पुथा उत्तरगंगा(पूर्वी रुकुम) : पर्यटन र रन्माको सुनदह    

 पुथा उत्तरगंगा(पूर्वी रुकुम) : पर्यटन र रन्माको सुनदह    

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ बैशाख ७ गते मङ्गलबार ०७:५३

सुनदह वरपर रेड पान्डा, कस्तुरीलगायत दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु र चराचुरुङ्गी, यार्सा गुम्बाजस्ता बहुमूल्य जडीबुटी पाइने भएकाले जैविक विविधताको दृष्टिले समेत पर्यटनको क्षेत्रमा छुट्टै महत्व रहेको छ । सुनदहमा जनैपूर्णिमामा मेला लाग्छ । मेलामा डोल्पाको माझफाल, ताली, दुरगाउँ, थरगाउँ, थाला, लोचा, हूँ, लहरा, सहरतारा, दुनै, त्रिपुराकोट, गुम्बा गाउँ लगायतका बासिन्दाहररू सुनदहमा स्नान गर्न पुग्दछन । दहको पानीलाई सुनपानी मानेर घरमा लगेर पूजा गर्छन । सुनदह वरपर सहित दर्जनौं तालतलैया छन । एकै ठाउँमा पाँच ओटा कुण्ड पनि छन ।

पुथा उत्तरगंगाको उपल्लो भागमा पर्ने मैकोट, रन्मा, हुकाम, पैल्मा, मयाङ, अर्जल र खारावाङ सबै गाउँहरूलाई स्थानिय बासीहरूले पुथा गानाम भन्दछन ।

नयाँ वर्ष, नयाँ सोच, नयाँ उत्साह र नयाँ उमंगको पर्व हो । नयाँ वर्षलाई मानिसहरूले गलत कुरा परित्याग गर्ने र असल आचरण अपनाउन सुरु गर्ने अवसरका रुपमा पनि लिने गर्छन । नयाँ वर्षमा परिवारका सदस्य तथा साथीसंगीसँग घुम्न जाने प्रचलन पनि छ । नयाँ वर्षमा नयाँ ठाउँको घुम्नको मज्जा छुट्टै हुन्छ । पूर्वी रुकुम पर्यटकहरूलाई पछिल्ला वर्षहरूमा हिमाल र हिमतालको आकर्षण हुने गरेको छ । सिस्ने हिमाल पूर्वी रुकुमको रमणिय सुन्दर हिमाल हो । सिस्ने हिमाललाई स्थानिय भाषामा मुर्कट्टा हिमाल पनि भनिन्छ । पर्यटकहरूले चुरेन, पुथा हिउँचुली, दोगारी र साम्जाङ हिमाललाई पनि यात्रामा नजिकैबाट अवलोकन गर्न सक्दछन ।
पुथा उत्तरगंगा गाउँपालिकाको उपल्लो भेगतर्फको यात्रा प्रकृतिको सजीव चित्रशालामा गरिने आत्मिक अवगाहन जस्तै अनुभूति हो । तकगाउँबाट सुरु हुने यो यात्राले पर्यटकलाई क्रमशः हिमाल, गाउँ, खोला, झरना र संस्कृतिको गहिराइसम्म डो¥याउँदै लैजान्छ । तकगाउँबाट अघि बढदै गर्दा बिरगुम, ओखमा, गैरे, दिमुर, गैरा, मयाङ र गर हुँदै रन्मा गाउँ पुग्ने बाटो पर्यटकहरूलाई प्राकृतिक महाकाव्य झैं लाग्छ । यात्राको प्रत्येक मोडमा दृश्य बदलिन्छ कहिले नीलो आकाशमा मुस्कुराइरहेका हिमश्रृंखला देखिन्छ भने कहिले हरिया डाँडाकाँडाले ढाकिएका गाउँहरू, त कहिले शान्त स्वरमा बगिरहेका