
मुम्बई(भारत)– भारतीय महान् गायिका आशा भोसलेको निधन भएको छ । भारतको मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा चैत २९ गते निधन भएको हो । उहाँ ९२ वर्षकी सुप्रसिद्ध भारतीय गायिका आशा भोस्लेलाई कार्डियाक अरेस्टका कारण निधन भएको चिकित्सको भनाइ छ ।
हृदयाघात भएपछि हिजोमात्र उहाँलाई उपचारका लागि उक्त अस्पतालमा भर्ना गरिएको थियो । आशाका छोरा आनन्द भोसलेले आफ्नी आमाको निधनको पुष्टि गर्नु भएको हो ।
आशा भोसलेको जन्म संगीतसँग जोडिएको परिवारमा भएको थियो । उहाँका बुवा पण्डित दीनानाथ मंगेशकर अभिनेता तथा शास्त्रीय गायक थिए । आशाका चुरालिया है तुम ने जो दिलको, दिल चीज क्या है, दम मारो दम, ए मेरा दिल, जवानी जाने मन, रंगीला रे, तन्हा तन्हा लगायत सयौं गीत लोकप्रिय छन् । ‘सैंया बिना’ उनको रिलिज भएको अन्तिम गीत हो, जुन एक वर्षअघि आएको थियो । लता मंगेशकरकी बहिनी आशाले सांगीतिक करियरमा १२ हजारभन्दा बढी गीतमा आवाज दिनु भएको बताइन्छ ।
आशाले सन् १९४८ मा बलिउडमा पाश्र्व गायनको यात्रा सुरु गर्नु भएको थियो । उहाँले हिन्दी भाषामा पहिलोपटक चलचित्र ‘चुनरिया’ (१९४८) मा ‘सावन आया रे’ गीत गाएकी थिइन् । त्यसपछि पछाडि फर्किनुपरेन । उनले फिल्मी गीत, पप, गजल, भजन, शास्त्रीय संगतीसहित विभिन्न १४ भाषाका गीतमा आवाज दिइसकेकी छिन् । भारतकी सुप्रसिद्ध गायिका लता मंगेसकर आशाकी दिदी हुन् भने अर्की प्रसिद्ध गायिका उषा मंगेसकर बहिनी हुन् ।
जादुमयी आवाज, मीठो टोन र उत्कृष्ट गायकीकी संगम आशा भोसलेले थुप्रै नेपाली गीत समेत गाएर नेपाली पाश्र्व गायन अमिट छाप छोडेकी छन् । फिल्म ‘प्रेमपिण्ड’को ‘गैरी खेतको शिरै हान्यो’ गीतबाट धेरै नेपालीले उनलाई सम्झिन्छन् । यस्तै ‘चिनो’का लागि नारायणगोपालसँग गाएको ‘मोहनी लाग्ला है’, ‘स्वर्ग’को ‘दियो बाली साँझको’ गीत पनि उत्तिकै लोकप्रिय छन् ।
संघर्षपूर्ण जीवनयात्रा :
आशाको जीवन संघर्षपूर्ण र प्रेरणदायी रह्यो । आशा ९ वर्षकी हुँदा उहाँका पिताजीको निधन भयो । त्यसपछि परिवारको खर्चपानी जुटाउन दिदी लता मंगेशकरसँग मिलेर गीत गाउन सुरु गर्नु भएको जानकारहरू बताउछन् ।
१६ वर्षमै उहँले बहिनी लता मंगेशकरका सेक्रेटरी गणपत राव भोसलेसँग विवाह गर्नु भयो । श्रीमान आशाभन्दा करिब २० वर्ष जेठा थिए । त्यही कारण माइती परिवारसँग उहाँको दूरी बढ्यो । बिहेपछि आशाले घरेलु हिंसाको सिकारसमेत बनेर कतिसम्म भने, उहाँले जिन्दगीदेखि निराश भएर आत्महत्या गर्ने सोचसम्म पुगेको भनिन्छ । त्यही कारण सन् १९६० मा उहाँको सम्बन्धविच्छेद भयो ।
आरडी बर्मनसँग आशाको दोस्रो बिहे भयो । आशासँग बिहे गर्ने प्रस्ताव बर्मनले राखेका थिए । आशाले तत्काल प्रस्ताव स्वीकार गरेको जानकारहरू बताउँछन् । उनीहरूबीचको चिनजान भने १९५६ देखि भएको थियो । त्यसपछि चलचित्र ‘तिसरी मंजिल’ (१९६६) मा काम गर्दा दोस्ती भयो । त्यो दोस्ती बिस्तारै प्रेममा परिणत भयो । फलतः उनीहरूले बिहे गरे ।तर, उता बर्मनकी आमाले आशासँग बिहे गर्ने प्रस्ताव अस्वीकार गर्दै भन्नुभयो, ‘यदि यो बिहे हुन्छ भने मेरो लासमाथि हुन्छ ।’
बर्मनकी आमाले आशासँग छोराको बिहे अस्वीकार गर्नुको कारण एक त आशा बर्मनभन्दा ६ वर्ष जेठी हुनुका साथै आशाका तीन बालबच्चा हुनु रहेको बताइन्छ ।
सुरुमा बर्मनले आमाको कुरा माने । तर, पिताको निधन भएपछि आमाको मानसिक स्थित बिग्रिँदै गयो । यस्तो अवस्थामा आमाको अवस्थामा सुधार आओस् भन्नका लागि पनि आशासँग सन् १९८० मा बिहे गरेका थिए ।
२० भाषामा १२ हजार गीत :
आशा भोसलेको करियर पाँच दशकभन्दा लामो रह्यो । सबैभन्दा उल्लेखनीय आशाले २० भन्दा बढी भारतीय र विदेशी भाषामा गीत गाएको उल्लेख छ । सन् २००६ मा उनले आफैं करिब १२ हजार गीत गाएको बताउनु भएको थियो ।
‘गैरी खेत’की सुप्रसिद्ध गायिका आशा :
जादुमयी आवाज, मीठो टोन र उत्कृष्ट गायकीकी संगम आशा भोसलेले थुप्रै नेपाली गीत समेत गाएर नेपाली पाश्र्व गायन अमिट छाप छोडेकी छन् । फिल्म ‘प्रेमपिण्ड’को ‘गैरी खेतको शिरै हान्यो’ गीतबाट धेरै नेपालीले उहाँलाई सम्झिन्छन् । यस्तै ‘चिनो’का लागि नारायणगोपालसँग गाएको ‘मोहनी लाग्ला है’, ‘स्वर्ग’को ‘दियो बाली साँझको’ गीत पनि उत्तिकै लोकप्रिय छन् ।
साथै, मिरमिरे साँझमा, एउटा मान्छे मनपर्छ, यति धेरै माया दियौ, आज हाम्रो भेट भाको दिन, को होला मेरो मायालु, साउने झरीमा, किन बढ्दैछ ढुकढुकी, पहाडको माथि माथि, तिम्रो मनमा लुकेको कुरा, तिमी मेरो म तिम्रो, तिम्रो आँखाको सागरमा लगायत दर्जनौं गीत लोकप्रिय छन् । खासगरी स्वरसम्राट नारायणगोपालसँग उहाँको युगल गायन निकै जमेको बताइन्छ ।
पुरस्कार :
आशा भोसले ग्रामी अवार्डका लागि नामांकित हुनेवाली पहिलो भारतीय गायिका पनि हुन् । उनलाई सन् १९९७ मा यो पुरस्कारका लागि नामांकित गरिएको थियो । यस्तै, सन् २००० मा दादा साहेब फाल्के, सन् २००८ मा पद्मविभूषण पुरस्कारबाट सम्मानित भइसकेकी छिन् । सन् २०११ मा उनको नाम गिनिज बुकमा लेखिइसकेको छ ।
सन् १९३३, सेप्टेम्बर ८ मा जन्मिएकी आशा पछिल्लो समय उनी आफ्नी नातिनी जनाई भोसलेसँग बस्दै आएकी थिइन् । आशाको अन्तिम संस्कार भोलि सोमबार दिउँसो ४ बजे शिवाजी पार्कमा गरिने छोराले आनन्द भोसलेले बताएका छन् ।
– एजेन्सीको सहयोगमा
प्रकाशित मिति २०८२ चैत्र २९, आईतवार १६:०६ गते