छैटौं बाघ चाल खेल प्रतियोगितामा बडागाउँका गुरुङ बने विजेता, राउत दोस्रो

छैटौं बाघ चाल खेल प्रतियोगितामा बडागाउँका गुरुङ बने विजेता, राउत दोस्रो

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ चैत २२ गते सोमबार ०५:५०

तीन दिवसीय मेलाको भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष दामोदर अधिकारीले उदघाटन गर्नु भएको हो । सो अवसरमा प्रतिष्ठानको स्मारिका, लोगो र प्रतिष्ठानको नाम अंकीत डटपेनको विमोचन गरिएको थियो ।

मेलाको समापन सत्रमा मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ प्रमुख अतिथि हुनुहुन्थ्यो ।

बडागाउँ(लमजुङ)– लमजुङमा सञ्चालन गरिएको छैटौं बाघ चाल खेल प्रतियोगितामा स्थानीय गाउँका अनिल गुरुङ विजेता बन्नु भएको छ भने बेसीशहर नगरपालिका– ६ चनौटे निवासी होमबहादुर राउत दोस्रो हुनुभयो । सो नतिजा चैत २२ गते घोषणा भएको हो ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङले आफ्नो १० औं स्थापना दिवसका अवसरमा सोही गाउँमा आयोजित तीन दिवसीय ठाडोभाका मेलाका अवसरमा सो प्रतियोगिता सञ्चालन गरेको हो । बाघचालको उक्त प्रतियोगितामा लमजुङको मर्स्याङदी गाउँपालिका– ८ को बडागाउँ निवासी अनिल गुरुङ विजेता बनेका हुन् । मर्स्याङदी गाउँपालिका– ८ को बडागाउँका अनिल गुरुङले बेसीशहर नगरपालिका– ६ का होमबहादुर राउतलाई ३– २ को खेल सेटमा पराजित गरी विजयी भएको उक्त खेलका निर्णायक समितिका संयोजक एवम् अयोजक संस्थाका सल्लाहकार रमाराज खनियाले बताउनु भयो ।

उहाँका अनुसार मर्स्याङदी गाउँपालिका– ८ का डिल्लीराम भुजेल तेस्रा हुनु भएको छ । त्यस्तै, स्याङजा जिल्ला फेदीखोलाका चन्द्रबहादुर रानाभाटले सान्त्वना स्थान हासिल गरेको खनियाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘फाइनल चरणमा बेष्ट अफ फाइभका आधारमा खेल खेलाइएको थियो भने अन्य खेल बेष्ट अफ थ्रिका आधारमा खेलाइएका थिए ।’
‘मौलिक संस्कृतिको उत्थान– हाम्रो अभियान’ नाराका साथ सञ्चालन गरिएको सो प्रतियोगितामा ठाडोभाकाको तीन दिवसीय भेलाका अवसरमा दुई दिनसम्म सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
मेलाको समापन सत्रमा मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ प्रमुख अतिथि हुनुहुन्थ्यो । उहाँले प्रतियोगिताका विजेताहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो । उहाँले स्थानीय सरकारको ध्यान जान नसकेका यी विषयमा आयोजक प्रतिष्ठानले काम गरेर नयाँपन र नेपाली समाजको पहिचान बचाउन खोजेको छ, प्रतिष्ठानको यस्ता कार्य तथा अभियानका हामी सुरुदेखिनै साथमा छौं र सहकार्य गरिरहेका छौं भन्दै भोलिका दिनमा पनि सहकार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
‘हाम्रो नेपालीपन झल्कने संस्कृतिको रुप धारण गरिसकेको बाघचाल खेल जसलाई गाउँघरमा बाघ गट्टे पनि भनिन्छ’ पूर्वप्रजिअ समेत रहेका प्रतिष्ठानका सल्लाहकार रमेशचन्द्र अधिकारीले भन्नुभयो, ‘तर पछिल्लो पुस्ताले यस खेलको नाम समेत बिर्सिन लागेको स्थितिमा प्रतिष्ठानले प्रतियोगिता गरेर हामी नेपालीको पहिचानको रुपमा रहेको यो खेललाई संरक्षण गर्ने प्रयास गरेको छ ।’
प्रतिष्ठानले सो अवसरमा तीन दिने ठाडोभाका मेलाको आयोजना गर्दै पात बजाउने कलाका साथै ठाडोभाकाको समेत प्रतियोगिता गरेको थियो । त्यस्तै विभिन्न विधामा विशेष योगदान गर्ने आधा दर्जन बढी व्यक्तित्वलाई सम्मान समेत गरेको थियो ।
तीन दिवसीय मेलाको भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष दामोदर अधिकारीले उदघाटन गर्नु भएको हो । सो अवसरमा प्रतिष्ठानको स्मारिका, लोगो र प्रतिष्ठानको नाम अंकीत डटपेनको विमोचन गरिएको थियो ।
सो मेलाका अवसरमा व्यवस्थापन पक्षमा वडा गाउँमा रहेको शान्ति आमा समूहले सहयोग गरेको थियो । सो समूहकी अध्यक्ष एवम् समाजसेवी कुशमाया गुरुङको विशेष पहलमा उक्त कार्यक्रम बडा गाउँमा सम्पन्न हुन सेकेको हो ।
प्रतिष्ठानले पालिकास्तरमा वर्षेनी घुम्ति रुपमा ठाडोभाका मेलाको सञ्चालन गर्दै आएको थियो । सो मेला गत वर्ष दोर्दी गाउँपालिका– ८ को हिले बजारमा सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति २०८२ चैत्र २३, सोमबार १७:५० गते
हजुरको प्रतिक्रिया