
पाउँदी (लमजुङ)– वरिष्ठ लोकसंस्कृतिविद् एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. जगमान गुरुङले अम्रपालीलाई बुद्धले मोक्ष दिनु भएपछि उनी भिक्षुणी बनेको बताउनु भएको छ । नेपाल ऋषि डा. गुरुङलाई लमजुङमा स्वागत गर्ने क्रममा लमजुङको प्रवेशनाका पाउँदीमा रहेको सर्वोदय सेवाश्रम धर्मनाथ धाममा स्वागत गर्ने क्रममा उहाँले बैशाख ६ गते त्यस्तो बताउनु भएको हो ।
संस्कृतिविद्, नेपाल ऋषि डा. गुरुङ ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आफ्ना संरक्षक एवम् ठाडोभाका महानायक धम्पुको हीरक जन्मोत्सवको अवसरमा बैशाख ७ गते बेसीशहरमा आयोजना गरेको रथारोहण तथा अभिनन्दन कार्यक्रममा प्रमुख आतिथ्यताका रुपमा उहाँ लमजुङ आउनु भएको हो । सो कार्यक्रम उहाँलाई लमजुङको प्रवेशनाकामा रहेको सर्वोदय सेवाश्रम धर्मनाथ धाममा स्वागत गरिएको थियो । सो क्रममा उक्त धाममा रहेको एक आँपको रुख जसमा तीनथरी स्वाद रहेको, ४/५ सय वर्ष पुरानो आँपको बृक्षका मुनी रहनु भएका बुद्ध भगवानको दर्शन गरेपछि उहाँले भन्नुभयो ‘आँपको बोट मुनी बुद्ध भगवान् किन बिराजमान हुनुभयो ? उहाँ त पिपलको बोट मुनी पो बस्नु पर्ने भन्ने प्रश्न पनि उठ्न सक्छ ।’
त्यसबारेमा प्रष्ट्याउँदै उहाँले भन्नुभयो, ‘हामी लिच्छवीकालमा पुग्नु पर्दछ ।’ उहाँले त्यो बेलामा सनातन संस्कृतिको अनुयायी भएता पनि लिच्छवीहरू कट्टर थिएनन् । त्यस समयमा कुनै पनि चेली राम्रो हुनु अभिसाप हुन्थ्यो । राम्री चेली जन्मिएमा उनलाई पैसामा भोग गर्ने प्रचलन थियो । त्यस्ता केटीहरूको विवाहसमेत हुन्नथ्यो र उनीहरू अम्रपाली(आँपको रुख) बनेर रहन्थे उहाँले जानकारी दिनुभयो । उहाँले थप भन्नुभयो, ‘त्यही क्रममा एक दिन बुद्ध भगवानलाई एउटै दिन एक धनी मान्छेले र एक बेश्या बनाइएकी अम्रपाली, जसलाई नगरबधु भनिन्थ्यो–ले खाना खान निमन्त्रणा गर्छिन् । बुद्धलाई द्विविधा हुन्छ । कस्कोमा जाने ? अनि धनी रहेका सुखीमान्छेकोमा जानभन्दा दुःखी बनेकी अम्रपालीकोमा जान बेस ठानेर बुद्ध जानु भयो । त्यसो गर्दा बुद्धको केहीले आलोचनासमेत गरे ।’ लिच्छवीकालीन नगरवधु(वेश्या) अम्रपालीकोमा पुगेर खाना खाइसकेपछि बुद्धले उनलाई आशीर्वाद दिनु भयो । त्यसपछि अम्रपाली भिक्षुणी बनिन् डा. गुरुङले जानकारी दिनुभयो । यसैले बुद्ध भगवान् पिपलको रुख मुनीमात्र हैन अम्रपाली(आँपको रुख) मुनी पनि बस्नु भएको थियो । जो यहाँ आजको दिनमा पनि प्रत्यक्ष देख्न पाइयो भन्दै खुशी व्यक्त गर्नु भयो ।
