नयाँ वर्षमा धेरैको सोच घुमफिर गर्नेमा हुन्छ । नयाँ बर्ष नयाँ सोच, नयाँ उत्साह र नयाँ उमंगको पर्व पनि हो । नयाँ ठाउँको घुमफिरको मज्जा छुट्टै हुन्छ । नयाँ वर्षमा पारिवारिक सदस्य तथा साथीभाइसँग घुमफिरमा गएर रमाइलो गर्ने प्रचलन बसेको छ । नयाँ बर्षलाई मानिसहरूले गलत कुरा परित्याग गर्ने र असल आचरण अपनाउन सुरु गर्ने अवसरका रुपमा पनि लिने गर्छन् । घुमफिरलाई खुला विश्व विद्यालय पनि भनिन्छ । घुमफिरले मानिसहरूलाई धेरै ज्ञान प्राप्त हुन्छ ।
घुमफिरको लागि कहाँ जाने ? सबैलाई नयाँ ठाउँको खोजी हुन्छ । नेपालमा घुमफिर गर्ने धेरै स्थान छन् । प्राकृतिक सम्पदासंग रमाउने कि ? तीर्थाटन गर्ने कि ? ऐतिहासिक सम्पदाको अवलोकन गर्ने ? त्यसको निर्णय घुमफिरमा निस्कन भन्दा पहिलानै गर्दा राम्रो हुन्छ । घुमफिरमा निस्कनु भन्दा पहिले आफू पुग्ने स्थानको बारेमा जानकारी लिदा यात्रामा सजिलो हुन्छ । नेपालमा घुमफिरको लागि सातै प्रदेशमा रमणीय पर्यटकीयस्थलहरू छन । आफ्नो रुचि, समय र घुमफिरको लागि हुने खर्चको लेखाजोखा गरी यात्राको प्याकेज बनाउदा एउटै यात्रामा धेरै ठाउँ पुग्न सकिन्छ । घुमफिरमा समूहमा जाँदा खर्च पनि कम लाग्ने र यात्रामा रमाइलो पनि हुन्छ ।
खप्तड :
सुदूरपश्चिम प्रदेशको डोटी, अछाम, बझाङ र बाजुरा चारवटा जिल्लाको संगमस्थलमा रहेको खप्तड क्षेत्र अहिले पर्यटकहरूका लागि गन्तब्य बन्न थालेको छ । खप्तड राष्ट्रिय निकुञ्जलाई प्राकृतिक सौन्दर्यताको खानी मानिन्छ । खप्तडलाई धर्तीको स्वर्गको उपमा पनि दिइएको छ । प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधताले भरिपूर्ण खप्तडमा २२ वटा ठूला पाटन र ५२ वटा झोता अर्थात रुखका थुम्काहरू रहेका छन् । खप्तड प्रकृति प्रेमी पर्यटकहरूका लागि रमणिय मानिन्छ । सरकारले वि.सं. २०४३ सालमा २२५ वर्ग किलोमिटर क्षेत्र समेटेर खप्तड राष्ट्रिय निकुञ्ज बनाए पछि खप्तडको सरक्षंण भएको छ । खप्तड हिमाली क्षेत्र देखि चुरे श्रृंखलासम्म फैलिएको छ । निकुञ्ज मुख्यालयलाई केन्द्र मानेर त्रिवेणीधाम, खप्तड बाबा आश्रम, खापर दह, सहस्त्र लिंग र घोडा दाउने पाटन घुमफिर गर्न पर्यटकहरूलाई दुई दिन लाग्दछ । त्रिवेणीधाम गंगा, जमुना र सरस्वती नदीको संगम स्थल हो । खापर दहलाई फन्को मार्दाको मज्जा पर्यटकहरूका लागि छुट्टै हुन्छ ।
कसरी पुग्ने ?
