ठाडोभाका महानायक धम्पुलाई रथारोहणसहित उहाँको उचाई समान अभिनन्दनपत्रद्वारा सम्मान

ठाडोभाका महानायक धम्पुलाई रथारोहणसहित उहाँको उचाई समान अभिनन्दनपत्रद्वारा सम्मान

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ बैशाख ७ गते मङ्गलबार ०६:०७

लोककलाका क्षेत्रमा धम्पुले गरेको योगदानका लागि उच्च कदर गर्दै आज आयोजक प्रतिष्ठानले उहाँको सम्मानमा रथारोहण र अभिनन्दन गरेको हो डा. गुरुङले भन्नुभयो । नेपाल ऋषिको उपमा समेत पाउनु भएका डा. गुरुङले ‘यस कार्यले समाजमा मानिसहरूका योगदानको उ जिउँदो छदै मूल्यांकन गर्नु पर्छ भन्ने सन्देश दिएको’ बताउनु भयो ।

कलकारिताको क्षेत्रमा कलाकारलाई अभिनन्दन गरिएको सम्भवतः नेपालमै पहिलो कार्य यो भएको हुँदा सिङ्गो लमजुङ र कलाकर्मीहरू सबैले गौरव गर्ने अवसर पाएको पहाडीले उल्लेख गर्नु भयो ।

