुसार महोत्सवमा अलैंची र चिया बगानको दृश्यावलोकन, स्थानीय गुरुङ खाना महोत्सव, प्राकृतिक दृश्यावलोकन, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति लगायतका कार्यक्रम राखिएको छ ।
संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद गुरुङले गाउँको प्रचारप्रसार गर्न, होमस्टेमा पर्यटक बसाउन र स्थानीय कला, संस्कार संस्कृति देखाउन महोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो ।
पसगाउँलाई देश विदेशमा थप चिनाउन, स्थानीय भेषभूषा, कला संस्कृति, गीत संगीतको संरक्षण र संवद्र्धन गर्न, गरिबी न्यूनीकरण गर्न, स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।
पसगाउँमा अग्र्यानिक खानपान, परम्परागत हस्तकला, पौराणिक चालचलन, रहनसहन, प्रकृति र संस्कृतिका लागि पसगाउँ धनी छ समितिका सचिव एवम् पूर्वशिक्षक रतनसिंह गुरुङले भन्नुभयो । उहाँका अनुसार समय अनुकूल वनजंगलमा पाइने विभिन्न प्रकारका फलफूलले पर्यटक लोभ्याउने गरेको छ ।
पसगाउँमा गुरुङ समुदायको बाहुल्यता रहेता पनि भुजेल, दलित समुदायहरू पनि छन । गाउँ माथिको क्होम्रेडाँडा र ङ्योजेडाँडा पुगेपछि पोखरा आसपासका क्षेत्रमात्रै नभइ मनाङ, गोरखा, कास्कीका ग्रामीण भेगदेखि शहरहरू देख्न सकिने समितिका सहसचिव भक्त गुरुङ बताउँछन् । उनका अनुसार यहाँबाट सूर्योदय र सर्यास्तमात्रै नभएर दर्जन हिमश्रृंखलाहरू लहरै देख्न सकिन्छ ।
पसगाउँवासीले २०६० वैशाख १६ र १७ गते पहिलो पसगाउँ महोत्सव आयोजना गरेको थियो । बीचमा केही वर्ष भूकम्प, कोरोना आदिका कारणले गर्दा महोत्सव रोकिएकोमा पछिल्लो समय बर्षेनी महोत्सव हुन थालेको छ ।
पसगाउँमा जानका लागि लमजुङको जिल्ला सदरमुकाम बेसीशहरबाट बागलुङपानी, घलेगाउँ, घनपोखरा, भुजुङ हुँदै हिँडेर पसगाउँ पुग्न सकिन्छ । खुदीबाट घलेगाउँ, भुजुङ हुँदै कास्कीको नागिधार, पाखुरीकोट, याङ्जाकोट हुँदै पोखरा निस्कने गुरुङ सम्पदा मार्गको एउटा गन्तव्य पसगाउँ पनि हो । बागलुङपानीबाट छुट्टिएर मालिङ, घाम्राङ हुँदै पसगाउँ पुग्न सकिने सुविधा छ ।
त्यस्तै, तनहुँको दमौलीबाट भोर्लेटार–रामबजार, गिलुङ, भोँजे, चरागाउँ, कुम्लुङ हुँदै पसगाउँ पुग्न सकिन्छ । यही बाटो अहिले पसगाउँसम्म मोटर पुगेको छ ।
यसैगरी, कास्कीको बेगनासबाट तालबेँसी हुँदै रामबजार पुगेर गिलुङ हुँदै पसगाउँ जाने सडक बनेको छ । पोखरादेखि कालिकास्थान, सौर्य, थुम्सीकोट, गहते, पाखुरीकोट– नागिधार हुँदै पनि पसगाउँ पुग्ने सडक छ । बेसीशहरबाट ९ कोश टाढा पर्ने पसगाउँ पोखराबाट ४७ किलोमिटरको दूरीमा पर्दछ ।
प्रकाशित मिति २०८२ चैत्र १९, बिहीबार १०:११ गते