खप्तड पुग्न कैलालीको धनगढीबाट डोटीको सिलगढीसम्म बसमा आठ घण्टाको यात्रा गरेपछि पैदल हिँड्नुपर्छ । सिलगढीबाट बगलेगसम्म जिप पनि चल्ने भएकाले जिप रिजर्भ गरेर पनि जान सकिन्छ । सिलगढीबाट सुरु भएको पैदल यात्राको पहिलो दिन झिगराना र दोस्रो दिन खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश गर्न सकिन्छ । यस्तै अछामको साँफेबगरबाट झिग्रानासम्म २ घण्टाको बस यात्रा र त्यहाँबाट ८ घण्टाको पैदल यात्रामा खप्तडबाबाको आश्रम पुग्न सकिन्छ । बझाङको बाटो भएर पनि खप्तड जान सकिन्छ । सबैभन्दा छोटो आरामदायी, सुरक्षित बाटो बझाङ तमैलबाट हो । धनगढीबाट गाडीमा तमैलसम्म जानुपर्दछ । तमैलबाट जीपमा दारुगाउँसम्म जान सकिन्छ । दारु गाउँबाट चार घण्टा नागबेली तर्पेलो उकालो करिब १२ किलोमिटर यात्रामा खप्तड पुगिन्छ । खप्तड यात्रामा न्यानो कपडा स्लिपिङ ब्याग र ड्राइफुडस साथमा बोक्दा राम्रो हुन्छ ।
रारा :
रारा त्यसै रमाइलो, उसै रमाइलो । वर्षभरको तनाव, धपेडी भुलेर उन्मुक्त रमाउन चाहनेहरू किन रारा नपुग्ने ? नयाँ वर्षको फुर्सदमा राराको यात्रा स्मरणीय हुनसक्छ । बदिलइरहने पृष्ठभूमिमा गाढा निलो पानीले भरिएको यो ताल हेर्दा साँच्चैको स्वर्ग पुगेको आभास मिल्छ । मुगु जिल्लामा रहेको रारा नेपालकै सबैभन्दा ठूलो ताल हो । राराको कन्चन पानीमा स्नो ट्राउट माछादेखि हास, जलेवा, क¥याङकुरुङ जस्ता चराहरू जलक्रिडामा मस्त हुन्छन् । रारा ताल स्वच्छ पानीमा नीलो आकाशको छायाका कारण गाढा नीलो देखिन्छ । तालको वरिपरी घुम्नका लागि ट्रेकिङ रुट छ । सफा पानीमा स्नो ट्राउट माछा तथा हाँस, जलेवाजस्ता चराहरू डुबुल्की मारेको दृष्यले राराको वातावरणनै भिन्न देखिन्छ । दिनभरीमा आफ्नो रुप फेरिरहने राराताल जेठदेखि असोज महिनासम्म विभिन्न फूलहरूले सजिएर मानौं स्वर्गकी अप्सरा जस्तै देखिन्छ । रारा तालको अर्को विशेषता के छ ? भने यस तालमा विश्वमा अन्यत्र कहि पनि नपाइने असला जातको हिमाली माछा पाइन्छ । रारा तालबाट करीब ३ घण्टाको पैदल यात्रा पश्चात् यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ । जहाँबाट रारा तालको मनमोहक दृष्यका साथै सैपाल हिमालको श्रृङखलाको मनोरम अवलोकन गर्न समेत सकिन्छ । रारा तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देखिन्छ । रारा क्षेत्रमा पुगेपछि पाइने प्राकृतिक आनन्द, चिसो हावा, वरिपरि जंगलले घेरिएको रारा साँच्चै मनमोहक छ ।
कसरी पुग्ने ?
रारा पुग्न पनि दुई वटा बाटो छन । नेपालगञ्जबाट करिब ४० मिनेटको हवाई यात्रामा मुगुको ताल्चा बिमानस्थल र त्यहाँबाट करिव २ घण्टा पैदल यात्रामा ताल पुग्न सकिन्छ । यस्तै स्थल मार्ग हुँदै जानको लागि कोहलपुर हुँदै सुर्खेत पुग्नु पर्ने हुन्छ । सुर्खेतबाट दैलेख, कालिकोट सदरमुकाम मान्म, नाग्म र जुम्लाको सिन्जा उपत्यका, भुलभुले हुँदै रारा ताल पुग्न सकिन्छ । सुर्खेतदेखि गाडीमा करिब १ दिनको यात्रा गर्नुपर्ने हुन्छ रारा पुग्न ।
शे–फोक्सुण्डो :
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यो राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको डोल्पा तथा मुगु जिल्लामा फैलिएको छ । यसको क्षेत्रफल ३ हजार ५५५ वर्ग किलोमिटर छ । यो निकुञ्ज २०५० सालमा स्थापना गरिएको हो । यस निकुञ्ज भित्र नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डो तथा एक ऐतिहासीक शे गुम्बा रहेका छन र यिनीहरूकै नाम जोडेर यसको नामाकरण गरिएको हो । शे–फोक्सुण्डो ताल ३ हजार ९०० मिटरको उचाईमा डोल्पा जिल्लामा पर्दछ । यस तालको लम्बाइ ४.८ कि.मी., चौडाइ १.६ कि.मी. र गहिराई १४५ मिटर रहेको सन २००४ मा नेपालको जल तथा मौसम विज्ञान विभागद्वारा एउटा सर्वेक्षणले देखाएको थियो । कान्जिरोवा हिमालको काखमा रहेको शे–फोक्सुण्डो ताल वाई आकारको छ ।
कसरी पुग्ने ?