बेसीशहर– लमजुङमा ठाडोभाका महानायक धम्पुको रथारोहणसहित उहाँको उचाई बराबरको अभिन्नदनपत्रद्वारा अभिनन्दन गरिएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङद्वारा आफ्नो १० औं स्थापना दिवस तथा प्रतिष्ठानका संरक्षक समेत रहेका उहाँको हीरक जन्मोत्सवका अवसरमा रथारोहण सहित अभिनन्दन कार्य बैशाख ७ गते गरिएको हो ।
सो अवसरमा आयोजक प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पुलाई उहाँको उचाई बराबरको अभिनन्दन पत्र, दूबोको माला, सेतोफोता, नेपाली ढाका टोली पहिराउँदै अभिनन्दन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ लोकसंस्कृतिविद एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. जगमान गुरुङको उक्त अभिनन्दन पत्रद्वारा धम्पुलाई सम्मान गर्नु भएको हो । अभिनन्दन गर्नु अघि अभिनन्दन पत्र प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले वाचन गरेर सुनाउनु भएको थियो ।
प्रमुख अतिथि डा. गुरुङले अभिनन्दन गरी सकेपछि शुभकामना मन्तव्यमा लमजुङे भएकोमा गर्व लाग्ने गरेको बताउनु भयो । उहाँले आफू सुरुमा लमजुङे भएर जन्मिएको तर पछि राजनीतिक चलखेलका कारणले कास्कीसँग जोडिएका पाँच गाउँलाई कास्कीमा गाभिएका कारणले मात्र आफू यतिबेला कास्कीमा परेको स्मरण गर्नु भयो । उहाँले भन्नुभयो, ‘त्यो बेलामा कास्कीबाट दुईजना माननीय पठाउनु पर्ने भएको हुँदो त्यस्तो गरिएको उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो, ‘रथारोहण जस्तो महत्वको कार्य नेपालमा मात्र हैन संसारमै विरलै हुने गरेको छ, यसअघि लमजुङमा राष्ट्रकवि मावध घिमिरेको रथारोहणको भएको थियो र आज धम्पुको भयो, यो कार्यले धम्पुले नेपाली समाजका लोक कला, संस्कृतिका क्षेत्रमा गरेको योगदानको उचित पुरस्कार पाएको र उहाँ बधाईका पात्र हुनुहुन्छ ।’
उहाँले ठाडोभाकाको स्थायित्वका लागि धम्पुको योगदान बिर्सन नसकिने उल्लेख गर्नु भयो । देउबहादुर दुरा, पञ्चैसुब्बा गुरुङले सिर्जना गरेको यो भाकालाई पछिल्लो पुस्तामा जोगाउनका लागि भेडीखर्के साइँला पछिको बिर्सन नसक्ने योगदान धम्पुको रहेको जानकारी दिनुभयो । त्यही योगदानका लागि उच्च कदर गर्दै आज आयोजक प्रतिष्ठानले धम्पुको सम्मानमा रथारोहण र अभिनन्दन गरेको हो डा. गुरुङले भन्नुभयो । नेपाल ऋषिको उपमा समेत पाउनु भएका डा. गुरुङले ‘यस कार्यले समाजमा मानिसहरूका योगदानको उ जिउँदो छदै मूल्यांकन गर्नु पर्छ भन्ने सन्देश दिएको’ बताउनु भयो । यो कार्य जो पायो त्यही मान्छेले गर्न सक्ने पनि होइन भन्दै आयोजक प्रतिष्ठानको नेतृत्वकर्ता नवराज पहाडीलगायतको टिमलाई यसको जस जान्छ डा. गुरुङले उल्लेख गर्नुभयो ।
अभिनन्दन गर्नु अघि धम्पुको संक्षिप्त जिवनीमा प्रतिष्ठानका सल्लाहकार रमाराज खनियाले प्रकाश पार्नु भएको थियो । खनियाले धम्पुले ९ वर्षको कलिलो उमेरदेखि आफ्ना पिता टंकबहादुरको पछि लागेर स्थानीय गाउँमा प्रचलिन ठाडोभाका, सोरठी, कृष्ण चरित्र, लोक दोहोरीलगायत गीत गाउन थालेको जानकारी दिनुभयो । १३ वर्षको किशोर अवस्थामा प्रवेश गर्दा नगर्दै बाबुलाई गुमाएर टुहुरो बनेका धम्पुले त्यसपछि घरको अभिभावकत्व ग्रहण गर्न बाध्य हुनुभयो । घरमा आर्थिक स्रोतको अभावका करणले कक्षा– ६ मा पढ्दै गर्दा त्यो बेलाको छ रुपैयाँको स्कूलको शुल्क तिर्न नसकेको कारणले स्कूल छाड्न धम्पु बाध्य भएका खनियाले उल्लेख गर्नुभयो । उहाँले त्यो बेलाको गाउँले प्रचलन अनुसार उनले २० वर्षको उमेरमा लाहुरे हुन जाँदा उचाई नपुगेर फ्याँकिएको जानकारी दिनुभयो ।
तर घरको दुःख सम्झेर उतै जागिर गर्ने सोच धम्पुले बनाएर त्यहाँ रहेको ब्रिटिश सेनाको मेसमा भान्सेको काम गर्न थाल्नुभयो । त्यो क्रममा एक दिन त्यो क्याम्पका प्रमुख कर्णेल जेपि क्रससँग धम्पुको भेट भई भलाकुसारी हुन्छ । पहिलो भेटमै धम्पुको बोलचाली र व्यवहारबाट जेपि क्रस प्रभावित हुनुहुन्छ । करिब छ महिनाको परीक्षण पछि धम्पुलाई जेपि क्रसले धर्म पुत्र बनाउने घोषणा गर्नु हुन्छ । जेपि क्रसको धर्म छोरा भएपछि धम्पुले बल्याकालमा पढ्न नपाएको धोको ३२ वर्षको उमेरमा पुरा गर्नु हुन्छ । उहाँले एसएलसी परीक्षा सेकेण्ड डिभिजनमा पास गर्नुहुन्छ । त्यसपछि जेपि क्रसकै साथमा उहाँले बेलायत, जर्मन लगायतका राष्ट्रको भ्रमण गर्ने र उच्च पदस्थव्यक्तिलाई भेटघाट गर्ने अवसर पाउनु हुन्छ । त्यो सबै काम गरिरहदा पनि मौका पर्नासाथ मदल लिएर गीत गाउने काममा धम्पु जुटिहाल्ने गर्नु हुन्थ्यो खनियाले भन्नुभयो ।
जेपि क्रस निवृत्त भएपछि पोखरामा स्थायी बसोबास गर्न थाल्नुहुन्छ । पोखरामा जनजातिका साथमा लोकसंस्कृतिको समेत उर्वर भूमि अनि जन्म जिल्ला लमजुङसमेत नजिक भएपछि धम्पुले गाउँमा समेत आवतजावत गरिरहनु भयो । पोखरा र जन्म गाउँमा उहाँ शिक्षा तथा अन्य सामाजिक विकासका काममा पनि उत्तिकै जुट्ने गर्नु हुन्छ । उहाँको त्यो सक्रियता आजसम्म पनि जीवन्त रहेको खनियाले जानकारी दिनुभयो । त्यति हुँदाहुँदै पनि उहाँको लोककला संस्कृतिप्रतिको मोह र क्रियाशीलता अटुट रही रह्यो । संगीतका तीनवटै विधा गायन, बाध्यवादन र नृत्यमा उत्तिकै धम्पु निपूर्ण रुपमा खरिदै गएको खनियाले बताउनुभयो ।