सो क्रममा नेपाल ऋषिका रुपमा समेत परिचित डा. गुरुङले धेरे वर्षअघिदेखि यहाँ आउने चाहना थियो, मौका मिलिरहेको थिएन । आज यो अवसर ठाडोभाका लोककला प्रतिष्ठानले दियो, त्यसमा उहाँहरू (प्रतिष्ठानका सल्लाहकार एवम् पूर्वप्रजिअ रमेशचन्द्र अधिकारी, संरक्षक बुद्धिमान दुरा ‘धम्पु’ र अध्यक्ष नवराज पहाडीप्रति संकेत गर्दै) धन्यवादका पात्र हुनुहुन्छ भन्नुभयो ।
अर्को एक प्रसङ्गमा उहाँले पूर्वी लमजुङको चर्चित नाका राइनासकोट र पश्चिमतर्फको नाका रबैडाँडा (आफ्नो जन्मथलो) रहेकोमा २०३२ सालमा कास्कीबाट २ जना माननीय बनाउनु पर्ने भएको हुँदा कास्कीमा लमजुङका पाँच गाउँ, तनहुँका केही र पर्वत, स्याङजाका पनि केही गाउँ कास्कीमा मिलाइएको हुँदा आफू कस्केली हुनु परेको तर वास्तवमा आफू लमजुङे रहेको डा. गुरुङले स्मरण गर्नुभयो ।
सो अवसरमा धर्मनाध धामको स्थापनाका बारेमा आश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलियाले जानकारी दिनु भएको थियो । उहाँले भन्नुभयो, ‘आश्रमको भान्सामा विगतका १४ वर्षदेखि काम गर्दै आउनु भएकी गीता पुलामीले सपनामा पटक पटक गरेर मर्स्याङदी नदी भित्र कालो, सेतो र खैरोरङ्गका शालिग्राम देख्नु भएको, साथै सर्वोदय सेवाश्रमका प्रमुख संरक्षक समेत रहनु भएका मानसाग्नी(डा. हरिप्रसाद पोखरेल)ज्यूले मर्स्याङदी नदी किनारमा साधनामा बस्नु हुँदा मूल शिव लिङ्गको अनुभूति भई नदी भित्रबाट प्राप्त भएको ।’ ती वस्तु प्राप्त भएपछि तिनीहरूको फोटासमेत नेपाल ऋषि डा. गुरुङलाई आफूले पठाएर धामका बारेमा जानकारी दिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार पाउँदी र मर्स्याङ्दी नदीको संगम नदी किनारमा कैलाश आकारका शिला भेटिएको हो । यी तीन थरी देव शिलालाई प्रतिस्थापन गरेर बाँकी पूर्वाधार एवम् देवसंरचना निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सन्तहरूको आशीर्वाद र कृपाले यो आश्रमको स्थापना भएको हो भन्नुभयो । उहाँले दीर्घकालीन सोचका साथमा आध्यात्मिक ध्यानको केन्द्र बनाउने र कुनै पनि सम्प्रदायको शाखाको रुपमा नभई सबैको उदय (सर्वोदय) गर्ने पवित्र उद्देश्य आश्रम स्थापनामा रहेको उल्लेख गर्नुभयो ।
सो अवसरमा आश्रमका अध्यक्ष सुकदेव रिसालसमेतले नेपाल ऋषि डा. गुरुङको टिमलाई स्वागत गर्नु भएको थियो । उक्त अवसरमा आश्रमका कोषाध्यक्ष भुमिनन्द तिमिल्सिना, जनसम्पर्क संयोजक लक्ष्मीप्रसाद मिश्रलगायतको सहभागिता रहेको थियो ।
डा. गुरुङका साथमा भोलिको कार्यक्रमको आयोजक प्रतिष्ठानका सल्लाहकार एवम् पूर्वप्रजिअ रमेशचन्द्र अधिकारी, संरक्षक धम्पु तथा अध्यक्ष पहाडीसमेत सहभागी हुनुहुन्थ्यो ।
सो अवसरमा डा. गुरुङको टोलीलाई आश्रममा उत्पादिन अर्गानिक केरा लगायतका फलफूलका साथमा गौशालाको मोहीबाटसमेत स्वागत सत्कार गरिएको थियो ।
प्रकाशित मिति २०८३ बैशाख ६, आईतवार २३:०९ गते