खोलानाला र झरनाहरूले पर्यटकलाई निरन्तर प्रकृतिको कथा सुनाइरहेका हुन्छन । आजभोलि शहीद मार्गले रन्मासम्म मोटर मार्गको ट्राक खोले पनि इचैपु खोलामा पुल नहुदा रन्मा गाउँ पुग्नको लागि गर भन्ने गाउँबाट करिवन १ घन्टा पैदल यात्रा गर्नु पर्दछ । पुथा उत्तरगंगाको उपल्लो भागमा पर्ने मैकोट, रन्मा, हुकाम, पैल्मा, मयाङ, अर्जल र खारावाङ सबै गाउँहरूलाई स्थानिय बासीहरूले पुथा गानाम भन्दछन ।

सुन दह ।
दाङ, १७ भदौ : रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-३ स्थित समुद्री सतहदेखि ४ हजार ४ सय ३५ मिटर उचाइमा अवस्थित सुन दह । ढोरपाटन शिकार आरक्ष भित्र पर्ने यो दह यार्सा संकलन क्षेत्र तथा आर

पर्यटनको लागि पुथा उत्तरगंगाको उपल्लो भेग प्राकृतिक सौन्दर्य, ऐतिहासिक स्मृति र सांस्कृतिक जीवनशैलीको अदभुत संगम हो । यो क्षेत्रमा यात्रा गर्नु भनेको हिमालको काखमा लुकेको एउटा जीवित संग्रहालयको अवलोकन गर्नु जस्तै अनुभव हो । जहाँ प्रत्येक खोल्सा, पहाड, र बस्तीले आफ्नै कथा बोकेका छन् । सबैभन्दा पहिले, यस क्षेत्रको ऐतिहासिक पाटो उल्लेखनीय छ । राणा शासनकालमा सञ्चालनमा ल्याइएका तामा खानीहरू आज मौन साक्षीका रुपमा उभिएका छन । ती खानीहरू कुनै समय आर्थिक गतिविधिका केन्द्र थिए । जहाँ स्थानीय श्रम, राज्यको स्वार्थ र प्राकृतिक स्रोतको उपयोगबीचको सम्बन्ध स्पष्ट देखिन्थ्यो । तर समयक्रममा ती खानीहरू बन्द भए, र अहिले तिनका भग्नावशेषहरूले विगतको गौरव र परिवर्तनको कथा सुनाउँछन । पर्यटकका लागि यी स्थलहरू केवल अवलोकनका विषय मात्र होइनन बरु इतिहासलाई स्पर्श गर्ने अवसर हुन । यस क्षेत्रको अर्को आकर्षण जलस्रोत र नदी प्रणाली हो । पुथा हिमश्रृंखला लगायत अन्य हिमाली क्षेत्रबाट उदगम हुने हुकाम–मैकोट खोला, रन्मा खोला र सुनदहबाट बग्ने इचैपु खोला यी सबै प्राकृतिक जीवनरेखाहरू अन्ततः एकआपसमा मिसिँदै सानो भेरी नदीको निर्माण गर्छन । यिनको संगमले बनाएको जलप्रवाह केवल भौगोलिक संरचना होइन यसले यहाँको जीवनशैली, कृषि प्रणाली र सांस्कृतिक अभ्यासलाई समेत प्रभावित गरेको छ ।