हवाई यात्रामा नेपालगञ्जबाट सिधै डोल्पाको जुफाल विमानस्थलमा र त्यहाँबाट पैदल त्रिपुराहुँदै तालसम्म पुग्न सकिन्छ । स्थलमार्गबाट यहाँ जान बाँकेको कोहलपुर सुर्खेतको छिन्चु हुँदै दायाँ लागेर जाजरकोट भएर भेरी नदीको किनारै किनार डोल्पाको सदरमुकाम दुनै सम्म गाडीमा यात्रा गर्न सकिन्छ । दुनै देखि पैदल २ दिनमा शे–फोक्सुण्डा तालमा पुग्न सकिन्छ ।
म्याग्दीको पुनहिल :
आँखै अगाडि विश्वको सातौँ अग्लो धौलागिरी हिमाल । त्यसैले पर्यटकहरू धौलागिरी हिमाल हेर्न म्याग्दीको पुनहिल पुग्छन । यो स्थान धौलागिरी हिमश्रृखला हेर्ने सबैभन्दा उपयुक्त स्थान हो । समुन्द्री सतहबाट ३ हजार २ सय १० मिटर उचाइमा अवस्थित पुनहिलबाट धौलागिरी, अन्नपूर्ण माछापुच्छ्रे, नीलगिरी लगायत १५ वटा हिमालको मनोरम दृश्य अवलोकन गर्न पाइन्छ । त्यस्तै पुन हिल अन्नपूर्ण हिमश्रृंखलाको भ्यु पोइन्टको रुपमा पनि लिइन्छ । पुनहिलको बाटोमा जहाँबाट पनि मनै लोभ्याउने सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । घुमफिरमा हिमाली श्रृखला अवलोकन गर्ने सोचमा हुनुहुन्छ भने पुनहिलको पुग्न सके राम्रो हुन्छ ।
कसरी जाने ?
कास्कीको घोरेपानीबाट आधा घण्टाको उकालो हिँडेपछि पुनहिल पुगिन्छ पुनहिल पदयात्राको क्रममा दुईवटा विकल्प छन । एक, पुनहिल पदयात्रा मात्र र अर्को, पुनहिल हुँदै अन्नपूर्ण हिमालको आधार शिविरसम्मको यात्रा । पोखरादेखि पुनहिल पुगेर र्फकनका लागि पाँच दिन लाग्छ । अन्नपूर्ण हिमालको आधारशिविर पुगेर फर्कनका लागि भने आठ दिन लाग्छ । पोखरादेखि पुनहिल र पुनः पोखरा फर्कनका लागि पाँच दिनको समय छुटयाउनु उपयुक्त हुन्छ ।
मुक्तिनाथ :
नयाँ बर्षमा घुमफिर र तीर्थाटन गर्न धेरै मानिसहरू मुक्तिनाथ पुग्ने गर्दछन । मुक्तिनाथ हिन्दु तथा बौद्ध मार्गीहरूको लागि महत्वपूर्ण तीर्थस्थल हो । यो समुन्द्रको सतहदेखि ३ हजार ७१० मिटरको उचाईमा गोरङगा हिमालको फेदिमा रहेको छ । मुक्तिनाथ ५१ शक्तिपिठ मध्ये एक पिठको रुपमा पूजाआजा स्नान र दर्शन गरिन्छ । बौद्धधर्म अनुसार यसलाई च्यूभीग ग्यातुसा भनिन्छ । जसको अर्थ तिब्बतीय भाषा अनुसार एक सय आठ पानी हो । मुक्तिनाथ मन्दिरमा भगवान विष्णु लगायत देवीलक्ष्मी र गरुड भगवानको मूर्ति राखिएको छ । सबै मूर्ति सुनले बनेका छन् । मुक्तिनाथ धार्मिक स्थलमा १ सय आठ धाराहरु छन् । ती धाराहरूमा सबै तीर्थयात्रुहरूले नुवाउँछन् । सबै धाराहरूमा साडेको मुख आकृति रहेको छ । यो सबै राजा मुकुन्द सेनले बनाएका हुन भन्ने कुरा इतिहासमा उल्लेख छ । टिवेटन धर्म दर्शन अनुसार गुरु रिन्पो