काठमाडौं– दुराडाँडा सेवा समाज काठमाडौंमा पुरानै नेतृत्व दोहोरिएको छ । सांसद धर्मराज केसीको प्रमुख आतिथ्यतामा भएको समाजको २१औं वार्षिक साधारण सभामा गरिएको अधिवेशनबाट नयाँ समिति बैशाख ५ गते चयन भएको हो ।
नव गठित समितिमा अध्यक्ष देवीप्रसाद नेउपाने, उपाध्यक्ष प्रभुदास नेउपाने, महासचिव डा. उत्तम पौडेल, सचिव विनोद अधिकारी, कोषाध्यक्ष रविकान्त अधिकारी चयन हुनुहुन्छ । सदस्यहरूमा जनक खनाल, कृष्णराज श्रेष्ठ, भक्तबहादुर दुलाल, सकुन्तला न्यौपाने, अञ्जना पौडेल खनाल, भरत न्यौपाने र गोपाल न्यौपाने हुनुहुन्छ । अन्य दुई जना सदस्य पछि मनोनित गरिने भएको नवनिर्वाचित महासचिव डा. उत्तम पौडेलले जानकारी दिनु भएको छ ।

लमजुङबाट निर्वाचित संघीय सांसद धर्मराज केसीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको विशेष अतिथिमा दुरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानका अध्यक्ष गायत्री अधिकारी हुनुहुन्थ्यो । सो अधिवेशन समाजका अध्यक्ष देवीप्रसाद न्यौपानेको अध्यक्षतामा भएको हो ।
आफ्नो प्रमुख आतिथ्यता मन्तव्यमा सांसद केसीले गाउँमा बस्ने वातावरण बनाउन सबैले प्रयास गर्न आग्रह गर्दै अब हुने स्थानीय निर्वाचनमा गाउँमै गएर मतदान दिने गरी वातावरण मिलाउन सक्दा उजाड हुँदै गएका गाउँको रौनक फर्काउन सकिने बताउनु भयो । उहाँले वर्षमा कम्तिमा एक साता गाउँमा बस्ने गरी कार्ययोजना बनाउन सहभागीहरूलाई आग्रह गर्नुभयो । उहाँले अबको पाँच वर्षमा जिल्लामा पाँच सय किमि सडक कालोपत्रे गर्नका लागि सरकारसँग माग गरेको जानकारी दिनु भयो । यसैगरी, समाजका सल्लाहकार रामवावु अधिकारीले दुराडाँडाको एकतामा जोड दिदै गुमेको साख फर्काउन र भोलिका सुदुर दिनसम्म दीर्घकालीन गन्तव्यका लागि ‘सामाजिक परिवर्तन र शैक्षिक जागरण– सवल र समृद्ध दुराडाँडा हाम्रो पहिचान, हाम्रो सान’ नाराका साथ अघि बढ्नु पर्ने सुझाव राख्नु भयो ।

सो अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मातिन हुनु भएको थियो । प्रमुख अतिथि सांसद केसीबाट सम्मानित हुनुहुनेहरूमा जेष्ठ नागरिकहरू पूर्णभद्र न्यौपाने, १०१ वर्षीय बाबा बीरबहादुर दुरा, १०१ वर्षीया आमा डिल्लीराम न्यौपानेकी आमा हुनुहुन्छ । यसैगरी, डा उत्तम पौडेल, कवि हृदयपाणि अधिकारी, कवि प्रज्वल अधिकारी र गायिका सञ्चिता दुरालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा शुभकामना व्यक्त गर्नुहुनेमा प्राडा कृष्णबहादुर थापा, अमृतमणि पौडल, पूर्वअध्यक्ष कृष्ण राना, डा. उत्तम पौडेल, पूर्णभद्र न्यौपाने र पूर्वकर्णेल गोकुल दुरा हुनुुहुन्थ्यो । त्यस्तै, कविता वाचन गर्नेहरूमा प्रज्वल अधिकारी, अञ्जना पौडेल खनाल, कल्पना अधिकारी हुनुहुन्थ्यो भने रघुनाथ नेउपानेको कविता गणेश नेउपानेले वाचन गर्नु भएको थियो ।

सो अवसरमा महासचिव देशवन्धु अधिकारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । महासचिव ईश्वरप्रसाद अधिकारीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाँले समाजको उद्देश्य, लक्ष्य तथा योजनाअनुसार विभिन्न सामाजिक, शैक्षिक, सांस्कृतिक तथा विकासमुखी कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिइएको थियो । कोषाध्यक्ष भक्त दुलालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाँले यस समाजका अध्यक्ष देवीप्रसाद न्यौपानेबाट एक लाख, नेपाल सरकारका पूर्वसचिव मुरेशमान श्रेष्ठले उत्कृष्ट शिक्षक र अभिभावक सम्मानका लागि पचास हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त भएको जानकारी दिनु भयो ।
निर्वाचन समितिको संयोजकमा अधिवक्ता मदन खनिया तथा सदस्यद्वय सौनक घिमिरे र मुक्तिनाथ नेउपाने हुनुहुन्थ्यो ।