पर्यटकहरूले मैकोट, रन्मा, हुकाम, पैल्मा लगायत गाउँमा खाम मगर जातिको मौलिक संस्कृति, परम्परा, जीवनशैली, रहनसहन, भेषभूषा र भाषाको समेत अध्ययन गर्न सक्दछन् । ढुङ्गैढुङ्गाले बनेका गुजुमुज्ज देखिने गाउँ, ढुङ्गा नै बिछयाएर बनाइएको बाटाघाटा, स्थानीय खानपान तथा पाहुनालाई स्वागत, सत्कार र मौका मिलेको समयमा स्थानीय कला संस्कृतिसँगको साक्षात्कार गर्न समेत पर्यटकहरूले पाउछन । मगर संस्कृति, वेशभूषा र मनोरञ्जनले माथिल्लो भेगमा पर्यटकहरूलाई आकर्षण गर्दछ । पर्यटनका लागि रन्मा गाउँबाट सुनदहसम्मको पदयात्रा छुट्टै रमणिय हुन्छ । पदयात्रामा देखिने विविध प्राकृतिक दृश्य, घना जंगल, खुला चरन क्षेत्र, रंगीबिरंगी फूलहरूले पर्यटकको मनलाई तान्दछ । पर्यटकहरू केवल दृश्यले मात्र होइन, अनुभूतिले पनि मोहित हुन्छन । सुनदह पुग्दा प्रकृतिको अनुपम शान्ति र सौन्दर्यले पर्यटकहरूको मन एकछिन स्तब्ध हुन्छ । त्यो क्षणमा पर्यटकहरूले शब्दमा बर्णन गर्न सक्दैनन । सुनदहको पाटनमा फूलेका रंगिबिरंगी फूलहरूले मुसुक्क मुस्कुराउँदै पर्यटकहरूलाई स्वागत गरेको अनुभुति हुन्छ । पर्यटकलाई सुनदहको काखमा लुकामारी खेलौँ भने झैँ लाग्दछ ।
तर पर्यटकहरूले रन्मा गाउँको सुनदह जादा कुन–कुन गाउँमा जाने के–के अध्यन अवलोकन गर्ने भन्ने कुरा यात्रामा निस्कनु भन्दा पहिले प्याकेज कार्यक्रम बनाउदा राम्रो हुन्छ । पुथा उत्तरगंगाको उपल्लो भेगमा पर्यटनका लागि धेरै ठाउँ पुग्नै पर्ने ठाउँ छन । तर पनि केही ठाउँमा भने सुनदह जाँदा पुग्नै पर्दछ । पुथा उत्तरगंगाको केन्द्र तक गाउँमा पर्दछ । तक गाउँमा बस्न खान कुनै असुबिधा हुँदैन । पर्यटकहरूका लागि होटल र होमस्टे समेत सन्चालनमा छन । तक गाउँदेखि सुनदहसम्म जादा सबै गाउँमा होमस्टे छैन । तर पनि पर्यटकहरूलाई गाउँमा भएका साना होटलहरूले खाना बस्नको सेवा भने दिने गर्दछन । मैकोट गाउँमा भने होमस्टे सञ्चालनमा छ । मैकोट ऐतिहासिक गाउँ पनि हो । मैकोट पुन थरका मगरको उदगमथलो पनि हो । गाउँमा पर्यटकहरूले स्थानीय कोदो, जहुँ, मकै, आलु आदिका परिकार खान पाउछन् । गाउँ वरपरका जडिबुटी र स्याउँखेतीले पर्यटकलाई लोभ्याउन पनि सक्दछ । मैकोटको खाम मगर भाषा अरुभन्दा मौलिक रहेकाले भाषा विज्ञानका विद्यार्थीको लागि थप अध्यनको बिषय बन्दछ ।
पुथा उत्तरगंगाको उपल्लो भेगमा आफ्नो साधन हुने पर्यटकहररूले तक गाउँबाट यात्राको सुरुवातीमा बिरगुमको तामाखानी, लाबाङको पातीहाल्ना बिसाउना नजिकको तामाखानी समेत अवलोकन गर्न सक्दछन । राणाकाल तामा निकान्न खनिएको सुरुङ देख्दा पर्यटकहरू आश्चर्य मान्दछन । अर्कोतर्फ लाबाङमा रहेको रक्त कुण्डको पोखरी समेत देख्न सक्दछन । खाराबाङको पुनमचौतारा अर्थात कुकुरथाडे, डाँडागाउँ र साकिनाबोट गाउँको समेत अवलोकन गर्न सक्दछन । यहाँबाट पुथा हिमाल लगायत धौलागिरी हिमश्रृखला, सानीभेरी अवलोकन गर्न सकिन्छ । पर्यटनको लागि मल्लकालनी युगको झल्को दिने गाउँ मयाङ हो । साङखोला र सानीभेरीको दोभानको दायाँतिर तातोपानीको मुहान रहेको छ । हुकाम गाउँ पनि पर्यटनको लागि रमणिय छ । हुकाममा काजरजङ, फुलबाङ, उज्र्याङ र गरघाट गाउँ पर्दछ । अर्जलको घुन्मा, दापार्नै काँडा र चाँडा गाउँ पनि रमणिय छन । गुल्जा छहरा चट्टानबाट धारा जस्तै झर्ने छहरा निकै आकर्षक छ । ढोरपाटन–डोल्पा पदमार्गमा पर्ने पेल्मामा पहराकोबीचमा थुन्ने खोलामाथि बनेको झोलुङ्गे पुल देख्दा पर्यटकहररू आश्चर्य मान्दछन । अर्को तर्फ पेल्माको यमाखार, झार्लुङ, हिम, गुइबाङ, तिज्याङ, रल, हार्दिवाङ र जुस्मर गाउँ पर्यटनका लागि छुट्टै अनुभव हुन्छ ।
पूर्वी रुकुममा १६ वटा ताल अर्थात दह पर्दछन् । तर सबै ताल र दहमा भने हिमपात भएको समयमा पर्यटकहरू पुग्न सक्दैनन् । अधिकांश ताल तथा दह हिमाली क्षेत्रमा पर्दछन् । सबैभन्दा बढी ताल पुथा उत्तरगंगामा पर्दछ । पुथा उत्तरगंगामा १२, सिस्नेमा ३ र भूमे गाउँपालिकामा एउटा ताल रहेको छ । पुथा उत्तरगंगामा मुसींउ हिमताल, खागर हिमताल, पाटन हिमताल, पार्वी हिमताल, बुकी हिमताल, मार्वी ताल, नम्छैंगो ताल, पुपाल ताल, तोडया ताल, सुनदह, बिर्गुमखानी बराहताल लगायत ताल रहेका छन् । सुनदह प्राकृतिक, जैविक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थलमा रहेको छ । सुनदह वरपर रेड पान्डा, कस्तुरीलगायत दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु र चराचुरुङ्गी, यार्सा गुम्बाजस्ता बहुमूल्य जडीबुटी पाइने भएकाले जैविक विविधताको दृष्टिले समेत पर्यटनको क्षेत्रमा छुट्टै महत्व रहेको छ । सुनदहमा जनैपूर्णिमामा मेला लाग्छ । मेलामा डोल्पाको माझफाल, ताली, दुरगाउँ, थरगाउँ, थाला, लोचा, हूँ, लहरा, सहरतारा, दुनै, त्रिपुराकोट, गुम्बा गाउँ लगायतका बासिन्दाहररू सुनदहमा स्नान गर्न पुग्दछन । दहको पानीलाई सुनपानी मानेर घरमा लगेर पूजा गर्छन । सुनदह वरपर सहित दर्जनौं तालतलैया छन । एकै ठाउँमा पाँच ओटा कुण्ड पनि छन ।