चे टिवेटन बुद्धधर्मका जन्मदाता यहि मुक्तिनाथको बाटो गरी तपस्या गरेर टिवेट गएका भन्ने जनविश्वास गरेको छ । मुक्तिनाथको १ सय ८ धाराबाट निस्किएको पानीको स्रोत नै कालीगण्डकीको मुहान हो । कालीगण्डकीको किनारामा नेपालमा अन्य नदीमा नपाइने कालो ढुङ्गा शालिकग्राम पाइन्छ । जुन ढुङ्गालाई हिन्दुधर्ममा भगवान नारायणको साक्षत रुप मानिन्छ ।
मुक्तिनाथ जादा उपल्लो मुस्ताङ पनि पुग्न सकिन्छ । विशेष गरी पहिले तिब्बती साम्राज्यको एक भागको रुपमा रहेको ल्हो क्षेत्र सँस्कृति र भौगोलिक दृश्यको कारणले पनि तिब्बत जस्तै लाग्छ । जोमसोमबाट उपल्लोे मुस्ताङसम्म सवारी साधन चल्न थालेपछि आन्तरिक पर्यटकको पनि चाप बढेको छ । जोमसोमबाट सवारी साधनमार्फत एक दिनको यात्रा गरेपछि माथिल्लो मुस्ताङ पुगिन्छ । माथिल्लो मुस्ताङमा जीवनशैली अन्य जिल्लाहरुको भन्दा फरक भएकोले पनि यो क्षेत्रमा पर्यटकहरू धेरै पुग्ने गर्दछन । उपल्लो मुस्ताङ आश्चर्यजनक खालका चट्टानहरूले घेरिएको र मरुभूमि जस्तो देखिने भौगोलिक दृश्यको बिचमा गाँउहरू र त्यहाँका हरिया खेतहरूले मरुभूमिको बिचमा बगैँचा जस्तो देखिन्छ । उपल्लो मुस्ताङमा पर्यटकहरूले नौतले गुफा, मौलिक संस्कृति, जीवनशैली, मनमोहक प्राकृतिक दृष्य तथा कोरला नाका अवलोकन गर्न सक्दछन ।
कसरी पुग्ने ?
पोखराबाट जोमसोमसम्म हवाई यात्रा पनि गर्न सकिन्छ । पोखरादेखि कालिगण्डकी करिडोर पर्वत, म्यादी हुदै पुग्न सकिन्छ । मुक्तिनाथको बेस रानीपौवासम्म बस पुग्दछ । त्यहाबाट आधा घन्टाको पैदल यात्रामा मुक्तिनाथ पुगिन्छ । जोमसोमदेखि माथिल्लो मुस्ताङ साना गाडीमा ६ घण्टामा पुग्न सकिन्छ ।
तिलिचो ताल :
तिलिचो ताल वाह्य पर्यटक मात्र होइन आजभोलि आन्तरिक पर्यटकहरूको पनि आकर्षणको गन्तब्य बनेको छ । करिब ५ हजार मिटरको उचाइमा रहेको तिलिचो ताल मनाङ जिल्लामा पर्दछ । कूल ४.८ वर्ग किमीभन्दा बढी क्षेत्रफलमा फैलिएको तिलिचो ताल वरिपरी सेता टल्किने तिलिचो हिमाल, अन्नपूर्ण रेन्ज र नीलगिरि हिमाल रहेका छन । हिमालको छाँया तालमा परेको दृश्य लोभै लाग्दो हुन्छ । तिलिचो ताल विश्वको सबैभन्दा अग्लो उचाइमा रहेको ताल मानिन्छ । अन्नपूर्ण पदयात्रा गर्ने सबैले थोराङ पास गर्दा यो तालमा पुग्दछन । ताल हेर्नका लागि जुनसुकै समयमा जान सकिँदैन । असोजदेखि मंसिरसम्म र चैतदेखि जेठसम्म पुग्दा राम्रो हुन्छ । धेरै अग्लो स्थानमा रहेको र नजिकै रहेका हिमालले गर्दा बढी चिसो र लेक लाग्ने सम्भावना बढी हुन्छ । तालसँगै मनाङको संस्कृति र भौगोलिक बनोटले पनि पर्यटकहरूको मन लोभ्याउँछ ।
कसरी जाने ?
