धमिलिकुवा(लमजुङ)– राइनास नगरपालिका– ६ को कार्यालयले यहाँ स्थित वडा कार्यालयमा १० दिने मादल बजाउने तलिमको समापन गरिएको छ । सोही नगरपालिकाका मेयर खड्गबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सो तालिमको समापन चैत २९ गते भएको हो ।
सो तालिम राइनासटार सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको हो । तालिममा नगरपालिकाले सहयोग गरेको थियो ।
तालिमका सहभागीहरूलाई मेयर खड्गबहादुर गुरुङले प्रमाणपत्र वितरण गर्नु भएको थियो । आफ्नो मन्तव्यका क्रममा मेयर गुरुङले नगरपालिकाले धेरै तालिम सञ्चालन गरेको तर यो प्रकृतिको तालिम पहिलो भएको र अन्य तालिमभन्दा यो उपलब्धिपूर्ण भएको आफूलाई लागेको बताउनु भयो । उहाँले सहभागीहरूले तालिममा सिकेको सीपको उपयोग गर्न आग्रह गर्नुभयो ।
मेयर गुरुङ सहभागीहरूले बजाएको मादलको ताल र गीतमा नाच्दै खुशी व्यक्त गर्नु भएको थियो । त्यस्तै, सोही नगरपालिको शिक्षा शाखा प्रमुख पूर्णबहादुर नेपाली पनि सहभागी हुनुहुन्थ्यो । उहाँले समेत आफूले नाच्ने गाउने गरेर सहभागीको हौसला बढाउने काम गर्नु भएको थियो । मन्तव्यको क्रममा उहाँले जीवजन्तुलाई समेत संगीत मनपर्ने भएको हुँदा यसको महत्व छ भन्ने उल्लेख गर्नु भएको थिथो ।
तालिममा प्रशिक्षकको रुपमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालका महासचिव देवराज गुरुङले सहजिकरण गर्नु भएको थियो । उहाँले जिरो लेबलबाट सिकाएर १० दिनमा सहभागीहरूले राम्रो उपलब्धि हासिल गरेको जानकारी दिनुभयो ।
तालिमको समापनमा नगर कार्यपालिकाका सदस्यद्वय सोचना लौडारी र नानुमाया लामाको समेत तालिममा सहभागी हुनुहुन्थ्यो ।
सो तलिममा २८ जनाले भाग लिएकोमा २७ महिला सहभागी रहेको आयोजकको भनाइ छ । तालिमको समापन सोही वडाका सो तालिम राइनासटार सामुदायिक सिकाई केन्द्रका अध्यक्ष बाबुराम चिलुवालको अध्यक्षतामा भएको थियो । आयोजक सामुदायिक सिकाई केन्द्रका परिचालिका चिजा बुढाथोकीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
प्रकाशित मिति २०८३ बैशाख ४, शुक्रबार २२:१५ गते