सोही क्रममा २०७४ सालमा धम्पु ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङको संरक्षक बन्नुहुन्छ । उहाँले प्रतिष्ठानलाई तन, मन र आवश्यक पर्दा धन समेत दान गरेर सहयोग गर्न थाल्नु भयो । त्यो क्रममा प्रतिष्ठानले आफ्नो पाँचौं स्थापना दिवसमा २०७६ सालमा उहाँलाई ठाडोभाका महनायकको उपाधिबाट सम्मान ग¥यो । प्रतिष्ठानमा संरक्षक बन्ना साथ प्रतिष्ठानको अक्षयकोषमा एक लाख रुपैयाँ थप्ने काम गर्नु भएका धम्पुले ठाडोभाका महानायक उपधि पाएपछि पुनः थप एक लाख रुपैयाँको छुट्टै अक्षयकोष खडा गरी जिल्लामा असल आमा– बाबा सम्मानको घोषणा गर्नु भयो । त्यो पुरस्कार वितरण गर्ने काम हरेक वर्ष पालिकास्तरमा घुम्ति रुपमा प्रतिष्ठानले गर्दै आएको छ ।
यही क्रममा धम्पु यसै वर्ष ७२ औं वर्षमा प्रवेश गर्नु भयो । सोही हीरक जन्मोत्सवको अवसरमा प्रतिष्ठानले उहाँको राथारोहण सहितको अभिनन्दनको कार्यक्रम आयोजना गरेर सम्मान गरेको खनियाले जानकारी दिनुभयो ।
सोही अवसरमा ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पु अभिनन्दन ग्रन्थ समेत विमोचन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ लोकसंस्कृविद डा. गुरुङ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल, अभिनन्दित व्यक्तित्व धम्पु, प्रहरी नयाव उपरीक्षक जितेन्द्रकुमार बस्न्यात, प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीलगायतले संयुक्त रुपमा उक्त कीर्तिको विमोचन गर्नु भएको हो ।
विमोचित कृतिको साहित्यकार अंगराज घिमिरेले समिक्षात्मक टिप्पणी गरेका थिए । उनले सो कृतिमा १३२ पृष्ठ सहित थप १० पृष्ठ थप रङ्गिन चित्र सहित प्रकाशित भएको जानकारी दिनुभयो । त्यस्तै, ६३ जना लेखकले धम्पुको जीवनका विभिन्न पक्ष तथा पाटाहरूमा उजिल्याउने काम गरेको जानकारी दिनुभयो । साथमा ठाडोभाकाको प्रशिक्षण सामग्री, धम्पुको संक्षिप्त जीवनी र अन्तरवार्ता समेत अभिनन्दन ग्रन्थमा प्रकाशन गरिएको घिमिरेले उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रजिअ कृष्णप्रसाद खनाल, संस्कृतिविद् डा. तुलसी प्रभास, आदिबासी जनजाति महासंघ बेलायतका संस्थापक फारम दुरा, पश्चिमाञ्चल सांस्कृतिक समाजका संस्थापक अध्यक्ष हरिमाया गुरुङ, डिग्रीमा ठाडोभाकाको शोधपत्र लेख्ने विष्णु परियार(लमजुङ), रकगार्डेन होमस्टेका परिकल्पनाकार कामसार्की गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अभिनन्दित व्यक्तित्व धम्पुले आफ्ना अनुभव सुनाउँदै जीवनमा कहिल्यै नसोचे, नसम्झेको सम्मान पाएको बताउनु भयो ।
प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा समापन मन्तव्य राख्दै उहाँले लमजुङको लोक संस्कृति, कला साहित्यको इतिहासमा यौटा नयाँ पाना स्वर्णअक्षरले लेखिने थप्ने काम भएको बताउनु भयो । कलकारिताको क्षेत्रमा कलाकारलाई अभिनन्दन गरिएको सम्भवतः नेपालमै पहिलो कार्य यो भएको हुँदा सिङ्गो लमजुङ र कलाकर्मीहरू सबैले गौरव गर्ने अवसर पाएको पहाडीले उल्लेख गर्नु भयो । यो पावन कार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने जिल्ला भित्र, बाहिर तथा विदेशमा रहेत बस्नु हुने सबै– सबैप्रति कृतज्ञता व्यक्त गर्दछु अध्यक्षले पहाडीले भन्नुभयो । यस्तो प्रेरणादायी कार्यमा थप ज्ञान, उर्जा र जाँगर आजको दिनले दिन सकोस् भन्ने उहाँले कामना गर्नु भएको थियो ।
उक्त अवसरमा बेसीशहर नगरपालिका– ८ सेरा ओह्रालोमा रहेको प्रतिष्ठानको कार्यालयबाट सुरु भएको रथयात्रा सेरा चोक, अर्थ्ली चोक, जिल्ला अदालत, प्रगति टोल, ठाडोलाइन, नारायण स्थान चोक, परानोबैंक चोक, मनाङ्गे चौतारा हुँदै युनिभर्सल चोक हुँदै कार्यक्रम स्थलमा पुगेको थियो । बेसीशहरको मुख्य बजार क्षेत्र परिक्रममा गरी बेसीशहर नगरपालिका– ७ को गैह्रीधारा स्थित शान्ति टोल तमू आमा तथा बाबा समूहको सभाहलमा पुगेर अभिनन्दन समारोहमा परिणत भएको थियो । सभाहलमा सहभागीहरू अटाइनअटाई जमघट भएको प्रत्यक्षर्दीले बताए ।
उक्त कार्यक्रममा कविताबाट प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरे, तथा उपमहासचिव आशबहादुर विक, कार्यकारी सदस्य सावित्री शाहीको टोलीले ठाडोभाकाबाट स्वागत गीत प्रस्तुत गरेका थिए । त्यस्तै उपाध्यक्ष एवम् ठाडोभाका महातारा सीतादेवी दुराले शब्दबाट स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन महासचिव देवराज गुरुङ र कार्यकारी सदस्य सावित्री शाहीले गरेका थिए ।

प्रकाशित मिति २०८३ बैशाख ८, मंगलवार १८:०७ गते
हजुरको प्रतिक्रिया