रन्मा गाउँको सबैभन्दा आकर्षक पर्यटकीय स्थल नै सुनदह हो । ढोरपाटन शिकार आरक्ष अन्तर्गतका ७ वटा शिकार ब्लकमध्ये पश्चिमी ब्लकमा सुनदह पर्दछ । विदेशी शिकारीहरुका अनुसार सुन्दह नेपालमा सर्वाधिक रुचाइएको शिकार ब्लकमा पर्दछ । सुनदह क्षेत्र बुकी पाटन र भेडाचरनको उपयुक्त स्थल पनि हो । मंसिरको सुरुआतदेखि वैशाखको अन्तिमसम्म सुन्दहको क्षेत्रमा हिमपात भै रहन्छ । सुनदह ४ हजार ४३५ मिटर उचाइमा पर्दछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र ढोरपाटन शिकार आरक्ष लगायतका निकायले गरिएका विभिन्न अध्ययन अनुसन्धान अनुसार सुनदहले १० दशमलव ८० हेक्टर जमिन ओगटेको छ । तर पनि सुनदहको गहिराइ कति छ भन्ने तथ्य यकिन गरिएको छैन । सुनदहको पूर्वमा सुम्लाकोइको चट्टानी भीर, धनताँवो र सुनछहरा, पश्चिममा राक्से खागर, उत्तरमा चट्टानी पहाडसहितको काले खागर र दक्षिणमा बन्यापा र मतिँचै बुकी पर्दछ । राक्से खागर डोल्पा र रुकुम पूर्वको सीमाक्षेत्र पनि हो । हिमालको फेदीमा रहेका सुनदहमा पुग्दा पर्यटकहरूले राक्षसदह, पार्वीवार्मी लगायतका दह समेत अवलोकन गर्न सक्दछन ।
सुनदहमा पुग्दा पर्यटकलाई मानसिक शान्ति र आध्यात्मिक अनुभव हुन्छ । हिमाल र हिमतालको दृश्यले मानसिक शान्तिको अनुभव हुन्छ । शान्त वातावरण, कम जनघनत्व, र प्रदूषणरहित हावाले पर्यटकहरूलाई आन्तरिक सन्तुलन महसुस गराउँछ । धेरै पर्यटकका लागि सुनदहको यात्रा ध्यान र आत्म–अनुभूतिको माध्यम पनि बन्ने गर्दछ । पर्यटनका लागि सुनदह प्राकृतिक सौन्दर्यको अनुपम नमूना हो । रन्माबाट सुरु हुने पदयात्रा आफैंमा एक रमाइलो साहसिक यात्रा हुन्छ । उकालो–ओरालो, घना वन, खोला–नाला पार गर्दै जब पर्यटकहरु माथिल्लो पाटनतर्फ उक्लिन्छ, तब प्रकृतिको रुप क्रमशः परिवर्तन हुँदै जान्छ । बाटोभरि देखिने हरियाली, चरा–चुरुङ्गीको चिरबिर आवाज र शीतल हावाले यात्रालाई थकानभन्दा बढी आनन्दमय बनाउँछ । जब पर्यटक सुनदह पुग्छन त्यहाँको शान्त वातावरणले तुरुन्तै मन जित्छ । दहको स्थिर र स्वच्छ पानी ऐनाजस्तै देखिन्छ, जसमा वरिपरिका पहाड र आकाशको प्रतिबिम्ब सजिलै देख्न सकिन्छ । कुनै हलचल नभएको त्यो पानीले गहिरो शान्ति र आत्मिक आनन्दको अनुभूति दिन्छ । यस्तो दृश्यले शहरको कोलाहलबाट टाढा, पूर्ण रुपमा प्रकृतिसँग एकाकार भएको अनुभूति दिलाउँछ ।
रन्मा गाउँबाट डेढ दिनमा सुनदहमा पुग्न सकिन्छ । रन्मा, साप्से, मलैपो, पेपे, फोस्रा, कोनाबन काठेपूल बराजस, चिरपुक, धन्ताबो भएर सुनदह पुगिन्छ । आजभोलि नयाँ पदमार्ग मा रन्मा,चात्रावीर, ढोपागोठ र बराजासको बाटो जाने हो भने छोटो मार्ग पर्दछ । यात्रामा बीचमा कतै बास बस्नुपर्ने हुन्छ । पर्यटकहरूलाई बास बस्न साथमा टेन्ट हुनेले खुला स्थान वा स्थानीय गोठहरूमा बास बस्न सकिन्छ । अहिले दुइ ठाउँमा धर्मशाला समेत निर्माण भएको छ । सुनदह वरपर यात्रा गर्न तटबन्ध गरेर बाटो बनाइएको छ । तटबन्धकै मध्यभागमै जालकी निर्माण गरिएको छ । स्थानीयका अनुसार यो एक प्रकारको देवल हो । यस भेगको सांस्कृतिक चिनो हो । यसलाई भकारी र पन्थ्यौलीको नामले पनि चिनिन्छ । देवललाई कसैले जालाकी पनि भन्छन भने कसैले छोर्तेन र देउराली पनि भन्छन । सुनदहमा पर्यटकहरूले बराह देवताको नाममा रातो र सेतो रङ्गको धजा बाँध्छन र पुजा गर्दछन । सुनदहमा खाली खुट्टा हात जोडे तिन फन्को लगाएमा मनोकामना पुरा हुने विश्वास छ ।
पर्यटकलाई रन्मा देखि सुनदहको पदयात्रा अविस्मरणीय हुन्छन । नयाँ ठाउँमा यात्रा गर्न जति रमाईलो र मनोरम हुन्छ त्यतिनै कठिन पनि हुन्छ । कठिन यात्रालई सहज बनाउन आफ्नो स्वास्थ स्थितिको पनि ख्याल राख्नु पर्दछ । सुनदह अर्थात पुथा उत्तरगंगाको उपल्लो भेग घुम्नको लागि शारीरिक रुपमा पूर्ण स्वस्थ हुनु पर्दछ । शारीरिक रुपमा पूर्ण रुपमा स्वस्थ भएन भने पदयात्रा गर्न सम्भव हुँदैन । कतिपय पर्यटकलाई प्रेसर, सुगरजस्ता रोग हुन सक्छ । यसका लागि खानपिनमा विशेष ध्यान दिनु पर्दछ । खासगरी, उच्च हिमाली क्षेत्रमा जाँदा लेक लाग्ने अर्थात अल्टिच्युड सिकनेस लगायत अन्य विभिन्न स्वास्थ्य समस्या हुन सक्छन । चार हजार मिटरभन्दा माथि लेक लाग्न सक्छ । सुनदहको यात्रामा वातावरण तथा मौसम सुहाउँदो लुगा साथमा लैजान पर्दछ । यात्रामा चाहिने अत्यावश्यक सामग्री र मोबाइल साथमा हुनु पर्दछ । सकेसम्म यात्रामा समूहमा जादा राम्रो हुन्छ । यात्रामा आफ्नो स्वास्थ्यप्रति सजग र सचेत हुनुपर्दछ । ट्रेकिङ सुज, क्याप, चस्मा, लठ्ठी, पानीको बोतल, सनब्लक अनिवार्य लानु पर्दछ । यसबाहेक हलुका लुगा, ज्याकेट पनि लैजान आवश्यक छ । रन्मा गाउँ भन्दा माथी मानव बस्ती छैन । त्यसैले आफूलाई चाहिने खानेकुरा बोक्न बिर्सनु हुँदैन ।
कसरी पुग्ने ?
सुनदह जाँदा पूर्वी रुकुमको भूगोलमा मध्यपहाडी लोकमार्गको यात्रा गर्नु पर्दछ । लोकमार्गको काक्री बजार देखि पुथा उत्तरगंगा जाने सडक मार्ग छुट्टिन्छ । काक्रीदेखि तक गाउँ हुदै मैकोटसम्म ६५ किमी यात्रा गर्नु पर्दछ । सुनदह जान रन्मा गाउँदेखि डेढ दिन पैदल यात्रामा साप्से, मलैपो, पेपे, फोस्रा, कोनाबन काठेपूल बराजस, चिरपुक, धन्ताबो भएर सुनदह पुगिन्छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८३ बैशाख ८, मंगलवार १९:५३ गते
हजुरको प्रतिक्रिया