तिलिचो ताल जान पहिलो दिन लमजुङको बेसीशहर वा त्यो भन्दा माथि पुग्न सकिन्छ । बेसीशहरदेखि उपल्लो मनाङको खाङसारसम्म जान साना गाडीहरू पाइन्छ । खाङसार हुँदै तिलिचो बेसक्याम्प बस्नु पर्नेहुन्छ । बेसक्याम्पबाट ४ घण्टामा ताल पुग्न सकिन्छ । तालको छेउमा बस्ने व्यवस्था नभएकाले बेसक्याम्पमा फर्किनु पर्ने हुन्छ ।
कन्याम :
इलाम जिल्लाको कन्याम पूर्वी नेपालको मनोरम पर्यटकीयस्थल हो । कन्याम इलामको सूर्योदय नगरपालिकामा पर्दछ । कन्याममा मनोरम चियाबारी भएकोले आन्तरिक एवं बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ । झापा, मोरङ, सुनसरी लगायतका तराईका जिल्ला तथा छिमेकी देश भारतबाटसमेत नयाँ बर्षको अवसरमा गर्मी छल्न ठूलो सख्यामा पर्यटकहरू कन्याममा घुम्न र वनभोज गर्न पुग्दछन् । कन्यामबाट श्रीअन्तु, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देखिनुका साथै सगरमाथा, कुम्भकर्ण जस्ता विश्वमै ख्याती प्राप्त हिमालको मनोरम दृश्य देख्न सकिन्छ । कन्याम घुम्न जाने मानिसहरूले घोडा चढेर चियाबारीमा घुमफिर गर्दै मनोरञ्जन लिन्छन् ।
कसरी जाने ?
कन्याम जानको लागि झापाको चारआलीबाट सवारी साधन पाइन्छ । कन्याममा बस्न खान होमस्टे पनि छ । पर्यटकहरुलाई कुनै असुबिधा हुदैन ।
ट्रेकिङ जान घुम्नको लागि शारीरिक रुपमा पूर्ण स्वस्थ हुनु पर्दछ । शारीरिक रुपमा पूर्ण रुपमा स्वस्थ भएन भने ट्रेकिङ गर्न सम्भव हुदैन । कतिपयलाई प्रेसर, सुगरजस्ता रोग हुन सक्छ । यसका लागि खानपिनमा विशेष ध्यान दिनु पर्दछ । खासगरी, उच्च हिमाली क्षेत्रमा जाँदा लेक लाग्ने अर्थात अल्टिच्युड सिकनेस लगायत अन्य विभिन्न स्वास्थ्य समस्या हुन सक्छन । चार हजार मिटरभन्दा माथि लेक लाग्न सक्छ । मौसमका कारण पनि स्वास्थ्यमा समस्या आउन सक्दछ । त्यसैले आफ्नो स्वास्थ्यप्रति सजग र सचेत हुनु पर्दछ । हिमाली क्षेत्रमा हावा चलिरहने भएकाले टाउको दुख्न सक्दछ । त्यसका लागि सिटामोललगायतका औषधि बोक्नु पर्दछ । फेरि अनावश्यक सामान राखेर झोला भारी पनि बनाउनु हुँदैन । तौल धेरै भएको झोला पनि बोक्नु हुँदैन । ट्रेकिङ गरेको एक–दुई दिनमै ज्यान भारी हुने भएकाले कम तौल भएको भारी बनाउनु पर्दछ । ट्रेकिङ सुज, क्याप, चस्मा, लठ्ठी, पानीको बोतल, सनब्लक क्रिम, बडीलोसनलगायतका सामान अनिवार्य लानु पर्दछ । यसबाहेक हलुका लुगा, ज्याकेट पनि लैजान आवश्यक छ । अग्लो तथा चिसो स्थानमा ट्रेकिङ जाँदै हुनुहुन्छ भने डाउन ज्याकेट बोक्नु पर्दछ ।
कस्तो खानेकुरा खाने ?
कतिपय ठाउँमा होटेल–रेस्टुरेन्ट उपलब्ध हुँदैनन । त्यसैले यस्ता ठाउँमा जाँदा आफूलाई चाहिन सक्ने खानेकुरा बोक्न बिसर्नु हुँदैन । त्यस्तै, मौसम परिवर्तन भइरहने भएकाले बिरामी पर्ने समेत सम्भावना रहन्छ । त्यसैले खानेकुरामा विशेष ध्यान दिनुपर्छ । हाइजेनिक खानेकुरा खाइरहने गर्नुपर्छ । सकेसम्म इनर्जी दिने चकलेटहरू बोक्दा राम्रो हुन्छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८३ बैशाख २, बुधबार ०७:०५ गते